कैलालीको जोशीपुर गाउँपालिकामा एक युवा प्रहरी नियन्त्रणबाट हतकडीसहित फरार भएका छन्। आफ्ना बुवालाई कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले जोशीपुर–४, का २८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको थियो। हतकडी लगाएर इलाका प्रहरी कार्यालय लैजाने क्रममा चौधरी भागेर फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शम्भु चौधरीले आफ्नो छोरा शंकरले आफूलाई कुटपिट गरेको भन्दै उनीविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
गाउँबाट पक्राउ गरेर ल्याउने क्रममा अभियुक्त चौधरी पथरैया खोलामा हाम फालेर फरार भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।
अभियुक्तको खोजीका लागि इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय जोशीपुरबाट प्रहरी टोली खटाइएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए।