पूर्वसोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा मंगलबार मस्कोस्थित एक अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गोर्बाचेभको उपचारका क्रममा निधन भएको हो । उनले सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको नेतृत्व गरेका थिए । गोर्बाचेभ उनै व्यक्ति थिए, जसको नेतृत्वमा सोभियत संघ टुक्रा–टुक्रामा विभाजित भएको थियो ।
कैयौँपटक विश्वलाई आणविक युद्धको डिलमा पुर्याएको शीतयुद्धलाई शान्तिपूर्ण अन्त्य गर्न सफल तर सोभियत संघको पतन रोक्न असफल गोर्बाचेभ सोभियत संघका अन्तिम राष्ट्रपति रहे । अमेरिकासँगको हतियार कटौती सम्झौता र विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध गर्न विशेषगरी जर्मनीको एकीकरणमा उनको योगदान स्मरणीय रह्यो ।
‘ग्लास्तोनास्तो पेरेस्त्रोइका’ अर्थात् खुलापन र पारदर्शिताका प्रवर्तक गोर्बाचेभले देशको आन्तरिक सुधारमा चालेका कदमहरू नै विशाल सोभियत सघंको विखण्डनको कारण बन्न पुग्यो । सात वर्षभन्दा कम समय मात्रै सत्तामा रहे पनि राष्ट्रपति गोर्बाचेभले परिवर्तनको रोमाञ्चक शृंखला चलाएका थिए । सोभियत संघमा भएका प्रमुख राजनीतिक तथा आर्थिक सुधार र शीतयुद्धको शान्तिपूर्ण अन्त्यको मुख्य श्रेय उनलाई जान्छ ।
को थिए गोर्बाचेभ ?
नोबेल शान्ति पुरस्कारले सम्मानित मिखाइल सर्गेविच गोर्बाचेभ सामान्य किसानका छोरा थिए । उनको जन्म दक्षिणी रुसको स्ताभरोपोलमा २ मार्च १९३१ मा भएको थियो । सन् १९५२ मा सोभियत कम्युनिस्ट पार्टीको सदस्यता लिए उनी सन् १९८० मा पार्टीको सबैभन्दा कान्छो पूर्ण पोलिटब्युरो सदस्य बन्न पुगे । अन्ततः सन् १९८५ मा ५४ वर्षकै उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव हुँदै राष्ट्रपति बन्न पुगे ।
कैयाैँपटक विश्वलाई आणविक युद्धको डिलमा पुर्याएको शीतयुद्धलाई शान्तिपूर्ण अन्त्य गर्न सफल भए पनि गोर्बाचेभ सोभियत संघको पतन रोक्न भने असफल रहे
स्वदेशभित्र खलनायक, पश्चिमका लागि नायक
पदासीन हुनेबित्तिकै गोर्बाचेभले विभिन्न सुधारका कार्यक्रम ल्याउनुका साथै आइरन कर्टेनमा रहेको सोभियत संघलाई विश्वका लागि खुला गरे । संस्थागत सुधार र अभिव्यक्ति स्वतन्त्रताको नीतिले देशभित्र उनको विरोध सुरु हुन थाल्यो । तर, आणविक शक्ति सम्पन्न सोभियत संघमा बल प्रयोग गर्दा अराजकता बढ्न सक्ने भयले उनले आन्दोलन दबाउन खोजेनन् । यसैबीच, सन् १९९१ को अगस्टमा उनका विरुद्ध कुको असफल प्रयाससमेत भएको थियो । सोही वर्षको डिसेम्बरमा उनले सोभियत संघको विघटन गरेर राजीनामा पनि दिए ।
वर्षौंको अशान्तिका लागि बहुसंख्यक रुसी उनलाई दोषी ठान्छन् । रुसीहरू उनलाई सोभियत संघको पतन र १९९० को दशकको सुरुमा देशले भोगेको सामाजिक एवं आर्थिक संकटका लागि जिम्मेवार ठान्छन् । रुसी जनताको नजरमा खलनायक भए पनि पश्चिमा देशका लागि भने उनी सदैव वाहवाहीका पात्र रहे । शीतयुद्ध अन्त्य गर्न महŒवपूर्ण भूमिका खेलेको भन्दै गोर्बाचेभलाई सन् १९९० मा नै पश्चिमले नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरेको थियो । अफगानिस्तानमा सन् १९७९ देखि चलेको रक्तपातपूर्ण युद्ध उनैको कार्यकालमा समाप्त भएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्बाचेभलाई बीसौँ शताब्दीका महान् नेताको संज्ञा दिँदै श्रद्धाञ्जली प्रकट गरेका छन् । गोर्बाचेभको पुटिनसँग तिक्ततापूर्ण सम्बन्ध थियो । पुटिनले गोर्बाचेभलाई अन्तिमपटक सन् २००६ मा भेटेका थिए । गोर्बाचेभ युक्रेनमा हमला गर्ने पुटिनको निर्णयप्रति असन्तुष्ट थिए । यद्यपि, सन् २०१४ मा क्रिमियालाई रुसमा बिलय गराउने कदमको भने समर्थन गरेका थिए ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गोर्बाचेभले इतिहासको बाटो नै बदलेको भनेर सम्झेका छन । ‘मिखाइल गोर्बाचेभ एक दयालु राजनेता थिए’ महासचिव गुटेरेस भन्छन्, ‘विश्वले एक शक्तिशाली शीर्ष र प्रतिबद्ध नेता एवं शान्तिका अथक पैरवीकर्ता गुमाएको छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि गोर्बाचेभप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘महान् दृष्टि भएको दुर्लभ नेता’ भनेका छन् । उनले दुर्लभ र अद्वितीय राजनेता गोर्बाचेभमा शीतयुद्धको तनावबीच पनि ‘भिन्न भविष्य सम्भव देख्ने कल्पनाशक्ति’ थियो भनेर टिप्पणी गरेका छन् ।
कट्टरपन्थीको विद्रोह र सोभियत संघको पतन
सत्तामा रहँदा उनले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनका नारा अगाडि सारेका थिए । उनको अभिव्यक्ति स्वतन्त्रताको नीतिले अभूतपूर्व रूपले मानिसलाई सरकारको आलोचना गर्न अनुमति दियो, तर पुनर्गठनको नाराले देशको आर्थिक अवस्था कमजोर बनायो, जसका कारण सोभियत संघको पतन हुन पुग्यो । सन् १९९१ मा गोर्बाचेभ क्रिमियामा बिदा मनाउन गएको अवसर पारेर एउटा संगठित कम्युनिस्ट कट्टरपन्थी समूहले उनीविरुद्ध विद्रोह गरेको थियो । विद्रोहपछि राजीनामा दिनुको सट्टा उनी सोभियत संघ नै विघटन गर्ने विकल्पमा पुगे । २६ डिसेम्बर १९९१ मा मिखाइल गोर्बाचेभले सोभियत संघको विघटन भएको घोषणा गरे । त्यसपछि क्रेमलिनमा सोभियत झन्डा अन्तिमपटक झुकाइयो ।
सोभियत संघ ढलेपछिको नयाँ रुसमा भने उनी राजनीतिको किनारामा पुगे । यद्यपि, उनमा राजनीतिक मोह भने घटेको थिएन । सन् १९९६ मा भएको निर्वाचनमा उनी पनि उम्मेदवार बने तर रुसी नागरिकबाट अनुमोदित हुन सकेनन् । उनले एक प्रतिशत मत पनि प्राप्त गर्न सकेनन् ।
(एजेन्सीहरूको सहयोगमा )