बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा रास्वपा सभापति रवि लामिछानेसहित ४२ विरुद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ । रुपन्देही प्रहरीले शुक्रबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्दै यसअघि मुद्दा चलाइएका २८ लाई पूरक र थप १४ जना गरी ४२ जनालाई मुद्दा चलाउन भनेको हो ।
प्रहरीले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको छ भने १२ जनालई सहकारी ठगी र संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउन भनेको छ । त्यस्तै, यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलेका २८ लाई भने संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन राय दिएको हो । प्रतिवादीसँग एक अर्ब १२ करोड बिगो मागदाबी गर्नुपर्ने राय समेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । जसमा लामिछाने र जोशीसँग चार–चार करोड बिगो मागदाबी छ ।
प्रहरीका अनुसार गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई जोडिएका ११ कम्पनी र त्यससँग सम्बन्धित व्यक्तिमाथि मुद्दा चलाउन भनिएको हो । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययनका क्रममा रहेको र अध्ययनपछि मुद्दा दर्ता हुने बताए । प्रतिवादी बनाइएका १४ मध्ये ६ जना इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा छन् । लामिछाने र जोशी भने सूर्यदर्शन सहकारीको मुद्दामा बिहीबार मात्र कास्की अदालतबाट धरौटीमा रिहा भएका छन् ।
यसअघि गत ३ वैशाखमा एक अर्ब दुई करोड मागदाबीसहित सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध दायर मुद्दा जिल्ला अदालत रुपन्देहीमा विचाराधीन छ । गुरुङ गत वैशाखदेखि पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा छन् । सहकारीका पूर्वसचिव दीपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, नीता गुरुङ र रोशनी गुरुङ धरौटीमा रिहा भइसकेका छन् । पूर्वअध्यक्ष एवं संरक्षक जिबी राईसहित अन्य आरोपी फरार छन् ।