मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Friday, 20 December, 2024
काठमाडौंको पिंगलास्थानस्थित भाडाको घरमा रहेको रामघाट प्राथमिक स्वास्थ्य केन्द्र ।
मञ्जु टेलर काठमाडाैं
२o७९ भदौ १९ आइतबार १o:oo:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीर अस्पतालसँगै १३१ वर्षअघि स्थापित काठमाडौंको रामघाट स्वास्थ्य केन्द्र, जहाँ सिटामोलसमेत सहजै पाइँदैन

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार १o:oo:oo

पशुपति पिंगलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रमा गत मंगलबार स्वास्थ्य चेकजाँच गर्न आएका सेवाग्राही ओपिडी कक्षअगाडि रहेको सानो बेन्चमा कोचिएर बसिरहेका थिए । मुस्किलले चारजना पनि नअटाउने बेन्चमा ८–१० जना कोचिएर बसेका थिए । उनीहरूका कारण ओपिडी कक्ष भित्र–बाहिर गर्नेहरूलाई समेत समस्या भइरहेको छ । केन्द्रका अनुसार यहाँ दैनिक ५०–६० जना बिरामी स्वास्थ्य चेकजाँचका लागि आउँछन् । उभिएरै भए पनि उनीहरू सेवा लिन्छन् । 

भाडाको घरमा रहेको रामघाट स्वास्थ्य केन्द्र पशुपति क्षेत्रको मुख्य उपचार केन्द्र पनि हो । विशेष गरी पशुपति क्षेत्रभित्र बसोवास गर्ने, भक्तजन र स्थानीयले यहाँ सधैँजसो भिडभाड हुने केन्द्रमा चिकित्सक बताउँछन् । तर, पर्याप्त औषधि र ठाउँ अभावका कारण स्तरीय सेवा दिन नसकेको उनीहरूको दुखेसो छ । 

१३१ वर्ष पुरानो यो स्वास्थ्य केन्द्र अहिलेसम्म स्तरोन्नति भएको छैन । स्थापनाकालदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रमा सीमित छ । स्थानीय वृद्धवृद्धाहरूका अनुसार यसको स्थापना वीर अस्पताल स्थापना भएकै साल भएको हो । 

चन्द्रशमशेरकै पालादेखि चल्दै आएको भनाइ छ : नरोत्तम वैद्य, सम्पदाविद्  
पशुपति क्षेत्रमा वैद्यको उपचारबाट मात्रै रोग निको हुँदैन भन्ने भएपछि तत्कालीन समयमा एलोप्याथी सुरुवात गरिएको हो । यो निकै पुरानो स्वास्थ्य संस्था हो, जहाँ बिरामी भएर पशुपति पुग्नेहरूलाई डाक्टरहरूले पनि उपचार गर्थे । पशुपति क्षेत्रमा हाम्रो १५ पुस्तादेखि सेवा गर्दै आएको छ । यसको लिखित इतिहास नभए पनि चन्द्रशमशेरकै पालादेखि चल्दै आएको हो ।

रामघाट स्वास्थ्य केन्द्रको इतिहास 
स्थानीयले रामघाट स्वास्थ्य केन्द्र १९४७ साल (वीर अस्पताल स्थापनाकै वर्ष) देखि सञ्चालन भएको बताउँदै आएका छन् । तर, यसको आधिकारिक दस्तावेज भने उपलब्ध छैन । यसलाई सुरुमा ‘चन्द्र डिपेन्सरी’ भनेर चिनिन्थ्यो । खासगरी टाढाबाट पशुुपति क्षेत्रमा आउने भक्तजन र स्थानीयको उपचारका लागि वैद्यसँगै एलोप्याथी सेवा पनि सुरु गरेको कथन छ । 

सन् २००३ को जर्नल अफ नेपाल मेडिकल एसोसिएसनमा डा. बाबुराम मरासिनीले ‘प्राइममिनिस्टर भीमशमशेर जबरा १९२९–१९३२ एडी’ नामक आर्टिकलमा हालको रामघाट स्वास्थ्य केन्द्र १९२९ सालमा एलोप्याथी स्वास्थ्य संस्थाका रूपमा स्थापना भएको उल्लेख गरेका छन् ।  

रामघाटको राम मन्दिरबाट अस्पताल संरक्षणका लागि पशुपति विकास कोषअन्तर्गत राखेर केही वर्ष वनकाली धर्मशालामा राखेर चलाएको इतिहास छ । पशुपति विकास कोषका अनुसार ०६१ सालमा रामघाट स्वास्थ्यचौकीलाई पिंगलास्थानमा सारेर प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालन गरिँदै आएको हो । हाल रामघाट स्वास्थ्य केन्द्र काठमाडौं महानगरअन्तर्गत सञ्चालनमा छ । 

पशुपति क्षेत्रमा पुस्तौँदेखि आयुर्वेद औषधिबाट उपचार सेवा दिँदै आएका वैद्यहरू रामघाट स्वास्थ्य केन्द्र वीर अस्पतालजत्तिकै पुरानो भएको दाबी गर्छन् । सम्पदाविद् नरोत्तम वैद्य भन्छन्, ‘पशुपति क्षेत्रमा वैद्यको उपचारबाट मात्रै रोग निको हुँदैन भन्ने भएपछि एलोप्याथी सुरुवात गरिएको हो । यो असाध्यै पुरानो स्वास्थ्य संस्था हो, जहाँ बिरामी भएर पशुपति पुग्नेहरूलाई डाक्टरहरूले पनि उपचार गर्थे । पशुपति क्षेत्रमा हाम्रो १५ पुस्तादेखि सेवा गर्दै आएको छ । यसको लिखित इतिहास नभए पनि चन्द्रशमशेरकै पालादेखि चल्दै आएको हो ।’

रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्रहरू स्थानीय तहको मातहतमा आएपछि काठमाडौं महानगरअन्तर्गत सञ्चालित छ । तर, नेपालमा एलोप्याथी चिकित्साको सुरुवातीदेखि नै सञ्चालनमा आएको स्वास्थ्य संस्था झन्डै एक शताब्दी बितिसक्दासमेत प्राथमिक स्वास्थ्य केन्द्रमा सीमित छ । 

स्वास्थ्य केन्द्रमा उपलब्ध सेवा 
प्राथमिक स्वास्थ्य केन्द्रमा बहिरंग सेवा, नवजात तथा बालरोगको एकीकृत व्यवस्थापन, खोप सेवा, पोषण कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन सेवा, क्षयरोग उपचार, किशोर–किशोरी प्रजनन स्वास्थ्य, ल्याब, रेबिज भ्याक्सिन, पाठेघरको मुखको क्यान्सरको जाँचजस्ता सेवाहरू उपलब्ध छन् । तर, औषधि अभावका कारण सामान्य सेवाग्राहीहरू औषधिका लागी मेडिकल पुग्ने गर्छन् । 

प्राथमिक स्वास्थ्य केन्द्रको मापदण्डअनुसार २४ घन्टे बर्थिङ सेन्टर आवश्यक भए पनि बिरामी राख्ने ठाउँ नहँुदा चिकित्सकहरू सामान्य बिरामी जाँच गरेर फर्किरहेका छन् । जनस्वास्थ्य निरीक्षक साह भन्छिन्, ‘सबै सेवा सञ्चालनका लागि कम्तीमा १५ वटासम्म कोठा आवश्यक छन् । अहिले त बिरामीलाई उभ्याएर राख्नसमेत मुस्किलले ठाउँ पुग्छ ।’ 

चिकित्सक छन्, तर औषधि छैन
रामघाट स्वास्थ्य केन्द्रमा १२ जना कर्मचारी कार्यरत छन्, जसमध्ये चारजना एमबिबिएस चिकित्सक छन् । अस्पतालमा ल्याब, खोप, बहिरंग सेवालगायतका ११ वटा शीर्षकमा सेवा उपलब्ध भए पनि ठाउँ र औषधि अभावका कारण स्वास्थ्य केन्द्र ओझेलमा पर्र्दै गएको छ । सामान्य घाउचोट, झाडापखाला, ज्वरो, रुघाखोकी र खोप सेवा लिन स्वास्थ्य केन्द्र पुग्ने सेवाग्राही औषधि नपाउँदा फर्केर जाने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको मापदण्डअनुसार ९८ किसिमका औषधिहरू उपलब्ध हुनुपर्छ । जसमध्ये पनि ४० प्रकारका औषधि धेरै प्रयोगमा आउने हुन्छन् । तर, यस स्वास्थ्य केन्द्रमा पारासिटामोलजस्तो सामान्य औषधिसमेत अभाव रहेको केन्द्रका जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी साहले बताइन् । उनी भन्छिन्, ‘सधैँ प्रयोगमा आउने सामान्य औषधि पनि पर्याप्त आइपुग्दैन । खासगरी ज्वरो, झाडापखाला, ग्यास्ट्रिक र सामान्य एन्टिबायोटिक बढी माग हुन्छ । तर, सिटामोल र जीवनजल किन्नसमेत बाहिर पठाउँछौँ । चार दिनका लागि औषधि दिनुपर्ने भए पनि यहाँबाट एक दिनका लागि मात्रै औषधि दिएर पठाउनुपर्ने अवस्था छ ।’