मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८१ पौष २७ शनिबार o९:२३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुलिँदै मूल्यवृद्धि

भदौमा ३.८६ प्रतिशत रहेको मूल्यवृद्धिदर मंसिरमा ६.०५ प्रतिशत पुग्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार o९:२३:oo

चालू आवको पाँच महिनामा गत आवको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले मात्र रेमिट्यान्स बढ्यो, जब कि गत आवमा यस्तो वृद्धिदर  २७.६ प्रतिशत थियो

चालू आवको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोडको रेमिट्यान्स भित्रिएको छ । गत आवको पहिलो पाँच महिनाको तुलनामा रेमिट्यान्स ४.४ प्रतिशतले मात्रै बढेको छ । गत आवको सोही अवधिमा ६ खर्ब १३ अर्ब २५ करोडको रेमिट्यान्स आएको थियो । यद्यपि, सो अवधिमा वृद्धिदर २७.६ प्रतिशत थियो । यसले रेमिट्यान्स वृद्धिदर घट्दै जाने जोखिम देखिएको छ । बढ्दो रेमिट्यान्सले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिँदै गइरहेको छ । त्यसैले कर्जाको ब्याजदर सस्तो भएको हो । 

आगामी दिनमा रेमिट्यान्सको वृद्धिदर घट्दै जाने र पोहोरभन्दा कम रेमिट्यान्स भित्रिने अवस्था आएमा लगानीयोग्य पुँजीको जोखिम बढेर कर्जाको ब्याजदर पनि बढ्न सक्छ । त्यसैले अहिले सस्तो ब्याजदरमा कर्जा लिएर लगानी गर्ने अवसर रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।  

बढ्दो आयात, घट्दो रेमिट्यान्स वृद्धिदर र चुलिँदो मूल्यवृद्धि दरले अर्थतन्त्र चलायमान हुने संकेत दिएको नेपाल राष्ट्र बैंकका अधिकारीहरूको आकलन छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार बाह्य क्षेत्रको सुविधाजनक स्थिति लामो समय कायम नरहने देखिन्छ । केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले निजी क्षेत्रले सस्तो ब्याजदरको लाभ तत्काल उठाइसक्ने समय आएको बताए । उनले भने, ‘अब तत्काल निजी क्षेत्रले कर्जा लिएर लगानी बढाउन नसके अहिले पाइरहेको बाह्य क्षेत्रको सुविधा पछि पाउन नसक्ने जोखिम बढेको छ ।’

पोहोरको जस्तो रेमिट्यान्सको वृद्धिदर नरहेको, आयात बढ्दै गइरहेको र मुद्रास्फीति पनि चुलिँदै गइरहेकाले तत्काल लगानी गरेर लाभ उठाइहाल्नुपर्ने उनको भनाइ छ । अहिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ३.५ प्रतिशतले विस्तार भएको छ ।

पाँच महिनामा एक खर्ब ७८ अर्ब २९ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा एक खर्ब १० अर्ब एक करोड (२.३ प्रतिशत बढी) कर्जा प्रवाह भएको थियो ।

तरकारीमा ४३% मूल्यवृद्धि
चालू आर्थिक वर्ष ०८१÷८२ को पछिल्लो चार महिनायता (भदौयता) मूल्यवृद्धिदर (मुद्रास्फीति) चुलिँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकको तुलनामा मंसिरमा मुद्रास्फीति थप चुलिएको हो । 

भदौमा ३.८६ प्रतिशत, असोजमा ४.८१ प्रतिशत, कात्तिकमा ५.६ प्रतिशत पुगेको मुद्रास्फीति मंसिरमा ६.०५ प्रतिशत कायम भएको छ । पाँच महिनाको औसत मुद्रास्फीति ४.८८ प्रतिशत छ । 

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घिउ तथा तेलको ९.३९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.१८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.८३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ता–चप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ । मंसिरमा ग्रामीण क्षेत्रको मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा मंसिरमा कोशी प्रदेशको मुद्रास्फीति ७.३६ प्रतिशत छ । मधेश प्रदेशको ६.७७ प्रतिशत छ भने बागमती प्रदेशको ५.८४ प्रतिशत छ । गण्डकी प्रदेशको ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशको ५.५३ प्रतिशत, कर्णाली प्रदेशको ४.१९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६६ प्रतिशत छ । यो महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८२ प्रतिशत, तराईको ६.३१ प्रतिशत, पहाडको ५.६५ प्रतिशत र हिमालको ६.५८ प्रतिशत छ ।

चालू खाता एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा
लगातार बढिरहेको चालू खाता बचतमा ब्रेक लाग्न थालेको छ । पाँच महिनामा चालू खाता एक खर्ब ४० अर्ब ७१ करोडले बचतमा छ । गत आवको सोही अवधिमा चालू खाता एक खर्ब ४१ अर्ब तीन करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६ करोडले बचतमा रहेको चालू खाता चालू आवको सोही अवधिमा एक अर्ब चार करोडले बचतमा छ । 

चालू आवको पाँच महिनामा कुल वस्तु आयात ३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने भारतबाट ४ प्रतिशत र चीनबाट ४.६ प्रतिशतले बढ्दा आयात वृद्धि भएको हो । 

आयात बढेसँगै निर्यात पनि बढेको छ । चालू आवको पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले बढेर ७३ अर्ब ६६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १६ अर्ब पाँच करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६७ करोडले बचतमा छ ।

०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले बढेको छ । मंसिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा मंसिर मसान्तमा ९.७ प्रतिशतले बढेर १६ अर्ब ७६ करोड पुगेको छ । विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

सेवा आय घाटा दोब्बरले बढ्यो
चालू आवको पाँच महिनामा खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा देखिन्छ । गत आवको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गतको भ्रमण आय ३.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा भ्रमण आय ३५ अर्ब १९ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत विदेश जाने नेपालीको भ्रमण खर्च १२.२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा ८५ अर्ब एक करोडको भ्रमण खर्च भएको छ । यसमध्ये शिक्षाको अवसरमा बिदेसिने नेपालीको खर्च ४७ अर्ब ४१ करोड छ । गत आवको सोही अवधिमा भ्रमण खर्च ७५ अर्ब ७३ करोड रहेकोमा शिक्षातर्फको खर्च ४७ अर्ब ३४ करोड थियो ।

बाह्य क्षेत्रको सुविधा लामो समय कायम नरहने संकेत : डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
कर्जा विस्तार धेरै हुन नसक्दा ब्याजदर अझै तल आएको छ । यो निजी क्षेत्रलाई लगानी गर्ने अवसर पनि हो । तर, अहिलेको बैंक तथा वित्तीय संस्थाको अधिक तरलता लामो समयसम्म कायम हुने देखिन्न । रेमिट्यान्सको वृद्धिदर घटेको र आयात बढेको छ । मुद्रास्फीति पनि बढेको छ । पाँच महिनाको तथ्यांकको प्रवृत्तिले निजी क्षेत्रले अहिले पाइरहेको सस्तो ब्याजदर र बैंक तथा वित्तीय संस्थाको अधिक तरलताको सुविधा लामो समय कायम नरहने जोखिम देखिन्छ । त्यसैले यो वेलैमा लगानी गरेर लाभ उठाउने समय हो ।