अस्ट्रेलिया, स्कटल्यान्ड सम्मिलित समूह ‘डी’मा नेपालले पहिलो खेल ५ माघमा बंगलादेशसँग खेल्दै
कप्तान पूजा महतोले आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा सानदार प्रदर्शन गर्ने बताएकी छिन् । कप्तान पूजाले एसिया कपमा टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको स्मरण गर्दै विश्वकपका लागि राम्रो तयारी भएको बताएकी हुन् । ‘विश्वकपअघि राम्रो तयारी भएको छ । चितवनमा भएको तयारीबाट टोलीको आत्मबल राम्रो भएको छ । काठमाडौंमा पनि केही दिन अभ्यास गर्यौँ,’ पूजाले भनिन्, ‘एसिया कपमा पाकिस्तानलाई हराएपछि पनि हामी सक्छौँ भन्ने छ ।’
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार मलेसिया जाने टिमलाई बिदाइ पनि गरेको छ । बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक महेशप्रसाद रिजालले तयारी राम्रो भएको बताएका छन् । ‘तयारी राम्रो गरेका छौँ । विश्वकप खेल्न खेलाडी तयार छन् ।’
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । बिदाइ कार्यक्रममा उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, महिला सिनियर टोलीकी कप्तान इन्दु बर्मालगायतको उपस्थिति थियो । नेपाली टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ । विश्वकप माघ ५ देखि २० सम्म मलेसियामा हुँदै छ ।
उपकप्तान सोनी पाख्रिनले तयारी राम्रो भएको र यसको नतिजा आउने बताइन् । ‘हामीले तयारी राम्रो गर्यौँजस्तो लाग्छ । नतिजा भने मलेसियामै देखाउनेछौँ,’ सोनीले भनिन्, ‘हामी ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौँ ।’ उपकप्तान सोनीले एकैपटक एसिया कप र विश्वकप खेल्न पाउँदा भाग्यमानी रहेको समेत बताइन् । नेपाल पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । पहिलोपटक सन् २०२३ मा भारत च्याम्पियन बन्दा नेपाल छनोट हुन असफल भएको थियो । सन् २०२७ को विश्वकप भने नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्नेछन् ।
पहिलो खेल बंगलादेशसँग
१६ टोली सहभागी हुने विश्वकपमा नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसहित टेस्ट राष्ट्रहरू अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालका लागि बंगलादेशबाहेक अन्य नयाँ प्रतिद्वन्द्वी हुन् । नेपालले ५ माघमा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । यसैगरी, नेपालले ७ माघमा स्कटल्यान्ड र ९ माघमा अस्ट्रेलियासँग खेल्ने तालिका छ । हरेक समूहका शीर्ष तीन टिम सुपर १६ मा पुग्नेछन् । यसबाट शीर्ष चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रबिन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, किरणकुमारी कुँवर, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत