मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Saturday, 11 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २७ शनिबार o९:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कानुनले तोकेको म्याद घर्किएको १५ दिनपछि अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार o९:२o:oo

बिमा ऐनले निर्धारण गरेको म्याद सकिएको १५ दिन बितेपछि नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ । ऐनअनुसार ११ पुसमा प्राधिकरणको अध्यक्ष नियुक्ति भइसक्नुपर्ने थियो । तर, अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले शुक्रबार (२६ पुसमा) मात्रै पदपूर्तिको सूचना जारी गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित छन् । निलम्बित अध्यक्षको कार्यकाल ११ माघमा सकिँदै छ । ऐनले अध्यक्षको कार्यकाल सकिनु एक महिनाअघि नै नियुक्ति गरिसक्नुपर्ने व्यवस्था गरेको छ । अहिले अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले वरिष्ठता क्रमका आधारमा सञ्चालक समितिको अध्यक्षता लिइसकेका छन् ।  

प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । 

निवेदक हुन बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य–अनुभव हासिल गरेको हुनुपर्ने अनुभवसम्बन्धी योग्यता शर्तमा उल्लेख छ ।

त्यस्तै, उच्च नैतिक चरित्र भएको र ३० वर्ष पूरा भई पैँसट्ठी वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । त्यस्तै, गैरनेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको, कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, कार्यकारी प्रमुखका हकमा सार्वजनिक निकायको कुनै ठेक्कापट्टा सम्झौता गरी काम गरिरहेको, मानसिक सन्तुलन ठीक नभएको व्यक्तिले आवेदन दिन नपाउने उल्लेख छ ।