पाँच वर्षमा १० करोड ७० लाख खर्च गर्दा पनि बैतडीको सिगास गाउँपालिकाले बिजुली बाल्न सकेको छैन । पहिलो कार्यकाल सकाएर पुनः निर्वाचित भएका पालिका अध्यक्ष हरिसिंह धामीले यो वर्ष पनि थप एक करोड २४ लाख बजेट छुट्याएका छन् । तर, बिजुली बल्ने छाँट भने देखिँदैन ।
उपभोक्ता समितिमार्फत गरिएको काम गुणस्तरीय नभएका कारण अधिकांश ठाउँमा बिजुलीका खम्बा ढलिसकेका छन् भने तारहरू चुँडिएका छन् । विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले विद्युतीकरणजस्तो प्राविधिक काम उपभोक्ता समितिबाट गर्दा प्रभावकारी नहुने बताए । अध्यक्ष भट्टले राम्रो काम गर्न नसकेको भन्दै अर्को वर्ष रामचन्द्र ऐरी उपभोक्ता समिति अध्यक्ष भए । वर्तमान वडाध्यक्षसमेत रहेका ऐरीको कार्यकालमा पनि ४० लाख खर्च भयो, तर बिजुली बलेन । त्यसपछि गंगाराम भट्ट उपभोक्ता समितिको अध्यक्षमा आएपछि थप ३० लाख खर्च भयो ।
चार वर्षमा तीनजना अध्यक्षले एक करोड २० लाख खर्च गर्दा पनि सिगास–१ को बिन्द्रावनदेखि वडा कार्यालयसम्म करिब पाँच किलोमिटर विद्युतीकरण हुन सकेको छैन । ढलेका बिजुलीका खम्बाहरू स्थानीयले निजी कामका लागि प्रयोग गरेका छन् भने भाँचिएका खम्बा र तार वडा कार्यालयमा थन्किएका छन् । उपभोक्ता समितिका संस्थापक अध्यक्ष लोकराज भट्टले विद्युतीकरणका लागि खरिद गरिएको बिजुलीका खम्बा घर निर्माणमा प्रयोग गरेका छन् । ०७७ सालमा अध्यक्ष भएका हालका वडाध्यक्ष रामचन्द्र ऐरी विगतमा कमजोरी भए पनि छिट्टै बिजुली बाल्ने बताउँछन् ।
सिगास गाउँपालिका–२ को हालत वडा नं १ को भन्दा नाजुक छ । यो वडामा ०७४ सालमा विद्युतीकरणका लागि १५ लाख विनियोजन भएपछि खम्बा गाड्ने र तार तान्ने काम भयो । करोडौँ बजेट विनियोजन गरेको योजनामा बिजुलीका खम्बा गाड्ने, तार तान्ने र ढलेपछि उखेल्दै फेरि काम गर्ने क्रम मात्रै चलिरहेको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिका उपाध्यक्ष धाना धामीले पालिकाको विद्युतीकरण योजनाप्रति असन्तुष्टि जनाइन् ।
यो वर्ष पनि विद्युतीकरणकै लागि पालिकाले मोटो बजेट विनियोजन गर्न लाग्दा विरोध गरेको उनले बताइन् । उनले भनिन्, ‘अधुरो काम पूरा गर्ने भन्दै आगामी वर्षका लागि बहुमतबाट एक करोड २४ लाख बजेट पास गरिएको छ ।’ अझ, सिगास–१ का तत्कालीन अध्यक्ष गगन धामीले बिजुलीका तार बेचेर राँगा–भैँसीको व्यापार गरेको स्थानीयले बताएका छन् । धामीले स्वयं पनि यो कुरा स्वीकार गरेका छन् । ‘मैले एक लाख ४० हजारमा तार बिक्री गरेको हो,’ उनले भने, ‘त्यो पैसा राँगा–भँैसीको व्यापारमा लगाए पनि विद्युतीकरणकै लागि खर्च भएको हो ।’