मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ भदौ ११ शनिबार ०६:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंककमा एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सुरु

Read Time : < 1 मिनेट
२०७९ भदौ ११ शनिबार ०६:३९:००

 गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुक्रबारदेखि बैंकक, थाइल्यान्डमा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको मुख्य आतिथ्यतामा कार्यक्रम सुरु भएको हो । 

‘मिलाप’लाई मुख्य नारा बनाई सुरु भएको सम्मेलनको मुख्य उद्देश्य संघका सबै सदस्यबीच सहमति र एकता गराउनु रहेको सम्मेलनका संयोजक पारसमणि पोखरेलले बताए । उनका अनुसार सम्मेलनमा आयोजना गरिएका हरेक गतिविधि मिलापका लागि गरिएको छ । कार्यक्रम अगस्ट २५ देखि २८ सम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न देशमा रहेका तीन सय सदस्य सहभागी हुने आयोजकको अनुमान रहेको छ । 

कार्यक्रमका बारेमा गरिएको पत्रकार सम्मेलन केन्द्रीय अध्यक्ष कुल आचार्यले सम्मेलनमा विभिन्न देशबाट सदस्यहरू उपस्थित भएको जानकारी दिए । यसले नै सबैबीच भेटघाट र मिलाप हुने अपेक्षा गरिएको उनले बताए । उनले भने, ‘यो मिलापको पहिलो चरण हो ।’ यद्यपि, केही सदस्यमा असन्तुष्टि देखिएकाले उनीहरूलाई पनि मिलाएर सँगै लैजाने मनसाय रहेको उनको भनाइ थियो । सदस्यले व्यक्त गरेको असन्तुष्टि पनि संस्थाको हितका लागि नै भएको उनको भनाइ थियो । 


त्यस्तै, केन्द्रीय अध्यक्ष रविना थापाले दशौँ अधिवेशन नै मिलाप भएको बताइन् । थाइल्यान्डमा त्यसलाई सेलिब्रेट गर्न आएको उनको भनाइ थियो । उनले भनिन्, ‘कोभिडपछि भौतिक उपस्थितिका साथ आयोजना भएको पहिलो कार्यक्रम हो । त्यसैले पनि हामीले यसलाई मिलापका रूपमा लिएका छाैँ ।’ 

अर्का केन्द्रीय अध्यक्ष डा. बद्री केसीले आफ्नो व्यक्तिगतभन्दा पनि संस्थाको हितका लागि सोच्न सकियो भने मिलाप हुने बताए । काठमाडौंमा भएको सम्मेलन त्यसको उदाहरण भएको उनको भनाइ थियो । साथीहरूबीच केही असन्तुष्टि भए पनि त्यसलाई माझेर मिलाप गर्नुपर्ने उनले सुझाए । नेपाली नागरिक मात्र नभई नेपाली मूलका जुनसुकै देशका नागरिकलाई पनि नेपालसँग जोड्नका लागि मिलाप महत्वपूर्ण भएको उनको भनाइ थियो ।