१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ६ सोमबार
  • Friday, 01 November, 2024
नेता प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
२o७९ भदौ ६ सोमबार o६:२५:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सादगी नेताको ससम्मान बिदाइ,कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ६ सोमबार o६:२५:oo

कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको विशेष राजकीय सम्मानका साथ आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । राज्यलाई पुर्‍याएको विशेष योगदानको कदर गर्दै गृह मन्त्रालयले उनलाई विशेष राजकीय सम्मान दिने निर्णय गरेको थियो । उपचारका क्रममा गिरिको शुक्रबार बेलुकी साढे ९ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो । 

‘राज्यलाई विशेष योगदान दिने विशिष्ट व्यक्तिलाई त्यस्तो योगदान दिने गरिएको छ,’ गृहप्रवक्ता फणीन्द्रमणि पोखरेलले नयाँ पत्रिकासँग भने, ‘उहाँको त्यही योगदानको सम्मान गर्दै गृह मन्त्रालयले विशेष सम्मान दिएको हो ।’ आर्यघाटमा गिरिलाई नेपाल प्रहरीको एक टुकडीले विशेष सम्मान प्रदान गरेको थियो । गिरिलाई छोरा सन्तोष तथा भतिजाहरू प्रन्ययन र सन्दर्भले दागबत्ती दिए । त्यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले गिरिप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाणलगायतका मन्त्रीहरू, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका कांग्रेस नेता÷कार्यकर्ता, तथा अन्य दलका विभिन्न नेता र गिरिका शुभचिन्तकले अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । 

पशुपति आर्यघाट ल्याइनुअघि गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान साढे ११ बजेदेखि साढे दुई बजेसम्म सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय परिसरमा राखिएको थियो । त्यसअघि बिहान ११ बजेसम्म मेडिसिटी अस्पताल परिसरमा राखिएको थियो । सानेपा पार्टी मुख्यालय पुगेर देउवा, पौडेल, खड्का, गुरुङले गिरिलाई पार्टीको झन्डा ओढाएका थिए । कांग्रेस तथा अन्य राजनीतिक दलका नेता र शुभचिन्तकले पार्टी कार्यालयमा पनि पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन राजधानीभित्रका विभिन्न स्थान तथा राजधानीबाहिरबाट पनि शुभचिन्तक र कांग्रेस कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए । काभ्रे तिमालकी ४३ वर्षीया सीता केसी आइतबार २ बजे मलिन अनुहार लगाउँदै पशुपति आर्यघाट आइपुगेकी थिइन् । उनले आफ्ना प्रिय नेता गिरिको शनिबार राति निधन भएको खबर आइतबार बिहान मात्रै थाहा पाएकी थिइन् । लगत्तै काठमाडौं हिँडेकी उनी आर्यघाट पुग्नुअघि गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस केन्द्रीय कार्यालय पनि पुगेकी थिइन् । ‘बेलुका चाँडै सुतेकाले थाहा भएन । बिहान उठ्दा प्रिय नेताको निधनको खबर सुनेर असैह्य पीडा भयो । त्यसपछि सबै काम छाडेर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं आइपुगेँ,’ केसीले नयाँ पत्रिकासँग भनिन् । उनीजस्ता थुप्रै शुभचिन्तक आर्यघाटमा भेटिएका थिए । 

देउवाको अनुहारमा पीडा र छटपटी
प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पीडा र छटपटीमा देखिन्थे । बिहान पार्टी कार्यालयमा पुगेका देउवाले त्यहाँ पनि निकै समय बिताएका थिए । पछि साढे तीन बजे पशुपति आर्यघाट आइपुगेका उनी पाँच बजेर २० मिनेटसम्म त्यहाँ रहे । गिरिलाई दागबत्ती दिइएपछि मात्र उनी त्यहाँबाट बाहिरिएका थिए । उनी निकै समय उभिएरै गिरिको अनुहार हेरिरहेका देखिन्थे । गिरि, कांग्रेसभित्र देउवालाई कडा आलोचना गर्न सक्ने नेता थिए । कांग्रेस विभाजनपछि देउवाले आफ्नो नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन गर्दा गिरि पनि देउवासँगै गएका थिए । पार्टी एकतापछि कांग्रेस फर्कँदा पनि गिरि देउवासँगै थिए । देउवाले व्यक्तिगत लोभ र स्वार्थ नराखी आलोचना गर्ने र सुझाव दिने एक असल सहयात्री गुमाएका थिए । 

न लाग्यो भारतको उपचार, न मेडिसिटीबाट सकुशल फर्किए
घाँटीको क्यान्सरले समस्या दिन थालेपछि गिरि करिब एक वर्षअघि भारतको मुम्बईमा उपचारका लागि गएका थिए । करिब एक वर्ष त्यहाँ उपचार गराए । गत साउन दोस्रो साता नेपाल फर्किएका गिरि लगत्तै बिरामी परे । निमोनियाले सताएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनको क्यान्सर रोग विशेषज्ञ डा. पंकज वर्मनसहितको टोलीले उपचार गरिरहेको थियो । तर, घाँटीको क्यान्सर शरीरका अन्य भागमा पनि फैलिँदै गएकाले उनको स्वास्थ्यमा सुधार हुन नसकेको डा. वर्मनले बताए । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि बिहीबारबाट उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो । अन्ततः शनिबार राति साढे ९ बजे गिरिले अन्तिम सास लिए । 

पिता मित्रलाल र माता पुण्यप्रभाको कोखबाट वि.सं. २००४ असोज २४ गते गोवर्धन पूजाका दिन गिरिको जन्म भएको थियो । सिराहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनलाई समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेताको रूपमा लिने गरिन्थ्यो । 

उनको अध्ययन, अनुसन्धान तथा लेखनमा रुचि थियो । उनले राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेलजीवन बिताएका थिए । उनमा दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता थियो । हरेक राजनीतिक आन्दोलनमा उनको सक्रिय सहभागिता थियो । उनका लेनिन (जीवनी), नारी, माक्र्सवाद र अर्थशास्त्रलगायत एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित भएको समय बनारसबाट नेपाली कांग्रेसमा आबद्ध भएका थिए । तत्पश्चात् उनी पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतविरुद्ध निरन्तर संघर्षरत रहँदै आएका थिए । सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिने क्रममा उनी पटक–पटक जेल र निर्वासनमा समेत परेका थिए । उनी कांग्रेसमा मात्रै नभई नेपाली र विदेशी राजनीतिक समकक्षीबीच समेत लोकप्रिय थिए । 

उनी विशेषगरी ०१७ को घटनाक्रमपछि राजनीतिमा सक्रिय बन्न पुगेका थिए । त्यसक्रममा ०२४ मा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए । ०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित गिरि संविधानसभा सदस्य निर्वाचन, ०६४ मा कांग्रेसबाट समानुपातिक सभासद् भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचन, २०७० मा पनि कांग्रेसबाट समानुपातिक सभासद् चयन भएका थिए भने संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन, ०७४ मा सिराहा १ बाट निर्वाचित बनेका थिए । उनी प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य थिए ।
 
कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने
गिरीको शोकमा कांग्रेसले तीन दिनसम्म पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान बसेको कांग्रेसको आकस्मिक कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गिरिप्रति उच्च सम्मान प्रकट गर्दै ५ भदौदेखि ७ भदौसम्म देशभरका पार्टी कार्यालयहरूमा झन्डा आधा झुकाउने र शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । 

कांग्रेसले गिरिको निधनले पार्टी र मुलुकलाई ठूलो क्षति पुगेको निष्कर्ष निकालेको छ । ‘महान् दार्शनिक नेता प्रदीप गिरिको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिंगो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै, कांग्रेसले भदौ ६ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३औँ दिन (१६ भदौ) सम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक–पुस्तिका राख्ने, १६ भदौमा देशभर शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ ।

कसले कसरी सम्झिए ?
राष्ट्रपति विद्यादेवी भण्डारी 

समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा
नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । 

सभामुख अग्नि सापकोटा 
सादा जीवन उच्च विचारको आदर्शलाई व्यवहारमा चरितार्थ गर्न सफल माननीय सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ ।

पूर्वप्रधानमन्त्रीहरू
केपी ओली 

चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रचण्ड
नेपाली राजनीतिका बौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । 


माधवकुमार नेपाल
नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारका क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ ।

डा. बाबुराम भट्टराई
४५ वर्षदेखिका अनन्य मित्र तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरिको निधनले स्तब्ध छु । उहाँसँगको लामो र गहन विमर्शका सुखद स्मृति सधैँ जीवित रहनेछन् । वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा उहाँको अभाव झन् खट्किरहनेछ । 

झलनाथ खनाल
निरंकुश राजतन्त्र तथा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, लोकतान्त्रिक आन्दोलन अघि बढाउन, राजतन्त्रविरोधी गणतन्त्र प्राप्तिको संघर्षमा र संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थित गर्न महत्वपूर्ण बौद्धिक योगदान गर्नुभएको छ । नेपाली जनता र राष्ट्रले एउटा वैचारिक–समाजवादी नेता गुमाएको छ । यो मुलुकका लागि अपूरणीय क्षति हो । 

 प्रदीप पौडेलको नजरमा प्रदीप गिरि - सधैँको प्रतिपक्ष

प्रदीप गिरी वैचारिक नेता हुनुहुन्थ्यो । आजको दिनमा राजनीतिमा विचारको ठूलो खडेरी छ । विचारसँग नजोडिई पनि राजनीतिमा जोडिने परिस्थिति बनिरहेको छ । तर, उहाँ विचारविना राजनीति सम्भव नै छैन भन्ने मान्यता राख्ने व्यक्ति हो । उहाँ वैचारिकतालाई प्रस्ट्याउने र कांग्रेसको समाजवादी मार्गनिर्देशक सिद्धान्त प्रस्ट ढंगले व्याख्या गर्ने र त्यसलाई कार्यान्वयन गर्ने हुटहुटी भएको नेता हो । उहाँलाई समाजवादी दृष्टिकोणसँग जोडेर हेर्दा मार्क्सवादबाट प्रभाावित भएको प्रस्ट ढंगले देखिन्छ । माक्र्सवादी आर्थिक दृष्टिकोणबाट उहाँ नजिक भएको आभास हुन्छ । मार्क्सवादी आर्थिक दृष्टिकोण नै समाजवादको आधार हो भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो । उहाँमा जुन किसिमको सिद्धान्त थियो, त्यसमा कहिल्यै विचलन आएन ।

राजनीतिक वा लोकतान्त्रिक अधिकारका विषयमा पनि उहाँको पूर्ण प्रतिबद्धता थियो । तर, आर्थिक दृष्टिकोणबाट उहाँ वामपन्थको सोचसँग सामीप्यता राख्नुहुन्थ्यो । उहाँले पछिल्लो पुस्तालाई असाध्यै प्रेरित गरिरहनुहुन्थ्यो । पार्टी बैठकमा हामीजस्ता कांग्रेसका पछिल्ला पुस्ताका युवाहरूको नामैै लिएर अगाडि बढ्न असाध्यै धेरै प्रेरित गर्नुहुन्थ्यो । उहाँमा आफ्नो विरोध गर्नेलाई व्यवहारले बढी माया गरेजस्तो देखिन्थ्यो । विरोध गर्‍यो भनेर रिस गर्ने र प्रतिशोध भावना कहिल्यै राख्नुभएन । 

पुँजीवादको असाध्यै प्रभाव बढेको यो समयमा उहाँको विचार बोक्ने कुरा एकदमै गतिशील ढंगले हुन्छ भन्न त म सक्दिनँ, तर समाजको उन्नति नभई, कमजोर वर्गका निम्ति राज्य सहयोगी नबनी लोकतन्त्रको विकास हुन सक्दैन भन्ने उहाँको मान्यता थियोे र यो नै यथार्थ हो भन्ने लाग्छ । उहाँको असाध्यै प्रस्ट विचार थियो र यसका लागि असाध्यै धेरै अध्ययनको आवश्यकता पर्छ । नेपालको समकालीन राजनीतिमा कुनै कम्युनिस्ट नेताबाट माक्र्सवादी चिन्तनको सकारात्मक ढंगबाट व्याख्या गर्ने अवस्था छैन । हुनचाहिँ उहाँ लोकतान्त्रिक समाजवादीको पक्षपाती हो । त्यो कित्ताबाट त्यति नै प्रखर व्यक्ति जन्मन समय लाग्छ । उहाँको समय थप प्राप्त गर्न सकेको भए पछिल्लो पुस्ताले उहाँबाट धेरै कुरा सिक्ने, उहाँले पछिल्लो पुस्तालाई समाजबारे धेरै कुरा बुझाउने अवसर प्राप्त हुन्थ्यो । समयको आवश्यकता हुँदाहुँदै पनि उहाँको छिटो अन्त्य भयो । 

कम्युनिस्ट विचार बोक्नेभित्र वैचारिक रूपले प्रस्ट्याउने क्षमता नभएका कारण प्रदीप नै बढी सान्दर्भिक बन्दै जानुभएको थियो । कम्युनिस्ट पार्टी र कम्युनिस्ट कार्यकर्ताभित्र पनि उहाँ लोकप्रिय हुनुहुन्थ्यो । विचार, दृष्टिकोणबाट प्रस्ट रूपमा व्याख्या गर्न सक्ने योग्य प्रदीप गिरिसरह कोही पनि कम्युनिस्ट नेता छैनन् । त्यो नेपालको कम्युनिस्ट आन्दोलनले बुझेको स्थिति छ भन्ने लाग्छ । कम्युनिस्ट संघसंस्थाले बोलाउँदा पनि उहाँ खुसीसाथ जानुहुन्थ्यो र आफ्ना विचार प्रस्ट रूपमा राख्न सक्नुहुन्थ्यो । सञ्चारमाध्यममा पनि उहाँका धेरै विचार सार्वजनिक भएका छन् । त्यसले उहाँको पहिचान साझा व्यक्तिका रूपमा नै कायम गराएको थियो । 

सत्ताबाट टाढा रहनुको कारण उहाँले स्पष्ट पार्नुभएको थियो । उहाँ भन्नुहुन्थ्यो– ‘मैले जुन सिद्धान्तमा विश्वास राख्छु, मैले जे भनिरहेको छु, त्यो सत्तामा गएर कार्यान्वयन गर्ने परिस्थिति छैन । र, मेरा विचारसँग सहमत हुनेहरू छैनन् । सरकारमा जाँदा टिमवर्क गर्नुपर्छ । टिमवर्क गर्न त आफ्नो विचारसँग सहमत हुने मान्छे ठीक हुनुपर्छ ।’ त्यो ठीक नभएका कारण सत्तामा जाने विषयमा उहाँ रुचि राख्नुहुन्थेन । उहाँ कांग्रेसभित्रै बसे पनि वैचारिक बहस गर्ने पक्षबाट हेर्दा त प्रतिपक्ष हो । सरकारसँग सधैँ प्रतिपक्ष हो । उहाँले एकदमै सालीन ढंगबाट भन्नुहुन्थ्यो । त्यसैले उहाँ पार्टीभित्र पनि सधैँ संस्थापनबाट बाहिर रहनुभयो । कांग्रेसमा बिपी कोइरालापछि वैचारिक पक्ष विकसित गर्ने सन्दर्भमा उहाँको महत्वपूर्ण योगदान छ ।

नेतृत्व समयले जन्माउने हो । उहाँले राख्नुभएको विचार अहिले पनि असान्दर्भिक छैन । लोकतान्त्रिक समाजवादमा भुइँमान्छेहरूकोे पक्षमा राजनीतिक दृष्टिकोण निर्माण गर्ने उहाँको भनाइ हो । त्यो नै आज पनि सान्दर्भिक हो । तर, विचार र सिद्धान्त बोक्ने नभएकै कारण त्यो सिद्धान्त ओझेलमा परेको हो । अहिले स्वार्थ र पदका निम्ति मात्रै लाग्ने खालको परिस्थिति छ । उहाँको जस्तो व्यक्तित्व भयो र राजनीतिमा उहाँजस्तो सोच भएका मान्छेको उपस्थिति रह्यो भने मात्रै राजनीति विचार र सिद्धान्तसँग जोडिन सक्छ । शक्ति र सत्ताको लालचमा राख्ने परिस्थिति नहुन पनि उहाँकै विचार हाबी हुनुपर्छ ।