सन् २०१३ देखि हुँदै आएको ‘मिस ग्रान्ड नेपाल’को दशाैँ संस्करण हुने भएको छ। यसपटक बोली क्लब ग्रुप र कस्मो इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको थियो। यसपटकको ‘मिस ग्रान्ड नेपाल’ हिंसा र युद्ध रोकौँ भन्ने मूल नारासहित हुने प्रतियाेगिताका नेसनल डाइरेक्टर सुरेश तामाङले बताए।
उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवतीको भदौ ११ गतेबाट अडिसन सुरु हुनेछ भने १३ गते छनाेट गरिनेछ। भदौ १४ गते सहभागीलाई ओरेन्टेसन गराइने उनले बताए। आयोजकका अनुसार १८ देखि २८ वर्ष उमेर समूहका युवतीले प्रतियोगितामा भाग लिन पाउनेछन्। सहभागी युवतीको उचाइ पाँच फिट चार इन्च र कक्षा १२ पास गरेको हुनुपर्नेछ।
मिस ग्रान्डमा प्रथम हुने युवतीले इन्डाेनेसियाको बाली र जकार्तामा अक्टोबर ४ देखि २५ सम्म हुने कार्यक्रममा सहभागी हुन पाउनेछन्। त्यसैगरी पाँच लाख रुपैयाँबराबरको गिफ्ट ह्याम्पर पनि प्रदान गरिनेछ। प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष राना (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) निर्णायक रहने बताइएको छ।