मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
२o८१ पौष २७ शनिबार ११:o४:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यी हुन् टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार ११:o४:oo

पछिल्ला दशकहरूमा टी–२० र एकदिवसीय क्रिकेटको लोकप्रियता बढिरहँदा भारत र अस्ट्रेलियाको खेलपछि टेस्ट क्रिकेट पनि निकै चर्चित बन्यो । आइसिसी टेस्ट च्याम्पियनसिपमा दुई महारथी देशबिच प्रतिस्पर्धा हुँदा निकै कीर्तिमान पनि बनेका छन् । बक्सिङ डे अवसरमा भएको खेल हेर्न कीर्तिमानी दर्शक मैदानमा पुगेका थिए । विश्वभर यो खेल हेरिएको बताइन्छ । वास्तवमा खेलाडीको पहिचान नै टेस्ट क्रिकेटमा पाइन्छ । चार इनिङ्सलाई पाँच दिन लगाएर खेलिने टेस्ट क्रिकेटका लागि विभिन्न देशलाई आइसिसीले फरक सदस्यता दिएको छ । विश्व क्रिकेटका महारथी १२ देश अहिले टेस्ट क्रिकेट खेल्छन् । त्यसमध्ये नौ देशले टेस्ट च्याम्पियनसिप खेलिरहेका छन् । यसपटक अस्ट्रेलिया र दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हालसम्म टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाएका खेलाडी यस्ता छन् :

सचिन तेन्दुलकर
खेल : २००, शतक : ५१

भारतीय महान् क्रिकेटर सचिन तेन्दुलकर टेस्ट क्रिकेटमा सर्वाधिक ५१ शतक बनाउने पहिलो खेलाडी हुन् । सन् १९८९ देखि २०१३ सम्म उनले दुई सय टेस्ट क्रिकेट खेलेका छन् । जसमा ५१ पटक शतक बनाउँदा ६८ पटक अर्धशतक बनाएका छन् । समग्रमा उनले १५ हजार नौ सय २१ रन बनाएका छन् । सबैभन्दा धेरै एकै इनिङमा अविजित दुई सय ४८ रन बनाएका हुन् । सिड्नीमा उनले अस्ट्रेलियाविरुद्ध सन् २००४ मा दोहोरो शतक बनाएका हुन् । तेन्दुलकरले करिअरका दुवै दोहोरो शतक अस्ट्रेलियाविरुद्ध बनाएका हुन् । टेस्ट क्रिकेट करिअरमा उनले ६९ छक्का प्रहार गर्दा चौका भने दुई हजारमाथि प्रहार गरेका छन् । 

रिकी पोन्टिङ
खेल : १६८, शतक : ४१

अस्ट्रेलियन शीर्ष क्रमका ब्याटर टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीमा तेस्रो नम्बरमा छन् । दायाँहाते ब्याटरले एक सय ६८ खेलमा ४१ पटक शतक बनाएका छन् । हाल प्रशिक्षकको भूमिकामा रहेका पोन्टिङले सन् १९९५ देखि २०१२ सम्म टेस्ट खेले । यस क्रममा ४१ शतक बनाउँदा ६२ पटक अर्धशतक बनाएका छन् । १७ वर्ष अस्ट्रेलियन क्रिकेटमा राज गर्दा १३ हजार तीन सय ७८ रन बनाएका छन् । त्यस क्रममा एक हजार पाँच सय नौ चौका र ७३ छक्का छन् । सन् १९९५ को पहिलो टेस्टमै उनले ९६ रन बनाएका थिए । पाकिस्तानविरुद्ध सन् १९९९ मा तीन रनले दोहोरो शतक बनाउन चुकेका पोन्टिङले सन् २००३ मा वेस्ट इन्डिजविरुद्ध दोहोरो शतक बनाएका हुन् । सन् २००३ मा भारतविरुद्ध एडिलेटमा सर्वाधिक दुई सय ५७ रन बनाएका थिए । भारतविरुद्ध मात्रै दुईपटक दोहोरो शतक बनाएका छन् । 

ज्याक कालिस
खेल : १६६, शतक : ४५

दक्षिण अफ्रिकाका सर्वकालीन महान् खेलाडी ज्याक कालिस सचिन तेन्दुलकरपछि सर्वाधिक शतक बनाउने दोस्रो खेलाडी हुन् । उनले सन् १९९५ देखि २०१३ सम्म एक सय ६६ खेल खेलेका छन् । जसमा ४५ शतक बनाउँदा ५८ अर्धशतक बनाएका छन् । यस क्रममा एक हजार चार सय ८८ पटक चौका र ९७ पटक छक्का प्रहार गरेका छन् । १८ वर्ष टेस्ट क्रिकेट खेल्दा १३ हजार दुई सय ८९ रन बनाएका छन् । पहिलो खेलमै भारतविरुद्ध शतक बनाएपछि उनी चर्चामा आएका थिए । श्रीलंकाविरुद्ध टेस्ट करिअरकै सर्वाधिक दुई सय २४ रन बनाएका छन् । सन् २०१२ मा उनी पहिलोपटक दोहोरो शतक बनाउन सफल भएका हुन् । भारतविरुद्ध पनि उनको नाममा दोहोरो शतक छ ।

कुमार सांगाकारा
खेल : १३४, शतक : ३८

श्रीलंकाका स्टार खेलाडी कुमार सांगाकाराले १५ वर्ष टेस्ट क्रिकेट खेले । यस क्रममा सर्वाधिक शतक बनाउने पहिलो श्रीलंकन तथा विश्वकै चौथो खेलाडी बनेका छन् । सन् २००० देखि २०१५ सम्म उनले एक सय ३४ खेल खेलेका छन्, जसमा ३८ शतक र ५२ अर्धशतक प्रहार गरे । समग्रमा १४ सय ९१ चौका र ५१ छक्का प्रहार गरेका हुन् । कुल रन भने १२ हजार चार सय रहेको छ । दक्षिण अफ्रिकाविरुद्ध डेब्यु खेलमा २३ रन बनाएका सांगाकाराले पहिलो शतक सन् २००१ मा भारतविरुद्ध बनाएका थिए । करिअरमा उनले नौपटक दोहोरो शतक बनाएका छन् । सन् २००२ मा पाकिस्तानविरुद्ध पहिलोपटक दोहोरो शतक बनाएका थिए । उनले बंगलादेश, भारत र पाकिस्तानविरुद्ध समान दुई तथा जिम्बाबे, दक्षिण अफ्रिका र न्युजिल्यान्डसँग समान एकपटक दोहोरो शतक बनाएका छन् । सन् २०१४ मा बंगलादेशविरुद्ध सर्वाधिक तीन सय १९ रन बनाएका थिए । 

जोई रुट
खेल : १५२, शतक : ३६

३३ वर्षका जोई रुटले सन् २०१२ देखि टेस्ट क्रिकेट खेलेका हुन् । वर्तमान समयमा समेत टोलीमै रहेका उनले एक सय ५२ खेलमा ३६ शतक बनाएका छन् । शीर्ष क्रमका ब्याटरले ६५ पटक अर्धशतक बनाएका छन् । यस क्रममा १३ सय ९४ चौका तथा ४५ छक्का प्रहार गरेका छन् । समग्रमा १२ हजार नौ सय ७२ रन बनाएका हुन् । पहिलो खेलमै उनी भारतविरुद्ध ७२ रन बनाउन सफल भएका थिए । सन् २०१३ मा पहिलोपटक न्युजिल्यान्ड्सविरुद्ध लिड्समा शतक बनाएका हुन् । सन् २०१४ मा श्रीलंकाविरुद्ध पहिलोपटक दोहोरो शतक बनाए । सन् २०१४ मा म्यानचेस्टरमा पाकिस्तानविरुद्ध, सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध, सन् २०२१ मा श्रीलंकाविरुद्ध, सन् २०२१ मै भारतविरुद्ध र सन् २०२४ मा पाकिस्तानविरुद्ध दोहोरो शतक बनाएका छन् ।

राहुल द्रविड
खेल : १६४, शतक : ३६

भारतीय पूर्वखेलाडी तथा प्रशिक्षक राहुल द्रविड टेस्ट क्रिकेटमा धेरै शतक बनाउने छैटौँ खेलाडी हुन् । उनले एक सय ६४ खेलमा ३६ शतक बनाएका छन् । सन् १९९६ देखि २०१२ सम्म खेल्दा उनले ६३ अर्धशतक बनाए । यस क्रममा १६ सय ५४ चौका र २१ अर्धशतक बनाएका छन् । समग्रमा १३ हजार दुई सय ८८ रन बनाएका हुन् । डेब्यु खेलमै उनले इंग्ल्यान्डविरुद्ध ९५ रन बनाएका थिए । पहिलो शतक दक्षिण अफ्रिकाविरुद्ध सन् १९९७ मा बनाएका हुन् । सन् २००० मा दिल्लीमै जिम्बाबेविरुद्ध पहिलोपटक दोहोरो शतक बनाएका हुन् । उनले करिअरमा चार दोहोरो शतक बनाएका छन् । सफल खेलाडीपछि उनी भारतीय टिमका मुख्य प्रशिक्षक पनि बने । 

स्टेभ स्मिथ
खेल : ११४, शतक : ३४

अस्ट्रेलियाका पूर्वकप्तान स्टेभ स्मिथ टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने सातौँ खेलाडी हुन् । उनले एक सय १४ खेलमा हालसम्म ३४ शतक बनाएका छन् । यस क्रममा ४१ अर्धशतक बनाउँदा ९ हजार ९ सय ९९ रन बनाएका छन् । ३५ वर्षीय पूर्वकप्तान स्मिथले श्रीलंकाविरुद्ध हुने खेलका लागि कप्तानी जिम्मेवारी पुनः पाएका छन् । पछिल्लो खेलमा भारतविरुद्ध उनले शतक नै बनाएका थिए । नियमित कप्तान प्याट कमिन्स विश्राममा रहेपछि स्मिथलाई जिम्मेवारी दिइएको छ । श्रीलंकाविरुद्ध उनी १० हजार रनको कोसेढुंगा पार गर्ने योजनामा छन् । सन् २०१० मा पाकिस्तानविरुद्ध लर्डस्मा डेब्यु गरेका स्मिथले तीन वर्षपछि मात्रै शतक बनाएका थिए । उनले तीनपटक टेस्टमा दोहोरो शतक बनाएका छन् । उनले १ हजार ९४ चौका र ५८ छक्का प्रहार गरेका छन् ।