दाङमा अज्ञात समूहले टिपरमा आगजनी गरेको छ । घोराहीबाट सिसहनियाँ जाँदै गरेको रा.१ख १६९४ नम्बरको टिपरमा मंगलबार बिहान आगजनी गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार लामो समय पार्किङमा राखिएको गाडी एकाएक मंगलबार चलाएर सिसहनियाँ लैजान खोज्दा आगजनी भएको हो ।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराही- ३ कुइरेपानीको बबई पुलनजिक गाडी आगजनी भएको छ । आज विप्लव नेकपासहित चार राजनीतिक दलले नेपाल बन्द आह्वान गरेका छन् । लामो समय पार्किङमा राखिएको गाडी आज चलाउनु शंकास्पद भएकाले सोही टिपरका चालक अरुण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । ‘सोही समयमा अन्य गाडीहर पनि आवतजावत गरिरहेको देखिन्छ,’ उनले भने, ‘तर, यही टिपरलाई मात्रै किन टार्गेट गरियाे भनेर शंकास्पद लागेपछि अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिएका छौँ।’
गाडी बन्दकर्ताले जलाएका हुन् वा अरू कसैले जलाएको हाे भन्नेबारेमा पुष्टि भइनसकेको प्रहरीकाे भनाइ छ । मंगलबार बिहान पौने ५ बजेतिर टिपरमा आगजनी गर्दा अगाडिको भाग जलेर नस्ट भएकाे छ । सो गाडी घोराहीनिवासी धनेश्वर भण्डारीको रहेको प्रहरीले बताएको छ ।