१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
ज्ञानेन्द्रलाल प्रधान
२o८१ बैशाख २३ आइतबार o९:३o:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बंगलादेशले यसकारण किन्छ नेपालको विद्युत्

Read Time : > 4 मिनेट
ज्ञानेन्द्रलाल प्रधान
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:३o:oo

डिजेल तथा कोइला प्लान्ट बन्द गर्ने विकल्प छैन, न सोलार राख्ने जमिन छ, न विद्युत् उत्पादन गर्ने सम्भावना

कुनै पनि वस्तुको व्यापार गर्न पहिले त्यसको पोटेन्सियल (सामथ्र्य ) हुनु आवश्यक छ, नेपालको हकमा त्यो जलस्रोत हो । जलस्रोतबाट डेढ लाख मेगावाटसम्म विद्युत् व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ । साथै, त्यसबाट अन्य लाभसमेत नेपालले लिन सक्छ । 

अहिले नेपालको राष्ट्रिय विद्युत् प्रणालीको जडित क्षमता २२६८ मेगावाट पुगेको छ । तर, पिक डिमान्ड भने १८–१९ सय मेगावाट हाराहारीमा छ । त्यसअनुसार नेपालमा जति विद्युत् उत्पादन भएको छ, त्यसबराबर खपत हुन सकेको छैन । निकट भविष्यमा पनि यसले निरन्तरता नै पाउने सम्भावना छ । 

विद्युत्का लागि नेपाल आफैँमा सानो बजार हो । यद्यपि, विद्युत् खपत विस्तार गर्न सकिने क्षेत्र भने थुप्रै छन् । त्यसलाई पूर्ति गर्दासमेत यहाँ उत्पादन हुने सबै विद्युत् खपत हुँदैन । त्यसकारण नेपालको विद्युत् खपत गर्न छिमेकी तथा विदेशी मुलुकमा बजार विस्तार गर्नु अपरिहार्य छ । आजको दिनमा हाम्रो विद्युत्को ठूलो बजार भनेको भारत र बंगलादेश हुन् । यी देशमा सहज तथा सफल रूपमा विद्युत् व्यापार गर्न सकिन्छ । 

भारतमा भने अहिले विद्युत् निर्यात हुन थालिसकेको छ । उसले नेपालका विभिन्न ६ आयोजनाको ३६४ मेगावाट विद्युत् आफ्नो खुला बजारमा बिक्री गर्न अनुमति दिइसकेको छ । सोअनुसार नेपाल विद्युत् प्राधिकरणले दैनिक ३६४ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिरहेको छ । त्यसबापत प्राधिकरणले गत आवमा तीन अर्ब ८८ करोड र चालू आवको साउनमा झन्डै दुई अर्ब रुपैयाँ आम्दानी गरेको छ । यस्तै, थप एक सय ११ दशमलव आठ मेगावाट विद्युत् निर्यात गर्ने प्रस्ताव भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पेस गरिएको छ । यसरी भारतमा विद्युत् निर्यात हुन्छ भन्ने आधार तय भइसकेको छ । यहाँनेर बंगलादेशले नेपालकै बिजुली किन्ने आधार के छ भन्ने प्रश्न आउन सक्छ, जुन स्वाभाविक पनि हो । मेरो अध्ययनमा बंगालदेशले नेपालबाट विद्युत् किन्ने आधार प्रशस्तै छन् ।

बंगलादेशले किन किन्छ नेपाली बिजुली ? : अहिले बंगलादेशले कोइला तथा डिजेलबाट विद्युत् उत्पादन गरिरहेको छ । पछिल्लो समय डिजेल र कोइलाको मूल्य अत्यधिक बढेपछि त्यहाँको विद्युत् उत्पादन स्वतः महँगो भएको छ । त्यसमाथि डिजेल तथा कोइला प्लान्टका कारण बंगलादेशको वातावरण प्रदूषण पनि बढ्दो छ । यस्तो अवस्थामा बंगलादेशलाई वातावरणीय प्रदूषण कम गर्नुपर्ने दबाब छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला प्लान्ट बन्द गर्ने अन्य विकल्पचाहिँ छैन । त्यहाँ न सोलार राख्ने जमिन छ न नेपालको जस्तो स्वच्छ जलविद्युत् उत्पादन गर्ने सम्भावना । त्यसकारण पनि बंगलादेशले बिजुली आयात गर्नुपर्ने बाध्यता छ । 

अहिले बंगलादेशको विद्युत्जडित क्षमता मागभन्दा बढी छ । त्यहाँ झन्डै २५ हजार मेगावाट जडित क्षमता छ । यद्यपि, माग भने २० हजार मेगावाट छ । विद्युत् उत्पादन महँगो पर्ने भएपछि बंगलादेशले आवश्यक मात्रामा विद्युत् उत्पादन नगरेर लोडसेडिङ गर्दै आएको छ । अहिले पनि त्यहाँ राति आठ बजेपछि पसल खोल्न पाइँदैन, गर्मीमा एसी चलाउन पाइँदैन । जुन बंंगलादेशका लागि दुःखद पक्ष हो । तर, त्यही दुःखमा हाम्रोे अवसर छ । हामीले नेपालको विद्युत् बिक्री गरेर उनीहरूको दुःख मेटाउन सक्छौँ । बंगलादेशमा विद्युत् बिक्री गर्न पर्याप्त बजार भए पनि हाम्रो सरकारसँग त्यससम्बन्धी कुनै भिजन छैन । बजार छ भनेपछि नेपाल झन् तातिनुपर्ने हो । तर, सरकारले आवश्यकताअनुसार काम गरेको छैन ।

बंगलादेशले सन्् २०४० सम्म १० हजार मेगावाट विद्युत् छिमेकी मुलुकबाट किन्ने भनिसकेको छ । त्यसमा अधिकांश विद्युत् नेपालबाटै किन्ने हो । किनकि, बंगलादेशले खोजेको स्वच्छ ऊर्जा हो, जुन नेपालमा पर्याप्त छ । 

उता भारतमा पनि अधिकांश विद्युत् कोइलाबाट उत्पादन हुन्छ । त्यसले पनि वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छ । अतः भारतलाई पनि कोइला प्लान्ट बन्द गर्दै जानुपर्ने बाध्यता छ । स्वयं भारतले पनि नेपालबाट विद्युत् आयात गरिरहेको अवस्थामा बंगलादेशले भारतबाट विद्युत् किन्ने सवाल नै हुँदैन । 

यस्तै, अर्काे विकल्प भनेको भुटान हो । भुटानमा निर्यात नै गर्ने गरी पर्याप्त विद्युत् उत्पादन भएको छैन । त्यसमाथि भारत भुटानप्रति त्यति राम्रो मनस्थिति राख्ने छिमेकी होइन । यसरी हेर्दा भुटान र बंगलादेशबीच विद्युत् व्यापार गर्न राजनीतिक रूपमै समस्या आउन सक्छ । तर, भारत नेपालको शुभचिन्तक हो । त्यो अवस्थामा भारतीय भू्मिमार्फत नै बंगलादेशमा नेपाली विद्युत् पुर्‍याउन समस्या आउँछ जस्तो मलाई लाग्दैन । 

अहिले बंगलादेशमा गार्मेन्ट उद्योग र डिजेल प्लान्टलगायतका उद्योगबाट वातावरण प्रदूषण बढिरहेको छ । यसरी नै बढिरह्यो भने भोलिका दिनमा बंगलादेशलाई विश्वव्यापी रूपमै प्रदूषण कम गर्नुपर्ने दबाब आउन सक्छ । त्यसका लागि बंगलादेशले खर्बाैं डलर खर्च गर्नुपर्ने हुन सक्छ । र, त्यति धेरै पैसा ऊसँग नहुन पनि सक्छ । त्यसकारण पनि वातावरणमा हुने प्रदूषण कम गर्न बंगलादेशले नेपालको विद्युत् किन्छ । 

बंगलादेश ठूलो मात्रामा विदेशी मुद्रा सञ्चिति गर्ने मुलुक हो । आजका दिनमा ऊसँग झन्डै ४० अर्ब डलरबराबरको विदेशी मुद्रा सञ्चिति छ । यता नेपालमा गत असारसम्म नौ अर्ब ५४ करोड अमेरिकी डलर विदेशी मुद्रा थियो । यी कारणले पनि बंगलादेश बिजुली आयात गर्न डराउँदैन । 

बंगलादेशलाई हुने चार फाइदा : बंगलादेशले नेपालबाट विद्युत् किन्ने मात्र होइन, ऊर्जा विकासमा सहकार्य गर्ने गरी मन्त्री तथा सचिवस्तरबाट छलफल भइरहेको छ । नेपालसँग ऊर्जा सहकार्य गर्दा बंगलादेशलाई चारवटा फाइदा हुन्छन् । 

पहिलो फाइदा हो, बाढी नियन्त्रण । नेपालको पूर्वतिरको नदी बगेर बंगलादेश पुग्छ । वर्षात्मा यहाँ बाढी आउँदा स्वाभाविक रूपमा बंगलादेश पनि प्रभावित हुन्छ । त्यसलाई रोक्न उसले नेपालसँग सहकार्य गरी यहाँ ड्याम निर्माण गर्न सक्छ । जसले गर्दा त्यहाँ जाने बाढी यहीँबाट नियन्त्रण हुन्छ । दोस्रो फाइदा, सोही ड्याममा राखिएको पानीबाट हिउँदमा विद्युत् उत्पादन गर्न सकिन्छ, जुन उसैले पाउँछ । साथै, विद्युत्गृहबाट निस्केको पानीलाई बंगलादेशले सिँचाइका रूपमा समेत प्रयोग गर्न सक्छ, यो तेस्रो फाइदा भयो । स्वच्छ ऊर्जाको प्रयोग गर्दा बंगलादेशमा हुने वातावरणीय प्रदूषण कम हुन्छ, यो उसका लागि चौथो फाइदा हो । त्यसकारण पनि उसले नेपालसँग ऊर्जा सहकार्य गर्छ र यहाँको विद्युत् किन्छ । 

बंगलादेशको बजार बढी फाइदाजनक  ः नेपालमा उत्पादित विद्युत्को पहिलो बजार भारत नै हो, अनि मात्रै बंगलादेश । तर, मूल्यका आधारमा भने बंगलादेशको बजार फाइदाजनक छ । भारतमा दिउँसो सोलारबाट सजिलै विद्युत् उत्पादन गर्न सकिन्छ । अभाव भनेको पिकआवर तथा रातको समयमा मात्रै हो । तर, त्यहाँको औसत मूल्यदर धेरै हुँदैन । बंगलादेशसँग विद्युत् उत्पादन गर्ने अन्य आधार छैन । यी विभिन्न कारणले पनि नेपालले बंगलादेशमा बिजुलीको उचित मूल्य पाउन सक्छ । 

यसकारण भारतले सहयोग गर्नुपर्छ  ः बंगलादेशमा विद्युत् निर्यात गर्दा भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ । यसमा भारतले सहयोग गर्छ कि गर्दैन भन्ने प्रश्न पनि आइरहेको छ । मेरो विचारमा भारतले सहयोग नगर्ने भन्ने हुँदैन । कारण, गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा आइबिबिएन (भारत–भुटान–बंगलादेश–नेपाल) को अवधारणामा ऊर्जा सहकार्य गर्ने सहमति भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै बंगलादेशमा नेपाललाई विद्युत् व्यापार गर्न सहयोग गर्ने उल्लेख गरेका छन् । यसैले आत्तिनुपर्ने अवस्था छैन । 

नेपालले अब के गर्नुपर्छ ? : बंगलादेशका यी र यस्ता अवस्थाका कारण त्यहाँ नेपाली बिजुलीको बजार ठूलो छ । तर, बजार आफैँ बिजुली खोज्दै भने आउँदैन । त्यहाँ विद्युत् पुर्‍याउन नेपाल सरकार आफैँ तातिनुपर्ने थियो, तर त्यसो भएको छैन । अब नेपाल सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने लक्ष्य राख्नुपर्छ । १० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्यौँ भने वार्षिक सवा तीन खर्ब रुपैयाँ (प्रतियुनिट ७.२२ सेन्ट डलरको आधारमा) आम्दानी गर्न सकिन्छ, जसको भ्यालु एडिएसन ९५ प्रतिशत छ । यसले नेपालको वैदेशिक व्यापार तथा अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँछ । 

तत्काल बंगलादेशले नेपालबाट ७५० मेगावाट विद्युत् किन्ने भनेको छ । हामीले प्रसारण लाइन भने हजारौँ मेगावाट विद्युत् प्रवाह गर्न सक्ने बनाउनुपर्छ । अहिले ७५० मेगावाट विद्युत् किन्ने हो भन्दैमा कम क्षमताको बनाइनु हुँदैन । दीर्घकालीन सोच राखेर पाँचदेखि १० हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने बनाउनुपर्छ । 
यसरी हेर्दा नेपालमा उत्पादित विद्युत्को पर्याप्त बजार तय भइसकेको छ । यद्यपि, उत्पादन भने त्यसअनुसार भइसकेको छैन । तसर्र्थ, अब उत्पादन विशेष गरी ठूला आयोजना निमार्णमा जोड दिनुपर्छ । त्यसमा इडिएफ, हाइड्रो फोबिकजस्ता विश्वका ठुल्ठूला कम्पनीलाई भित्र्याउनुपर्छ । 

निजी क्षेत्रलाई पनि बाटो खुला हुनुपर्छ  ः विगतमा विदेशीले निर्माण गर्ने भनिएका नेपालका अधिकांश आयोजना सरकारी माध्यमबाट बनाउन खोज्दा ढिलाइ भएको देखिन्छ । त्यसमा निजी क्षेत्र संलग्न भएको भए ढिला हुने थिएन । सरकारले यस्ता अनुभवको उचित मूल्यांकन गरेर बंगलादेशमा विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई अघि सार्नुपर्छ । र, बंगलादेशमा पनि निजी क्षेत्र नै अघि हुनुपर्छ । त्यो मोडेलमा काम गरियो भने नेपाल–बंगलादेशको विद्युत् व्यापारले छिटै फड्को मार्छ । र, सरकारले लिएको लक्ष्य प्राप्ति हुन पनि समय लाग्दैन । 

ऊर्जा उद्यमी प्रधान स्वतन्त्र ऊर्जा उत्पादकहरूको समूह (इप्पान)का पूर्वअध्यक्ष हुन्

ad
ad