सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घरघरमा बिरुडा राखी मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गरिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको ब्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने यसका जानकार गोमती भट्टले बताए ।
सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्रयाइने व्रतालु सरस्वती अवस्थी बताउँछिन् । ‘गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुबधागो लगाउने गर्छौँँ,’ उनले भनिन्, ‘गौराको पूजा–अर्चनाले विशेषगरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुखसमृद्धि कायम हुन्छ ।’
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने चलन छ ।
प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धांगिनी शक्तिस्वरूपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजा–अर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजा–अर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिनछ ।
गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ ।