फेसबुक ह्याक गरी आफन्तसँग पैसा मागेर ठगी गर्दै आएका एक किशोर दुई वर्षमा तेस्रोपटक पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे घर भई भक्तपुर बस्ने २० वर्षीय किरण पाठकलाई प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको हो ।
उनले पछिल्लो तीन महिनामा ५० जनाभन्दा धेरैको फेसबुक ह्याक गरी डिजिटल पेमेन्टमार्फत पैसा मागी ठगी गरेको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी पशुपति रायका अनुसार किरणविरुद्ध ६ जनाले जाहेरी दिएका छन् भने अन्य जाहेरी दिने क्रममा छन् । उनले अनुमानका आधारमा विभिन्न व्यक्तिहरूको फेसबुकको युजरनेम र पासवर्ड राख्थे र ह्याक गर्थे । त्यसरी ह्याक गरेपछि मेसेन्जरमार्फत ती व्यक्तिका आफन्तसँग समस्या परेको भन्दै डिजिटलमाध्यमबाट केही रकम माग्थे । फेसबुक ह्याक गरेपछि च्याटको अध्ययन गरी सबैभन्दा निकट व्यक्ति पत्ता लगाई उनीहरूले कुरा गर्ने शैलीमै च्याट गरेर पैसा माग्ने गरेको अनुसन्धानमा खुलेको छ ।
रकम लिनका लागि फेसबुकमार्फत अर्का व्यक्तिको इसेवाको ओटिपी नम्बर मागी दुरुपयोग गर्दै आएको प्रहरीले जनाएको छ । ब्युरोका एसपी रायका अनुसार पछिल्लोपटक उनले करिब ५० जनालाई त्यसरी ठगी गरेको उजुरी परेको छ । धेरैलाई औसतमा २०–२५ हजार रुपैयाँ ठगी गर्थे । यसरी विभिन्न नाममा इसेवा आइडीसमेत खोलेका थिए । ठगीकै लागि उनले करिब ४० वटा सिम कार्ड लिएको एसपी राय बताउँछन् ।
पाठकलाई गत फागुनमा जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी मुद्दा चलाएको थियो । जसमा जिल्ला अदालतले उनलाई थुनामा पठाएको उच्च अदालतले छाड्ने आदेश दिएको थियो । जेलबाट छुटेलगत्तै उनी फेरि सोही धन्दामा लागेका हुन् । प्लस टुसम्मको अध्ययन गरेका पाठकलाई परिवारले यस्तो काम नगर्न आग्रह गर्दा पनि उनले मानेका छैनन् । ‘उनमा साइबर अपराधको लत नै देखिन्छ,’ अुनसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन् ।
दुई वर्षअघि पनि प्रहरीले उनलाई यस्तै अपराधमा पक्राउ गरेको थियो । त्यतिवेला उनको उमेर १८ वर्षभन्दा कम भएकाले यस्तो अपराध नगर्ने सर्तमा छुटेका थिए । तर, उनी सुध्रिएनन् । करिब १० जनालाई फेसबुकबाटै ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
खासगरी फेसबुकमा कमजोर पासवर्ड राख्नेहरू उनीबाट ठगिएका छन् । कतिपयले च्याटमा कुरा गरेकै आधारमा इसेवाको ओटिपी नम्बर दिने गरेकाले पनि उनले सहजै ठगी गर्न सफल भएको प्रहरी अधिकारी बताउँछन् । ब्युरोले विद्युतीय कारोबार ऐनअनुसार उनीमाथि अनुसन्धान अघि बढाएको छ ।