पाँचदलीय सत्तागठबन्धनले २० भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याउने भएको छ । कार्यदलमा सहमति जुट्न नसकिरहेका वेला गठबन्धनको शीर्ष तहमा बुधबारसम्म सिट संख्या र २० भदौसम्म निर्वाचन क्षेत्र टुंग्याएर २५ भदौपछि चुनावी अभियान थाल्ने सहमति बनेको हो । बैठकमा २५ भदौभित्र सम्बन्धित पार्टीले उम्मेदवार टुंग्याउने समझदारीसमेत भएको छ ।
‘हामी सहमतिनजिक पुगेका छौँ । २० भदौसम्ममा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले कुन क्षेत्र लिने भन्ने टुंगो लगाउँछौँ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘गठबन्धनका नेताहरूसँग आजै मात्र पनि कुरा भएको छ, अब टुंगो लाग्छ ।’
प्रतिनिधिसभाका एक सय ६५ क्षेत्रमध्ये कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले दुई सिटमा दाबी गर्दै आएका छन् । कार्यदलले मापदण्ड, आधार र सिट संख्याबारे तीन साता गृहकार्य गरे पनि सहमतिमा पुग्न नसकेपछि शीर्ष नेतालाई संख्या टुंग्याउन आग्रह गरेको थियो । शीर्ष तहमा पाँचदलीय गठबन्धनको आवश्यकता अझै रहेकाले लचकताका साथ सहमतिमा पुग्ने समझदारी भएको छ ।
कार्यदलका सदस्यसचिव केशव जोशीले शीर्ष नेताले सिट संख्या टुंग्याएपछि कुन पार्टीले कुन क्षेत्र लिने भन्नेबारे कार्यदलले थप गृहकार्य गर्ने बताए । यसअघि शीर्ष नेताले प्रतिनिधिसभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० क्षेत्रमा हारजितको सम्भावित विश्लेषणसहितको विवरण पेस गर्न कार्यदललाई निर्देशन दिएका थिए । कार्यदलले अघिल्लो निर्वाचनको मत विश्लेषणसहित तथ्यांक तयार पारे पनि सिटमा दलहरूका आ–आफ्ना दाबी छन् । सिटलाई लिएर कार्यदल सदस्यले अडान राखेपछि त्यहाँ सहमति जुट्न सकेको छैन ।
‘अहिलेसम्म कार्यदलमा भएको प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएका छौँ,’ एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका कार्यदल सदस्य प्रमेश हमालले भने । उनका अनुसार शीर्ष तहमा सहमति भएपछि कार्यदलले थप काम गर्नेछ ।
कार्यदलका संयोजक कृष्ण सिटौला कोरोना संक्रमित भएपछि पछिल्ला बैठकमा सहभागी छैनन् । कार्यदल र शीर्ष तह भन्दै सहमतिमा विलम्ब भएकोमा माओवादीले असन्तुष्टि जनाएको छ । सहमतिका लागि कांग्रेसले अग्रसरता देखाउनुपर्ने माओवादीका महासचिव देव गुरुङले बताए । ‘कांग्रेसले अग्रसरता लिनुपर्ने हो । संयोजक बिरामी भएर बैठकमा उपस्थित हुन सक्नुभएको छैन । अरूले जति अग्रसरता लिनुपर्ने हो त्यति देखिँदैन,’ उनले भने ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शीर्ष तहको सहमतिपछि कार्यदलले प्रदेश सभाबारे थप छलफल गर्ने जसपा नेता तथा कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार कार्यदल सदस्यले प्रदेश सभातर्फ आ–आफ्नो पार्टीको दाबी सैद्धान्तिक रूपमा प्रस्तुत गरेका छन् । तर, प्रतिनिधिसभाको क्षेत्रमा जस्तो प्रदेशमा संख्या भने उल्लेख गरेका छैनन् । ‘संख्या यति भन्ने भएन । सदस्यहरूले दाबी प्रस्तुत गर्नुभएको छ । शीर्ष तहमा प्रतिनिधिसभाको सिटबारे सहमति भएपछि प्रदेश सभाको सिट टुंग्याउन सजिलो हुन्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ,’ उनले भने ।