मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १९ आइतबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रीलाई रोक्दा सुरक्षागार्ड पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १९ आइतबार १६:१५:००

भन्न त कानुन सबैलाई बराबर भनिन्छ । कानुनको नजरमा कोही उचो र कोही निचो अर्थात्, कोही ठूलो र कोही सानो हुँदैन पनि भनिन्छ । तर, राज्यका उच्च ओहदामा बसेकाहरूका हकमा भने त्यस्तो पाइँदैन । 

काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा भएको एक घटनाले यस्तै देखाएको छ । घटना शुक्रबारकाे हाे । नियम मिच्ने एक मन्त्रीलाई लाइनमा बसाउन खोज्दा उल्टै सुरक्षागार्ड पक्राउ परेका छन् । 

कुरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको हो । उनी भिसा आवेदनका लागि छाया सेन्टर पुगेका थिए । त्यहाँ उनीभन्दा अघि केही अन्य पनि लाइनमा बसेका थिए । 

मन्त्री भएपछि लाइनमा किन बस्ने ? उनी सरासर अघि बढे । सर्वसाधारणलाई लाइनमा राख्दै आएका सुरक्षागार्डले मन्त्रीलाई रोके । गरुड सेक्युरिटीअन्तर्गतका ती सुरक्षागार्ड थिए, शेरजंग गुरुङ । 

उनले रोकेपछि मन्त्री श्रेष्ठले आफू मन्त्री भएको भन्दै नरोक्न भन्दै नरोक्न आग्रह गरे । नियम सबैलाई बराबर हुने भन्दै उनले जान दिएनन् । विवाद बढेपछि मन्त्री त्यहाँबाट फर्किए । तर, केहीबेरपछि प्रहरी आएर शेरजंगलाई पक्राउ गर्‍याे । 

उनलाई अहिले प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरतबहादुर बोहराले मन्त्रीलाई अभद्र व्यवहार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । 

‘सुरक्षागार्डले मन्त्रीमाथि दुर्व्यवहार गरेको भन्दै मन्त्रालयले प्रहरीमा जाहेरी दिएको छ,’ बोहराले भने, ‘पक्राउ परेकालाई म्याद थप गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान गरिनेछ ।’