शिवसताक्षी–२ का कृषक नरबहादुर खत्रीले हातेमालो कृषि सहकारी संस्था शिवसताक्षी–१ मा पाँच घन्टा लाइन बसेपछि मंगलबार १० केजी युरिया मल पाएका छन् । अढाई बिघामा धानखेती गरेका उनलाई यति मलले एकछेउ पनि पुग्दैन, तर १० किलो मल पाउँदा पनि युद्ध जितेजस्तै भएको उनी सुनाउँछन् । ‘यसले धानखेतीलाई त एकछेउ पनि पुग्दैन । यसवेलासम्म तीनपटक मल लगाउनुपर्ने हो । बल्ल एकपटक १० केजी मल पाएँ,’ खत्री भन्छन्, ‘यसपटक धानमा मल नलगाउने, यो मल तरकारीमा प्रयोग गर्ने हो ।’ धानमा तीनपटक मल लगाउनुपर्छ । गत साउनमा गौरीगन्जको महाभारा नाका हुँदै महँगोमा ल्याएको मल पनि गुणस्तरहीन हुँदा धान पहेँलिएको उनी बताउँछन् ।
तीन बिघा खेतीमा धान लगाएका शिवसताक्षी–१ का जगेन्द्र लावतीले पनि मंगलबार दिनभर लाइन बस्दा १० केजी मल पाए । उनी भन्छन्, ‘वेलामा मल पाइँदैन । पाइँदा पनि थोरै पाइन्छ । यो मलले के गर्ने ? मल लगाउन नपाएर धान सबै पहेँलो भएको छ ।’
किसानलाई राज्यले गरेको व्यवहार देख्दा कृषि छाडेर अन्य पेसा रोज्नुपर्ने अवस्था आएको लावती बताउँछन् । मल किन्छु भन्दा पनि घन्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको शिवसताक्षी–१ की कृषक शोभा कोइरालाको पनि गुनासो छ । ‘पैसा तिरेर मल किन्छु भन्दा पनि पाइँदैन । अस्ति पनि चार घन्टा लाइन बसेपछि मल सकियो भने । अहिले १० केजी दिए,’ उनले भनिन्, ‘यो १० केजी मलले एक बिघा खेतीलाई पुग्दैन । यो मलले के गर्नु ? कम्तीमा दुःखकष्ट गरेर लाइनमा बसेपछि त पुग्ने मल दिनुपर्छ नि !’
मंगलबार शिवसताक्षी–१ को हातेमालो कृषि सहकारीले कृषि सामग्री कम्पनी लिमिटेडबाट ल्याएर तीन हजार दुई सय ५० केजी युरिया मल कृषकलाई वितरण गरेको सहकारीका सचिव तेजेन्द्र घिमिरेले जानकारी दिए । तीन सय २५ कृषकलाई १० केजीका दरले मल वितरण गएिको थियो । कृषकले प्रतिकेजी २० रुपैयाँमा मल खरिद गरेको घिमिरेले बताए । मलका लागि झन्डै चार सय कृषक मंगलबार लाइनमा बसेका थिए ।
पर्याप्त मल नहुँदा धान पहेँलियो
झापामा यसपटक ८५ हजार पाँच सय हेक्टरमा धानखेती भएको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले समयमा युरिया मल लगाउन नपाउँदा धान पहेँलिने समस्या देखिएको बताए ।
‘मुख्य गरेर खाद्य तत्वको कमी धानमा देखिएको छ । समयमा युरिया मल किसानले नपाउँदा नाइट्रोजन कमीको लक्षण धानमा देखिएको छ,’ उनले भने, ‘धान पहेँलिएको छ । यसलाई नियन्त्रण गर्न स्थानीय तहसँग समन्वय गरेर यस्ता समस्या समाधानका लागि ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।’