बागमती युवा क्लबले राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकाविरुद्ध बदला लिँदै २–० को जित निकालेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णुमाया बलले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । यसअघि पहिलो चरणमा वालिङले बागमतीलाई ४–० ले हराएको हो । वालिङको जितमा विदेशी खेलाडी ज्याकलिन नासालीले ह्याट्रिक तथा केसी नान्टोन्गोले एक गोल गरेकी थिइन् ।
दोस्रो चरणमा भने दुवै टोली विदेशी खेलाडीविना मैदान उत्रिएका हुन् । दुवै टोलीमा अधिकांश नेपालको उमेर समूहबाट खेलेका खेलाडी थिए । खेलको पहिलो हाफमा वालिङले बागमतीविरुद्ध दबाब बनाए पनि फिनिसिङमा चुकेको थियो । पाएको अवसरमा वालिङका खेलाडी गोल गर्न चुके । जितसँगै बागमतीले चार खेलमा तीन अंक जोडेको छ । एन्फा कार्यसमितिको बैठकले निर्णय गर्दै बागमतीलाई पहिलोपटक महिला लिगमा अवसर दिएको थियो । वालिङले भने लगातार महिला लिग खेलिरहेको छ । चारै खेलमा पराजित वालिङ अंकविहीन छ ।
दोस्रो हाफमा दुवै गोल
पहिलो हाफमा गोलरहित बराबरी हुँदा दोस्रो हाफमा बागमतीले गोल गरेको थियो । खेलको ५२औँ मिनेटमा अस्मिताको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । काउन्टर अट्याकमा गोलकिपर राधिका ओलीले गल्ती गरेपछि त्यसको फाइदा अस्मिताले उठाएकी हुन् । ७५औँ मिनेटमा विष्णुले गोल गर्दै बागमतीलाई सहज जित दिलाइन् ।
लगातार खेल्दा थकित छन् खेलाडी
विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक भोलानाथ सिलवालले आफ्ना खेलाडी लगातार खेल्दा थकित भएको बताएको भोलिपल्ट नै वालिङका प्रशिक्षक दिलीप थापाले पनि सोही गुनासो गरेका छन् । लिगमा एक दिनको अन्तरालमा खेल खेल्दा आफ्ना खेलाडी थकित भएको सहभागी टिमका प्रशिक्षकले बताउँदै आएका छन् । ‘हाम्रा खेलाडी रोबर्ट होइनन् । लगातार खेल्दा निकै गाह्रो भएको छ,’ वालिङका प्रशिक्षक थापाले भने, ‘एउटा खेल खेलेपछि विश्राम छैन । अभ्यास गर्न समय पनि छैन । लगातार खेल्दा गाह्रो भएको छ । खेलाडी खेल्नै नसक्ने भएका छन् ।’
लिगको दोस्रो चरणमा तीन विभागीयसहित वालिङ र बागमती सहभागी छन् । डबल राउन्ड रोबिन पद्धतिमा आयोजना भएको लिगको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । यो जितपछि बागमतीको प्लेअफ सम्भावना बढेको छ ।
खेलाडी रोबर्ट होइनन्, थाकेका छन् : दिलीप थापा, प्रशिक्षक, वालिङ
बागमतीविरुद्ध सोचेको जस्तो खेल भइरहेको थियो । तर, हामी फिनिसिङमा चुक्न पुग्यौँ । पहिलो हाफमा खेलाडीले राम्रो खेलेका हुन् । मेरो टिमले गर्ने प्रदर्शन नै यस्तै हो । विभागीय टिमभन्दा बागमतीसँग राम्रो खेल्यौँ । तर, बागमतीले फिनिसिङमा राम्रो गर्यो । लगातार खेल खेल्दा खेलाडी थकित छन् । अभ्यास गर्न र विश्राम नै पाएका छैनौँ । खेलाडी रोबर्ट होइनन्, थाकेका छन् । जित्नैपर्ने खेलमा धेरै अवसर पाउँदा पनि गोल गर्न चुक्यौँ ।
किपरको गल्तीको फाइदा उठायौँ : सोनम लामा, प्रशिक्षक, बागमती
चौथो खेलमा जसरी पनि जित्नुपर्छ र तीन अंक लिनुपर्छ भन्ने थियो । पहिलो ३० मिनेट निकै गाह्रो भयो । रोक्न धेरै प्रयास गर्यौँ । दोस्रो हाफमा गोल गर्न सफल भयौँ । त्यसैले तीन अंक प्राप्त भयो । हामी पहिलो हाफमा वालिङविरुद्ध संघर्षमै रह्यौँ । उनीहरू ३० मिनेटपछि थकित हुँदा हामीले दबाब बनायौँ । पाएको अवसरमा गोल गर्न सक्दा खेल्न सफल पनि भयौँ । किपर कमजोर छ, जहाँबाट पाउँछ, पोलमा बल प्रहार गर्न सिकाएका थियौँ । सफल भयौंँ । सुदूरपश्चिमबाट आएका खेलाडीले राम्रो खेलेका छन् ।