
कैलालीको गोदावरी नगरपालिका– ४ स्थित गोदावरी नदीको बाढीमा फसेका ६ जनाको उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डोरीको सहायतामा उनीहरूको उद्धार गरेको हो।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६, झलारीका ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय वीर सार्की र कञ्चनपुरकै बेदकोट नगरपालिका– ७ बस्ने २८ वर्षीय अब्दुल सार्कीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू श्राद्ध गर्न गोदावरी पुगेका थिए। श्राद्ध गर्न नदीको टापुमा गएका वेला एक्कासि बाढी आएपछि उनीहरू बिचमा फसेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले दुईतिर बाँडिएर बनेको टापुमा श्राद्ध गर्न गएका उनीहरू एक्कासि बाढी आएपछि त्यहाँ फसेका बताए।
‘खोलाको दुवैतिर बाढी आएर उनीहरू फसेका रहेछन्। डोरीको सहायताले उद्धार गर्याैँ,’ चन्दले भने। बाढीमा फसेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट पनि त्यहाँ पुगेका थिए।
बर्खामा पानी परेका वेला उर्लने चुरेको फेदी भएर बग्ने गोदावरी नदीमा सुक्खायाममा भने पानीको सतह हिँडेर वारपार गर्न सकिने गरी निकै कम हुन्छ।