३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले खोजी–खोजी भत्काउन सुरु गरेको मेयर बालेन्द्र साहको भनाइ
काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङलाई व्यापारिक प्रयोजनमा प्रयोग गरिएका स्थान खाली गर्न थालेको छ । सवारीसाधन पार्किङका लागि बनेका ठाउँमा पसल राखेपछि महानगरले त्यसलाई पार्किङकै रूपमा कायम गराउन थालेको हो ।
महानगरले व्यापारिक भवनहरूलाई यसअघि नै पार्किङको ठाउँ दुरुपयोग नगर्न निर्देशन दिएको थियो । ३५ दिने सूचना दिएपछि पनि पार्किङ भनेर नक्सा पास गरेका भवनहरूले प्रयोग नगरेको पाइएपछि महानगरले कारबाही थालेको हो ।
यसैक्रममा महानरगले सोमबार बानेश्वरस्थित संसद् भवनको पश्चिम गेटअगाडिपट्टि रहेको व्यापारिक भवनको अन्डरग्राउन्डमा रहेका पसलहरू हटाएको छ । ३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेपछि महानगरले खोजी–खोजी भत्काउन सुरु गरेको महानगरका मेयर बालेन्द्र साहले जानकारी दिए । उनका अनुसार पार्किङ भनेर नक्सा पास भएका, तर अन्य रूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन र कारबाही सुरु भएको छ । ‘अन्डरग्राउन्ड पार्किङलाई लागू गराएपछि सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ,’ मेयर साहले भने, ‘यसले महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन पनि सहज हुन्छ ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले पार्किङका लागि बनाएका ठाउँ पसल तथा अन्य प्रयोजनमा प्रयोग हुँदा पार्किङमा समस्या बढेको बताए । उनले महानगरपालिकासँगको समन्वयमा अनुगमन गर्ने तयारी गरेको पनि जानकारी दिए । ‘अहिले उपत्यकामा जहाँ–जहाँ अन्डरग्राउन्डमा पसल राखिएको छ, ती सबै पार्किङस्थल हुन्, आफ्ना ग्राहक र निजी प्रयोजनका लागि उनीहरूले आफैँले पार्किङस्थल बनाउनुपर्छ,’ उनले भने, ‘यसको दुरुपयोग गर्नेलाई कारबाही गर्छौँ ।’ उनका अनुसार व्यापारिक क्षेत्रमा रहेका अधिकांश भवनहरूले पार्किङलाई भाडामा लगाएर पसल राखेका छन् । ती पसल तथा भवनमा कामले आउने व्यक्तिले सडक तथा फुटपाथमा पार्किङ गर्ने गरेका छन् । त्यस्ता ठाउँको ट्राफिक प्रहरीले अध्ययन नै गर्नेछ ।
बानेश्वरबाट सुरु अन्य स्थानमा पनि पुग्छौँ : बालेन्द्र साह मेयर, कामपा
अन्डरग्राउन्ड पार्किङस्थल अरू प्रयोजनमा नलगाउन दिएको ३५ दिने सूचनाको म्यादसमेत सकिएको छ । पार्किङ भनेर नक्सा पास भएका, तर अन्य रूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको छ । हामीले बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ । बिस्तारै सबैतिर महानगर पुग्नेछ । यसो भएमा सहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ ।