मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ ७ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ७ मंगलबार o८:५२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ओलीको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सत्तागठबन्धन किन बोल्दैन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ७ मंगलबार o८:५२:oo

एमाले अध्यक्ष केपी ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको मिचिएको नेपालको भूभागका विषयमा सत्तारूढ दलका शीर्ष नेताहरू मौन बसेको आरोप लगाएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मौन बसेको आरोप लगाएका हुन् । 

‘गठबन्धनको हेर्नुस् त म्याउँम्याउँ । यिनीहरूले लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे बोल्न सक्छन् ? म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु,’ ओलीले प्रश्न गरे, ‘सम्माननीय प्रधानमन्त्रीजी तपाईंको भूमि, तपाईंको पश्चिमको नक्सा, तपाईंको प्रदेश, तपार्इंको जिल्ला डडेल्धुराभन्दा एक जिल्ला परतिर कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको हो कि होइन ?’ 

पछिल्लो भारत भ्रमणमा माओवादी अध्यक्ष प्रचण्डले पनि मिचिएको नेपाली भूभागको मुद्दा नउठाएको भन्दै ओलीले उनको मौनतामाथि पनि प्रश्न उठाए । ‘प्रचण्डजी लिम्पियाधुरा, कालापानी, लिपुलेक कसको हो ? बोल्नुस् । अस्ति जाँदा किन चुइँक्क बोल्नुभएन ?’ ओलीले भने, ‘माधव नेपाल भन्ने अर्को हुनुहुन्छ, उहाँ पनि बोल्नुस् ।’ ओलीले सोमबारै पूर्वमन्त्री तथा जसपाका तत्कालीन उपाध्यक्ष दानबहादुर चौधरी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर तथा माओवादी नेता आसमान तामाङसहितलाई एमाले प्रवेश गराए ।