आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवार सिफारिस गरेको छ। ताप्लेजुङमा एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेका छन्।
संघीय निर्वाचन क्षेत्रका लागि तीनजनाको नाम सिफारिस गरिएको छ। केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), प्रदेश सचिवालय सदस्य लक्ष्मीप्रसाद आङ्छङ्बो र प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज मिङ्माडण्डु शेर्पालाई सिफारिस गरिएको मंगलबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
प्रदेश सभातर्फ क्षेत्र ‘क’ मा संघीयमा सिफारिस गरिएका खेलप्रसाद बुढाक्षेत्री (पराग)लाई नै दोहोर्याइएको छ। त्यस्तै, बमबहादुर भट्टराईको नाम पनि सिफारिस गरिएको छ। उता, प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा पनि प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस दुईजनालाई नै दोहोर्याइएको छ। लक्ष्मीप्रसाद आङ्छङ्बो र मिङ्माडण्डु शेर्पालाई माओवादीले प्रदेश ‘ख’मा सिफारिस गरेको माओवादी केन्द्रका जिल्ला इन्चार्ज विष्णुकुमार लिम्बूले जनकारी दिए।
प्रतिनिधिसभा उम्मेदवारका लागि समानुपातिकमा पर्शुराम कार्की, तेजशमशेर भट्टराई, ठाकुरसिंह साम्सोहाङ, देउबहादुर इवाराम र गोमा चुडाललाई सिफारिस गरिएको छ। प्रदेश सभा उम्मेदवारका लागि समानुपातिकतर्फ भने धेरैजनाको नाम आएको, तर सिफारिस भने भइनसकेको लिम्बूले बताए।
गठबन्धनमा कता कसको भाग पर्ने भन्ने विषयले भने अन्योलता छाएको छ। ताप्लेजुङमा प्रदेशतर्फ मात्र गठबन्धनबाट भाग लाग्यो भने केन्द्रमा सिफारिस गरेका व्यक्ति नै प्रदेशको उम्मेदवार बन्ने गरी दुई ठाउँमा सिफारिस गरिएको संयोजक लिम्बूले स्पष्ट पारे।