आचारसंहिता उल्लंघन गर्नेे उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी नै रद्द गर्न सक्ने व्यवस्था
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । सोमबार राजपत्रमा प्रकाशित आचारसंहितामा मतदानको १७ दिनअघिदेखि मात्र प्रचारप्रसारका लागि जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न मिल्ने उल्लेख छ । उल्लंघन गर्नेे उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारीसमेत रद्द गर्न सक्नेछ । आयोगले निर्णय गरेपछि आचारसंहिता लागू हुनेछ ।
चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झन्डा बोक्न अनुमति दिएको छ भने भारतीय नम्बरप्लेटका सवारी प्रयोगमा रोक लगाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार स्थानीय तह निर्वाचनको आचारसंहितामा देखिएका कमजोरीलाई सुधार गरेर र दलहरूसँगको छलफलबाट प्राप्त सुझावलाई समेटेर आचारसंहिता तयार गरिएको छ । ‘सार्वजनिक जानकारीका लागि आचारसंहिता राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । अब आयोगले निर्णय गरेर कार्यान्वयनमा ल्याउनेछ,’ अधिवक्ता अर्यालले भने, ‘आचारसंहिता सबैलाई लागू हुन्छ राजनीतिक दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिने कर्मचारीलगायत सबैलाई लागू हुनेछ । आचारसंहिता लागू भएपछि यसले वर्जित गरेका गतिविधिमा रोक लाग्नेछ ।’
आचारसंहिताले वर्जित गरेका गतिविधि कसैले गर्न मिल्दैन : सूर्यप्रसाद अर्याल सहायक प्रवक्ता, निर्वाचन आयोग
सार्वजनिक जानकारीका लागि आचारसंहिता राजपत्रमा प्र्रकाशित गर्नुपर्ने व्यवस्था छ । अब आयोगले निर्णय गरेर यसलाई कार्यान्वयनमा ल्याउँछ । सामान्यतया उम्मेदवारी दर्ताअगाडि आचारसंहिता लागू गर्ने प्रचलन छ । दल, उम्मेदवार, मतदाता, निर्वाचनमा खटिने कर्मचारीलगायत सबैलाई यो लागू हुनेछ । आचारसंहिताले वर्जित गरेका गतिविधि कसैले गर्न मिल्दैन ।
सामान्यतया आयोगले उम्मेदवारी दर्ताअगाडि आचारसंहिता लागू गर्दै आएको छ । आयोगको कार्यतालिकाअनुसार २ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको सूची तय भएको छ । १ असोजबाट आचारसंहिता लागू गर्ने तयारी गरेको छ । आयोगले आचारसंहितामा गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा दलहरूले उठाएका विषयलाई समावेश गरेको छ भने अस्पष्ट विषयलाई स्पष्ट पारेका छ । आयोगले अघिल्लो आचारसंहितामा परिवर्तन गरी भारतीय सवारी प्रयोग गर्न नपाउने, मनोनयनसँगै सम्पत्ति विवरण पेस गर्नुपर्ने, निर्वाचित भएमा सम्पत्ति विवरण सार्वजनिक हुने, चुनाव प्रचार अवधि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म, मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रबाहेकमा प्रचारप्रसार गर्न नपाउनेलगायतको व्यवस्था गरेको छ । त्यस्तै, आचारसंहितामा मौन अवधि हटाएर ‘विशेष आचरण’ शब्दलाई प्रयोगमा ल्याएको छ ।
त्यस्तै, विद्यालयका कर्मचारी र शिक्षक प्रचारमा सहभागी हुन नपाउने, जुलुुस र आमसभामा पर्चाबाहेकका प्रचार सामग्रीमा प्रयोग गर्न नपाउने, मन्त्री र प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रबाहेकमा प्रचारप्रसार गर्न नपाउनेलगायतका व्यवस्था गरेको छ । साथै मतदाताले समेत उम्मेदवारको पक्ष र विपक्षमा भ्रमपूर्ण प्रचार गर्न नपाइने उल्लेख छ ।
भारतीय गाडी प्रयोग गर्न नपाउने
आयोगले यसअघि अस्पष्ट र विवादित बनेको विदेशी सवारी प्रयोगको विषयलाई आचारसंहितामा स्पष्ट रूपमा रोक लगाएको छ । स्थानीय निर्वाचनको समयमा भारतीय सवारी प्रयोग भएको विषयमा आचारसंहिता अस्पष्ट रहेपछि आयोगको आलोचना भएको थियो । आयोगले १४ नम्बर बुँदामा विदेशी नम्बरप्लेट भएको सवारीलाई निर्वाचन प्रयोजनमा प्रयोग गर्न नमिल्ने निर्णय गरेको हो ।
मौन अवधि हटाएर ‘विशेष आचरण’को प्रयोग
आयोगले आचारसंहितामा ‘मौन अवधि’ शब्दलाई हटाएको छ । आचारसंहिताको बुँदा १७ मा आयोगले मौन अवधि शब्दको साटो ‘विशेष आचरण’ शब्द प्रयोग गरेको छ ।
बढाइयो प्रचारप्रसारको समय
आयोगले स्थानीय तह निर्वाचनमा भन्दा आगामी निर्वाचनका लागि प्रचारप्रसारको अवधि एक घन्टा थप गरेको छ । आचारसंहितामा निर्वाचनको समयावधि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म तोकिएको छ । स्थानीय तह निर्वाचनका क्रममा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्मको समय तोकिएको थियो । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मतदानको १७ दिन अघिसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था गरेको छ ।
प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने
कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न नहुने । कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिनेजस्ता काममा सहभागी हुन नहुने । कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारीसाधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचार–प्रसार गर्न नहुने ।
दल र उम्मेदवारले के गर्न पाउँछन्, के पाउँदैनन् ?
- जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला सभ्य र अनुशासित गर्नुपर्ने, कसैको घरको आसपासमा गई निज वा निजको परिवारको विरोध वा प्रदर्शन गर्न नहुने
- प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने
- जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुअघि प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानबारे कम्तीमा २४ घन्टाअघि नै जानकारी गराउनुपर्ने
- जुलुस, आमसभामा वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चिह्न÷ झन्डाअंकित लोगो वा स्टिकर, टोपी वा क्याप, टिसर्ट, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन तथा झोला बोक्न नहुने
- कुनै दल, उम्मेदवार वा भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध पु¥याउन नहुने
- एकभन्दा बढी दल, उम्मेदवार वा भ्रातृ संगठनले एकै समयमा एउटै स्थानमा जुलुस, आमसभा, बैठक वा भेला गर्न नहुने
- कसैको निजी घरजग्गामा वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल तथा उम्मेदवारको निर्वाचन चिह्न राख्न नहुने
- विभिन्न क्लब, सामाजिक तथा धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमलगायतका संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च दिने घोषणा गर्न नहुने
- जुलुस, आमसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने । निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने ।
- उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा झन्डा, चुनाव चिह्न, कुनै किसिमको बोर्ड वा फ्लेक्स राख्न तथा र श्रव्यदृश्य सामग्रीहरू बजाउन र प्रदर्शन गर्न नहुने, तर दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, वा घरदैलो कार्यक्रममा तोकिएको आकारका १०–१० वटासम्म झन्डा र चिह्न प्रयोग गर्न बाधा नपर्ने
- मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा तथा झाँकीसहित जान नहुने
- भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचार–प्रसार गराउन नहुने
- दल वा उम्मेदवारले जुलुस, आमसभा, घरदैलो गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डाबाहेक प्रयोग गर्न नहुने
- उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा गर्न, सञ्चारमाध्यममा प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्न मिल्नेछ
मन्त्रीले पालना गर्नुपर्ने आचरण : कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न नपाइने । तर, उम्मेदवार भएका मन्त्रीले भने आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार–प्रसार गर्न पाउँछन् । यसरी प्रचार–प्रसार गर्दा सरकारी स्रोत–साधन भने प्रयोग गर्न पाइनेछैन । कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोका लागि अनुदान दिनेजस्ता कार्यक्रम गर्न पाइनेछैन ।
मनोनयनसँगै सम्पत्ति विवरण पेस गर्नुपर्ने
प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयनसँगै सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । विवरण सिलबन्दी गरेर पेस गर्नुपर्ने र निर्वाचित भएमा विवरण सार्वजनिक गरिनेछ । पराजित उम्मेदवारले फिर्ता मागेमा दिने र नमागे आयोगले निश्चित समयपछि धुल्याउनेछ ।
निर्वाचन खर्चको स्रोत खुलाउनुपर्ने
उम्मेदवारले अनुमानित खर्च र स्रोत खुलाउनुपर्ने व्यवस्था आचारसंहितामा छ । खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खर्च प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्नेछ । साथै २५ हजारभन्दा बढी सहयोग लिँदा बैंकमार्फत नै लिनुपर्नेछ ।
मनोनयनमा जाँदा बढीमा २५ जनाको मात्रै जुलुस
आगामी निर्वाचनमा दलहरूले उम्मेदवारी मनोनयनका लागि जाँदा २५ भन्दा बढीलाई जुलुसमा सहभागी गराउन पाउनेछैनन् । आचारसंहिताको बुँदा १३ मा उम्मेदवारी मनोनयनमा जाँदा २५ भन्दा बढी जुलुसमा सहभागी हुन नपाउने र बाजागाजा, झाँकी लिएर जान नहुने उल्लेख गरिएको छ ।
राष्ट्रिय झन्डा प्रयोगको अनुमति
यसअघि अस्पष्ट रहेको राष्ट्रिय झन्डा प्रयोगको विषयलाई स्पष्ट पार्दै जुलुस, आमसभा र घरदैलोलगायतमा जाँदा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।
सबैले पालना गर्नुपर्ने आचारसंहिता
- सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोतसाधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने
- राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टी–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री–वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने
- घर वा जग्गाधनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न वा गराउन नहुने
- ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार–प्रसार गर्न वा गराउन नहुने
- बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने
- प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसार गर्न वा गराउन नहुने
- सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आसमभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचार–प्रसार गर्न वा गराउन नहुने
- सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने
- निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गराउन नहुने
- सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेष्ण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीका–टिप्पणी गर्न वा गराउन नहुने
- कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी–गराई सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने
- निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्चित लाञ्छना लगाउन नहुने
- कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने
- उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने
- निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचार–प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने
- कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्ने कार्य गर्न नहुने
- मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने