१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
हृदयेश त्रिपाठी
२o८१ बैशाख १९ बुधबार o७:२८:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मधेस आन्दोलनले अनि बाटो बिरायो

सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन मतदानमा जानु नै मधेस आन्दोलनको ऐतिहासिक भुल थियो । त्यसवेला हामीबाट ‘ब्लन्डर’ भएकै हो ।

Read Time : > 5 मिनेट
हृदयेश त्रिपाठी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:२८:oo

मधेस समस्याको इतिहास एकदमै पुरानो छ । २००७ सालको क्रान्तिपश्चात् नै यसलाई संगठित रूपले उठाउने कोसिस भएको थियो । यस क्रममा तराई कांग्रेस जन्मियो । पछि सद्भावना पार्टी निर्माण भयो । सद्भावना पनि पटक–पटक विघटन भयो । त्यसयता मधेसी जनअधिकार फोरमलगायत धेरै दल आए ।पछिल्लो समयमा मधेसको समस्या परिभाषित र स्थापित दुवै भए । यसलाई मधेसका राजनीतिक दलहरूले संविधानमा संस्थागत गराउन कोसिस गरे । पूर्णता प्राप्त गर्न नसके पनि अधिकांश विषयलाई एक ढंगले अघि लगियो पनि । यो देशमा संघीयताको कसैलाई जस जान्छ भने मधेस आन्दोलनलाई नै जाने हो । यहाँ विभिन्न नाम र प्रकारका आन्दोलन पनि भए । तर, क्षति बढी भयो, उपलब्धि कम । यदि ००७ सालको क्रान्तिदेखिकै आन्दोलनलाई हेर्ने हो भने क्षतिको मात्रा मधेस आन्दोलनमा बढी भएको छ । त्यसका आफ्नै कारण छन् ।

 मधेसको ऐतिहासिक भुल : कांग्रेसका केही स्थापित नेताहरू मधेस आन्दोलनलाई प्रभावकारी बनाउन पार्टी छाडेर आउनुभयो । फलस्वरूप, कांग्रेस कमजोर भयो, मधेस आन्दोलन एउटा उचाइमा पनि पुग्यो । तर, अपेक्षाअनुरूप यो संस्थागत हुन सकेन । एकातिर कांग्रेस कमजोर भयो भने अर्कातिर आपसी विभाजनले गर्दा मधेसवादी दल पनि कमजोर भए । मधेसमा कम्युनिस्टको प्रभाव बढ्यो । ०७२ को संविधान जारी भइसकेपछि मधेसमा विभाजन सुरु भयो । जतिवेला मधेस आन्दोलन भइरहेको थियो, त्यहीबीच प्रधानमन्त्रीको निर्वाचन भयो र मधेसी लोकतान्त्रिक मोर्चामा आबद्ध मधेसवादी दलले संसद्मा सुशील कोइराला (हाल स्वर्गीय)का पक्षमा मतदान गर्‍यो । मधेस आन्दोलनमा जेजति प्रहरी दमन भइरहेका थियो, त्यो प्रधानमन्त्रीका नाताले उहाँकै नेतृत्वमा भइरहेको थियो । तर, मधेसी मोर्चाले उहाँलाई प्रधानमन्त्री बनाउन मतदानमा जाने निर्णय गर्नु नै मधेस आन्दोलनको सबैभन्दा ठूलो ऐतिहासिक भुल थियो । त्यसवेला हामीबाट ‘ब्लन्डर’ भएकै हो । परिणामस्वरूप मधेस आन्दोलन समाप्त भयो ।

मधेसमा विभाजन : मधेसी दलमा विभाजन हुनुका दुई कारण छन् । पहिलो, सद्भावना पार्टी सक्रिय हुँदा झापाका राजवंशी, ताजपुरिया, गन्गाईदेखि कञ्चनपुरका रानाथारूसम्म सबैमा हामी मधेसी हौँ भन्ने भावना बलियो थियो । सिंगो मधेस एकसूत्रमा बाँधिएको थियो । तर, जब उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम राजनीतिमा प्रवेश गर्‍यो (जुन कुनै वेला माओवादीको भ्रातृ संगठन थियो), त्यसपछि मधेस जातजातिमा विभाजित भयो । अहिलेको मधेस प्रदेशमा मधेसी कोही छैनन् । सबै विभिन्न जातजातिमा विभाजित छन् । यसको प्रभाव सबैतिर परेको छ ।

मधेस सैद्धान्तिक रूपले नभई व्यक्तिगत कारणले मात्रै विभाजित भएको हो । कोही सत्तामा जान, कोही सत्ताबाट हट्न या कसैलाई हटाउन विभाजनका खेल खेलिए । मधेसवादी दलबीचका यी विभाजन कुनै सिद्धान्त, आस्था र विचारको विभाजन नभई व्यक्तिगत स्वार्थ र अवसरको विभाजन हो । र, मधेसी नेतृत्वको सबैभन्दा दुर्बल पक्ष नै यही हो । अहिले आएर मधेसवादी दलहरूबीचको विभाजनको शृंखला अवसानको चरणमा पुगेको छ । उनीहरू हिजो मिले, फेरि फुटे । मिल्दाखेरि किन मिले, फुट्दाखेरि किन फुटे ? यसको जवाफ नेतृत्वले कार्यकर्ता र जनतासामु दिन सक्नुपर्छ । मधेसी दलको फुटले मधेसमा कमजोर भएको कांग्रेसले फेरि एकपटक बलियो हुने मौका पाएको छ । यसलाई अन्यथा भन्न मिल्दैन । 

मधेसका समस्या : राष्ट्रिय समस्या– जबसम्म मधेसका समस्यालाई राष्ट्रिय समस्याका रूपमा स्थापित गरिँदैन, तबसम्म यसको थप परिणाम निस्किँदैन । किनभने यो समस्या देशकै समस्या हो, मधेस एक्लैको होइन । सुरुवाती चरणमा हामीले करिब चार दशक क्षेत्रीय राजनीति गर्दा यसको समाधान क्षेत्रीय रूपले नै गर्न सकिन्छ भन्ने सोच थियो । त्यतिवेला आफूलाई राष्ट्रिय पार्टी भन्ने कांग्रेस, एमालेलगायतले ‘यी समस्या मधेसीले नै समाधान गरून्, समस्या यिनैको हो, हाम्रो होइन’ भनेर दुव्र्यव्यवहार गरे । परिणामतः ती पार्टी पनि साम्प्रदायिक र क्षेत्रीय ठहरिए । हामी त क्षेत्रीय छँदै थियौँ । दुईथरी क्षेत्रीय पार्टीहरूको टकरावले गर्दा मधेसको समस्या राष्ट्रिय समस्या बन्नै सकेन । अहिलेको सबैभन्दा ठूलो चुनौती नै मधेस, आदिवासी जनजाति, दलित, मुस्लिम र महिलाको समस्यालाई राष्ट्रिय समस्याका रूपमा स्वीकार गराउनु हो ।

मधेसीलाई विदेशी ठान्ने अतिवादी सोच : मधेस अहिले पनि जातिवादी भावनाले ग्रस्त छ । त्यसैले, निकट भविष्यमै यसको उत्थान होला भन्ने लाग्दैन । कहिलेकाहीँ मधेस आन्दोलन आफैँले थाहा नपाईकन प्रतिगमनको औजार बन्न पुगेको इतिहास छ । त्यसैलाई टेकेर धेरै प्रतिगमनकारी विचार र ‘एन्टी मधेस’ भावना जोडिन्छ । मधेसको आफ्नो आन्दोलनलाई भारतसँग जोड्ने एकथरी यहाँका शासक र संकीर्ण सोच बोकेका कथित राष्ट्रवादीको तप्काले मधेसीलाई विदेशी ठान्छन् । दुनियाँलाई थाहा छ, जतिवेला मलेरिया उन्मूलन भएको थिएन, त्यतिवेलासम्म मधेसमा पहाडी समुदायको बसोवास थिएन । पछि मलेरिया उन्मूलन भयो । तत्कालीन राजा महेन्द्रले बसोवास पहाडी समुदायलाई पनि मधेसमा लगेर बसोवास गराए । त्यसपछि त्यहाँको जनसांख्यिक सन्तुलनमा परिवर्तन आयो । तर, पहिलेदेखि त्यहाँको सीमाको संरक्षण मधेसी समुदायले नै गरिरहेका थिए । चोरी, डकैती र अतिक्रमणबाट उनीहरू नै पीडित थिए । त्यो कहिले पनि हाम्रो राज्य र राज्यका कथित सञ्चालकले महत्वसाथ हेरेनन् । त्यो रोग अहिले पनि यथावत् छ ।

निरंकुशताको मूल जरो राष्ट्रवाद :  राष्ट्रवाद र देशभक्ति महत्वपूर्ण, तर फरक–फरक विषय हुन् । राष्ट्रवादी असंख्य छन् यहाँ, देशभक्त कम । राष्ट्रवाद अरूविरुद्धको भावना मात्रै हो । यसले कसैको विरुद्धमा आबद्ध भएर एउटा भावना फैलाउँछ । त्यसैले, यो नकारात्मक हुन्छ । देशभक्तले भने त्याग र बलिदान खोज्छ । तर, हामीकहाँ त्याग र बलिदानका लागि कोही तयार देखिँदैनन् । संसारभर अहिलेसम्म निरंकुश शासनको मूल जरो राष्ट्रवादलाई मानिन्छ । हिटलरको पनि त्यही थियो, महेन्द्रको पनि त्यही थियो । अरू देशका पनि जोजो तानाशाह थिए, तिनले प्रयोग गर्ने सबैभन्दा सजिलो हतियार राष्ट्रवाद नै थियो । देशभक्तिलाई कोहीे उच्चारण गर्न चाहँदैनन्, किनकि त्यसमा बलिदान चाहिन्छ । बलिदान गर्न सक्ने क्षमता कमैमा हुन्छ । जो जति तानाशाह हुन्छ, ऊ त्यति नै कमजोर हुन्छ, डरपोक र कायर हुन्छ । उसले बलिदान गर्नै सक्दैन । 

मधेसी जनतालाई आन्दोलन र निर्वाचनको कच्चा पदार्थ मात्रै ठान्ने रोग र जातिवाद, सिद्धान्तहीनलगायत अवगुणका कारण मधेसवादी विचार होइन, मधेसवादी राजनीतिककर्मी विसर्जनको बाटोतिर गइरहेका छन् 
 

नेपालका वामपन्थी : केही दिनअघि मात्र मैले केशव दाहालको ‘वामपन्थी को हो ?’ भन्ने एउटा लेख पढेको थिएँ । बडो घत पर्‍यो । वामपन्थ र दक्षिणपन्थ शब्दको आविष्कार खासगरी फ्रान्सेली क्रान्तिसँगै भएको हो । जो अग्रगमनका पक्षधर थिए, वामपन्थी थिए । जो परिवर्तनलाई कठिनसाथ आत्मसात् गर्थे, तिनीहरू यथास्थितिवादी थिए । त्यहाँबाट राजनीतिशास्त्रमा वामपन्थ र दक्षिणपन्थको विचार आएको हो । त्यतिवेला माक्र्सवाद जन्मिएकै थिएन । नेपालको सन्दर्भमा पनि कम्युनिस्ट हुनेबित्तिकै वामपन्थी हुन जरुरी छैन । तर, देश भ्रममा बाँचिरहेको छ । जनता भ्रममा छन्, कार्यकर्ता पनि । जो अग्रगमन र प्रगतिशीलताको पक्षधर छ, ऊ वामपन्थी हो । जसले संघीय लोकतान्त्रिक गणतन्त्रलगायत विषय या देशका किसान, मजदुरलगायतका समस्यालाई अघि बढाउँछ, ऊ वामपन्थी होे । यसलाई प्रतिगमनतर्फ लान खोज्ने शक्ति कम्युनिस्ट नामधारी होला, तर वामपन्थीचाहिँ होइन ।

जतिवेला बिपी कोइराला पार्टी नेतृत्वमा थिए, त्यतिवेला कांग्रेस पनि वामपन्थी थियो । ऊ अग्रगमन र क्रान्तिको पक्षमा थियो । अहिले पनि उसका कतिपय विचार वामपन्थी अर्थात् दक्षिणपन्थीविपरीत हुन्छन् । तर, कतिपय कम्युनिस्टले दक्षिणपन्थी विचार बोकिरहेका हुन्छन् । नेमकिपा, सिपी मैनाली र मोहन विक्रमका पार्टीको नाम कम्युनिस्ट भए पनि तिनको विचारचाहिँ दक्षिणपन्थी छ । एमालेले पनि पटक–पटक आफ्नो दक्षिणपन्थी रुझान देखाउँछ । जसलाई अग्रगमन सह्य छैन, ऊ वामपन्थी हुनै सक्दैन । केही समयसम्म देशका दलितहरू कम्युनिस्ट नै अग्रगमनकारी हुन् भन्ने भ्रममा थिए । पछिल्लो समय त्यो टुट्दै छ । मधेसी, आदिवासी जनजातिको हकमा पनि यही भइरहेको छ । उनीहरू कम्युनिस्ट पार्टी भनेपछि बडो प्रगतिशील पार्टी ठान्छन् । विचारमा त्यो देखिन्छ पनि । मुद्दामा प्रगतिशीलता हुन्छ पनि । तर, व्यवहारमा भने त्यो झल्किँदैन । 

गठबन्धन निर्वाचनअघि कि पछि ? : अनेकौँ भ्रमहरूबीच हामी निर्वाचनमा जाँदै छौँ । निर्वाचनको विषयमा हाम्रो संविधानले अंगीकार गरेको निर्वाचन प्रणालीले गठबन्धनलाई स्वीकार गर्छ । किनभने, समानुपातिक र प्रत्यक्ष दुईवटै निर्वाचन प्रणाली अँगालेको देशमा बहुमत कसैको आउँदैन । अब गठबन्धन चुनावपछि बनाउने कि चुनावअघि ? प्रश्न यही हो । चुनावपछि सरकारका लागि बन्ने गठबन्धन अवसरवादी गठबन्धन हो । चुनावअघि बन्ने गठबन्धनमा कमसेकम यसको साझा कार्यक्रम हुन्छ, जसको विषयमा आममतदाताले थाहा पाउँछन् । यस मानेमा यस्तो गठबन्धन स्वच्छ मानिन्छ । र, कुनै न कुनै रूपले अनुमोदित हुन्छ, आंशिक नै सही । अहिले गठबन्धनको राजनीतिप्रति प्रहार भइरहेको छ । त्यो हाम्रो संविधानले सिर्जना गरेको बाध्यतालाई बुझ्न नसक्नु हो । हिजो पनि वाम गठबन्धन थियो, म स्वयं त्यसमा मिसिएको थिएँ । अहिले पनि एउटा गठबन्धन बनेको छ । फेरि अर्को पनि बन्ला । तर, गठबन्धन वाम बन्छ कि प्रगतिशील बन्छ, प्रतिगामी बन्छ कि दक्षिणपन्थी त्यसमा चाहिँ हामीले विचार गर्नुपर्छ । 

०७४ को निर्वाचनमा एमालेसँग सहकार्य गर्नुअघि मैले दुईबुँदे सम्झौता गरेको थिएँ । त्यतिवेला देशमा विद्यमान भेदभाव अन्त्य गर्न सहकार्य गर्ने भनेर स्वतन्त्र राजनीतिक समूह र एमालेबीच सम्झौता भएको थियो । र, त्यसका लागि हाम्रो पार्टी निर्माण नभएकाले हामी एमालेको चुनाव चिह्न प्रयोग गर्छौँ भनेर वाम गठबन्धनको हिस्सा भइयो । त्यसवेला मधेसवादी दलका नेताहरूबाट ममाथि ठूलो प्रहार भयो । तर, निर्वाचन सकिनासाथ सरकारमा सबैभन्दा अघि दौडेर जाने उपेन्द्र यादवहरू नै भए । 

मधेसका समस्या : अहिले मधेसमा एउटा जातीय अर्को विचार र सिद्धान्तहीनताको समस्या छ । हामी मधेसी जनतालाई आन्दोलन र निर्वाचनको कच्चा पदार्थ मात्रै ठानिरहेका छौँ । मधेसको राजनीति गर्न अनेक आए । सिके राउत अलग देशकै नारा बोकेर आउनुभएको थियो । तर, एकै झट्काले उहाँको नारामा ब्रेक लाग्यो । यद्यपि, अहिले अलग देशको विचार परिवर्तन गरेर सुधारसहित आउन खोज्नुभएको छ, यो राम्रै पक्ष हो । अलग देश हामीलाई अमान्य र नकारात्मक विचार थियो । उहाँको नारा मधेस आन्दोलनलाई बदनाम र दमन गर्ने सहारा बन्यो ।  

अहिले मधेसवादी विचार होइन, मधेसवादी राजनीतिककर्मी विसर्जनको बाटोतिर गइरहेका छन् । यति भन्दै गर्दा ममाथि आलोचना हुन सक्ला, तर यो कटुसत्य हो । मधेसको आन्दोलनको एजेन्डा तय गर्ने ‘सोसियल इन्जिनियरिङ’को वेला म पनि एउटा ‘आर्टिटेक्ट’का रूपमा रहेको थिएँ । त्यसैका आधारमा यतिचाहिँ भन्न सक्छु, जातिवाद, सिद्धान्तहीनलगायतका अवगुणका कारण मधेसी राजनीतिकर्मीहरू विसर्जनतर्फ जाँदै छन् । तर, मधेसमा रहेका विभेद र पहिचानका समस्यालाई हेर्ने राज्यको दृष्टिकोण यथावत् रहेसम्म त्यो विचारचाहिँ रहिरहन्छ । 

ad
ad