कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभाको सिट बाँडफाँडमा सय सिटलाई बटमलाइन बनाउन पार्टी सभापतिलाई सुझाब दिएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्वपदाधिकारी र कार्यदलका सदस्यहरूको बैठकमा नेताहरूले यस्तो सुझाव दिएका हुन् । शीर्ष नेता र सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठकअघि सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल राखेका थिए । पाँच घन्टा चलेको बैठकमा बोलेका अधिकांश नेताले सयभन्दा कम सिटमा तालमेल गर्न कठिन हुने बताएको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । केही नेताले गठबन्धनमा जाने निर्णय भइसकेकाले गिभ एन्ड टेक गर्नैपर्ने तर, धेरै लचक हुन नहुने बताएका थिए ।
‘बैठकमा कार्यदलका साथीहरूले गठबन्धनबीच भइरहेको छलफलबारे ब्रिफिङ गरेपछि त्यसमै केन्द्रित रहेर सबैले सुझाव दियौँ,’ सहमहामन्त्री राठौरले नयाँ पत्रिकासँग भने, ‘हाम्रो दाबी सय सिटको हो । अरू दलको आफ्नो किसिमको दाबी छ । गिभ एन्ड टेक’ मा जानैपर्छ । तर, धेरै लचक हुनुहुँदैन भन्ने धेरेैको सुझाब आयो ।’
इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले कांग्रेसले बढीभन्दा बढी सिट लिएर निर्वाचनमा जानुपर्ने अडान राखेका थिए । पार्टीभित्रैका नेताहरूलाई व्यवस्थापनमा समस्या पर्ने भएकाले सयभन्दा बढी सिट कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो । पूर्वउपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि तालमेल गरेर जानुपर्ने बताएका थिए । ‘लोसपालाई पनि मिलाएर जानुप¥यो । उहाँहरू मिल्न तयार भएको अवस्थामा हामीलाई पनि घाटा हुने अवस्था छैन,’ निधिले बैठकमा भनेका थिए । बैठकमा नेताहरूले ०७४ को प्रत्यक्षभन्दा समानुपातिकतर्फको मतपरिणाम र ०७९ को स्थानीय तह निर्वाचनलाई आधार मानेर सिटमा दाबी गर्न सुझाब दिएका थिए ।
देउवाले भने–गठबन्धन बाध्यता हो
बैठकमा नेताहरूको धारणा सुनेपछि सभापति देउवाले तालमेल संवैधानिक बाध्यता रहेको स्मरण गराएका थिए । उनले गठबन्धनको निर्णय भइसकेको अवस्थामा लचक भएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका थिए । ‘हामीले सर्वसम्मत रूपमा केन्द्रीय कार्यसमितिबाट गठबन्धनको निर्णय गरिसकेका छौँ । संविधानको व्यवस्था पनि गठबन्धन नगरी सरकार बनाउन सक्ने खालको छैन । संविधानको व्यवस्थाका कारण पनि तालमेल हाम्रो बाध्यता हो,’ देउवाको भनाइ उद्धृत गर्दै सहमहामन्त्री राठौरले भने, ‘तालमेलमा कसै न कसैले त्याग गर्नैपर्छ । बढी सिटमा दाबी गर्नुभन्दा जित्नु महत्वपूर्ण हो । गठबन्धनलाई असर पर्ने गतिविधि कसैले पनि नगरौँ । यसलाई साथीहरूले बुझिदिनुहोला ।’