मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ९ बिहीबार o९:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकिङ प्रणालीमा रिपो के हो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार o९:o१:oo

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्ने उपकरण नै रिपो हो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग यस्तो उपकरण प्रयोग हुन्छ । यस उपकरणको निष्कासन बोलकबोलमार्फत हुन्छ । सफल बोलकर्ताको अर्थात् बैंक तथा वित्तीय संस्थाहरूको नेपाल राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकाले निश्चित समयावधिका लागि तरलता प्रवाह हुन जान्छ ।

बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँटअनुसारको रकमको एक सय १० प्रतिशत रकमबराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितोस्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्छ । भुक्तानी मितिका दिन रिपो रकम फिर्ता भुक्तानी भइसकेपश्चात् धितोस्वरूप राखेको सुरक्षणपत्र सम्बन्धित बोलकर्तालाई फिर्ता गरिन्छ ।

रिभर्स रिपो
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण रिभर्स रिपो हो । यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको नेपाल राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकाले तोकिएको समयावधिका लागि तरलता प्रशोचन हुन्छ । बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोली लगाउने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ । 

तरलता प्रशोचन गर्ने प्रयोजनार्थ प्रयोग हुने रिभर्स रिपो उपकरणको बोलकबोल आह्वान तथा निष्कासन गर्दा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल धितोस्वरूप राख्नुपर्ने व्यवस्था छ । रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खातामा जम्मा गरी एकमुष्ट साँवा–ब्याज रकम भुक्तानी गर्ने गरिन्छ । रिपो तथा रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र बैंकबीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रिमेन्ट भएको हुनुपर्छ । अन्यथा, रिपो र रिभर्स रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन ।