१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई तत्काल काम पूरा गर्न निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:२७:oo

खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बीचमै अलपत्र अवस्थामा छाडिएपछि प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले तत्काल काम सम्पन्न गर्न निर्देशन दिएका छन् । बुधबार दिक्तेल-रूपाकोट–मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंको टोलीले उक्त सडक अनुगमन गरेकाे थियाे । अनुगमनकै क्रममा निर्माण कम्पनीका प्रमुखलाई प्रजिअ सेडाईंले फोनमार्फत तुरुन्त काम सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् । 

ठेकेदार कम्पनीको लापरबाहीले खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बीचमै अलपत्र अवस्थामा छाडिएको छ । जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारको लापरबाहीले सडक ढलान गर्दागर्दै फलामे रड बिछ्याएर अलपत्र अवस्थामा छाडेपछि हिँडडुल गर्नसमेत समस्या भएको छ । 

अलपत्र अवस्थामा छोडिएको निर्माणाधीन सडकको केही ठाउँमा ढलान गरिएको छ भने केही ठाउँमा रड मात्र बिच्छ्याइएको छ । ढलान गर्न तयारी गरिएको सडक अलपत्र बनाएर दुई महिनादेखि ठेकेदार बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सडकमा रड बिच्छ्याएर छाडेपछि मान्छे हिँड्नदेखि पशुचौपाय हिँडाउनसमेत समस्या भएको स्थानीय टंकप्रसाद आचार्यले बताए । ‘स्थानीय बासिन्दाले लेकबेँसी गर्ने बाटो यही हो, यहाँका मानिसहरू पानीपधेँरो जाने बाटो पनि यही हो,’ उनले भने, ‘सबैले गाईवस्तु यही बाटो हिँडाउनुपर्छ, तर बाटोभरि रड बिच्छ्याएर छाडिएको छ । रडमा अल्झिएर खुट्टा भाँचिन्छ भन्ने ठूलो डर छ । यसप्रति सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।’

सडकमा बिच्छ्याइएको रडले हिँडडुल गर्न समस्या भएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेपछि ८० घनमिटर आरसिसी ढलान, ९१ घनमिटर सोलिङ र ८४ घनमिटर मेसिनरी वाल निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाले रु. ४२ लाख ३२ हजार दुई सय ३१ को इस्टमेट निकालेको थियो, तर निर्माण कम्पनीले  २३ लाख ६८ हजारमा ठेक्का पारेको थियो । इस्टमेटभन्दा झन्डै आधा रकम कममा ०७९ वैशाख १९ गते काम सक्नेगरी ०७८ माघ २० गते उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । 

बीचैमा अलपत्र छाडिएको सडकको काम तत्काल सम्पन्न गरेर सहजता नबनाए कानुनी प्रक्रिया अगाडि बढाइने नगर प्रमुख भट्टराईले बताए । ‘सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ,’ उनले भने, ‘तत्काल काम पूरा गर्न निर्देशन दिइएको छ । पूरा नगरेमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’ म्याद सकिएको चार महिना भइसक्दा पनि ७० प्रतिशत मात्र काम पूरा भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुंगाका इन्जिनियर सञ्जयकुमार चौधरीले बताए । यस्तै सोही निर्माण कम्पनीले नगरभित्रकै अन्य दुईवटा योजना पनि अलपत्र पारेर छाडेको छ । 

हाडडाँडा–काफ्ले गाउँ–धुम्ती–बरडाँडा सडकको ढलान, सोलिङ र मेसिनरी वाल निर्माणको कामको सक्ने म्याद नागेको तीन महिना भइसक्दा ४५ प्रतिशत मात्र काम भएको इन्जिनियर चौधरीले बताए । रु. ६६ लाख २२ हजार ६० मा ठेक्का सम्झौता भएको उक्त योजनाको गत जेठमै म्याद सकिएको हो । यस्तै, दोर्पा–दुम्ली सडकको काम पनि सोही निर्माण कम्पनीले जिम्मा लिएर काम सम्पन्न नगरी अलपत्र अवस्थामा छाडेको छ । रु. ४२ लाख ३६ हजार चार सय ७३ मा ठेक्का सम्झौता भएको उक्त योजनाको म्याद पनि गत वैशाखमा सकिएको छ । तर, निर्माण कम्पनीले बीचैमा सडक अलपत्र पारेर छाडेको छ । 

काम सम्पन्न गर्न सम्झौता मिति सकिँदा पनि सरकारको सार्वजनिक खरिद १२औँ संशाेधन नियमावली, २०७९ अनुसार नेपालका सबै योजनाको सम्झौता मिति एक वर्षलाई थपिँदा निर्माण कम्पनीलाई सहज भएको छ । दश स्थानीय तह रहेको जिल्लाका विभिन्न क्षेत्रको सडक केठेदारको लापरबाहीले अलपत्र छ । 
 

ad
ad