बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले बेँसीसहर नगरपालिका– ७ बस्ने २९ वर्षीय नवराज रिमाललाई बेँसीसहरबाट पक्राउ गरेको हो ।
विभिन्न बैंकिङ कसुर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार जरिवाना तोकेका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएका थिए । उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा दर्ता भई ०७६ मंसिर ९ गतेसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रबारदेखि लागू हुने गरी कैद भुक्तान र जरिवानाबापतको रकम असुलउपरका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।