इन्स्योरेन्स रकम हात पार्न नक्कली बिहे गरेर दुर्घटनाको नाममा हत्या गरिएको घटनामा प्रहरीले कर्तव्य ज्यानको कसुरमा छुट्टै अनुसन्धान गर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले कर्तव्य ज्यान मुद्दा चलाउन सकिने राय दिएपछि यसमा छुट्टै अनुसन्धान सुरु भएको हो । बाँकेको कोहलपुर– ११ बस्ने सर्जन विकको बसले ठक्कर दिन लगाएर योजनाबद्ध रूपमा गत वर्ष हत्या भएको थियो । त्यसअघि उनको साढे दुई करोड रुपैयाँबराबरको बिमा गरी त्यो बिमा रकम सपना मल्लले पाउने गरी उनीसँग बिहे दर्ता गराइएको थियो । सो घटनालाई यसअघि प्रहरीले सामान्य दुर्घटनाका रूपमा मात्र मुद्दा दायर गरेको थियो । सो घटनामा संलग्न सातजनालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।
सो घटनामा अब कर्तव्य ज्यान कसुरमा पनि अनुसन्धान हुने सिआइबीका एसपी कमल थापाले बताए । ‘कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान गर्न हामीले जिल्ला प्रहरी कार्यालय बाँकेमा फाइल पठाइसकेका छौँ,’ उनले भने, ‘थप व्यक्तिलाई पनि त्यसैगरी हत्याको योजना बनाएको खुलेकाले ज्यान मार्ने उद्योग मुद्दा पनि आकर्षित भएको हो ।’ त्यसैगरी नक्कली बिहे गराई बिमा गराएर थप दुईजनाको सो गिरोहले हत्या प्रयास गर्ने योजना बनाएको सिआइबी अनुसन्धानमा खुलेको छ । सोही योजनाका लागि बिहे दर्ता गराइसकेका दुई युवक प्रहरी सम्पर्कमा पुगेका छन्, जसमध्ये एकजनाले जाहेरीसमेत दिइसकेका छन् । यसअघि बसले किनेर हत्या गर्ने बसचालकलाई अदालतबाट सवारी ज्यान मुद्दामा ३० दिन कैद र दुई हजार रुपैयाँ मात्र जरिवानाको फैसला भएको थियो ।
साउनको दोस्रो साता सिआइबीले यसमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो । योजनाकार सञ्जीव अर्याल तथा घटनामा उनलाई साथ दिने सपना मल्ल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई सिआइबीले पक्राउ गरेको थियो । सञ्जीवले कमजोर आर्थिक अवस्था भएका सर्जनको सपनासँग विवाह गराई उनको रिलायन्स लाइफ इन्स्योरेन्समा बिमा गराएका थिए । २८ फागुन ०७७ मा यसरी बिमा गरिएकोमा त्यसको ३४ दिनपछि उनको हत्या भएको थियो । मदिरा पिलाई मोटरसाइकल चलाउन दिएर बसले ठक्कर दिई पछि किचेर सर्जनको २ वैशाख ०७८ मा बाँकेको बैजनाथ गाउँपालिका– ६ स्थित भित्री सडकमा हत्या भएको थियो ।
उनको हत्यापछि बिमाबापतको साढे दुई करोड रुपैयाँ सपनाले निकालिन् । सो रकम ६ जनाले बाँडीचँुडी लिएका थिए । करिब एक करोड सपनाले लिएकी थिइन् । जापान जान लाग्दा दिल्लीबाट उनलाई फर्काएर प्रहरीले १० साउनमा उनलाई पक्राउ गरेको थियो । यो घटनामा संलग्न आरोपमा केही दिनअघि प्रहरीले जानुका रिजाललाई पनि पक्राउ गरेको छ । सञ्जीवले सुरुमा सर्जनसँग नक्कली बिहेका लागि उनीसँग प्रस्ताव गरेका थिए । उनले ललिता सापकोटालाई भेटाइदिएको र ललिताले सपनासँग त्यसका लागि समझदारी गराएकी थिइन् । रिलायन्स लाइफ इन्स्योरेन्सको जाहेरीका आधारमा प्रहरीले ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।