नेपाल धितोपत्र बोर्डले आइपिओ (साधारण सेयर) भर्दा पाँच रुपैयाँभन्दा बढी आस्बा शुल्क लिन नपाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्ड बैठकले आइपिओमा आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाले लिन पाउने आस्बा शुल्क निर्धारण गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूबाट लिने पाँच रुपैयाँमध्ये एक रुपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र तथा निष्कासन तथा बिक्री कम्पनीलाई, एक रुपैयाँ सिडिएसी एन्ड क्लियरिङ लिमिटेडलाई र बाँकी तीन रुपैयाँ आस्बा सदस्यले प्राप्त गर्नेछ । सर्वसाधारणलाई सबैभन्दा बढी भार आस्बा शुल्कमा परेको भन्दै घटाउने निर्णय गरिएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए । उनले भने, ‘आस्बा शुल्क घट्दा लगानीकर्तालाई ठूलो राहत हुनेछ, आवेदन दिएर पनि सेयर नपर्ने पैसा मात्र काट्नेको संख्या बढ्दै गएकाले पनि यो घट्नु अपरिहार्य छ, यसलाई अझै थप के गर्न सकिन्छ गर्नेछौँ ।’
बैंक तथा वित्तीय संस्थाले आइपिओ भर्दा १० रुपैयाँदेखि एक सय रुपैयाँसम्म लिँदै आएका थिए । ६ वटा वाणिज्य बैंकले १० रुपैयाँ, आठ वाणिज्य बैंकले २० रुपैयाँ, तीन बैंकले २५ रुपैयाँ, ग्लोबल आइएमई बैंकले १५ रुपैयाँ र स्ट्यान्र्डर्ड चार्टर्ड बैंकले सय रुपैयाँसम्म शुल्क लिने गरेका थिए । सिडिएससीका अनुसार हालसम्म ५५ वटा बैंक तथा वित्तीय संस्थाले आस्बा सेवा दिँदै आएका छन् ।
नेपाल मर्चेन्ट बैंक एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले शुल्क घटेको बोर्डबाट आधिकारिक धारणा आएपछि मात्र यस विषयमा निर्णय लिन सकिने बताए । बोर्ड बैठकबाटै निर्णय भइसकेपछि कार्यान्वयनमा जाने नेपाल धितोपत्र बोर्डका सूचना अधिकारी अम्बिका गिरीले बताए । उनले भने, ‘निर्णय भएको आधिकारिक नोट प्रकाशित गर्छौँ, सोहीअनुसार अनुमति पाएका बैंक तथा वित्तीय संस्थाले सूचना निकाल्ने र कार्यान्वयनमा ल्याउनेछन् ।’