१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Saturday, 29 June, 2024
ल्यान्डफिल साइटमा सहजै व्यवस्थापन नहुँदा काठमाडौंका सडकमा छरपस्ट फोहोर । फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
२o७९ भदौ २ बिहीबार o७:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बुधबार ९० कन्टेनर फोहोर बन्चरेडाँडा पुर्‍याइयो

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार o७:oo:oo

फोहोर फाल्न सुरक्षा फौजको भर, स्थानीय भन्छन्– यो समस्या समाधानको तरिका होइन 

काठमाडौंबाट फोहोर बोकेर गएका ९० वटा कन्टेनर बुधबार बन्चरेडाँडा पुगेका छन् । उनीहरूलाई बुधबार पनि प्रहरीको कडा सुरक्षाकाबीच बन्चरेडाँडामा पुर्‍याइएको थियो । यसअघि मंगलबार पनि प्रहरी सुरक्षामै १८६ कन्टेर फोहोर बन्चरेडाँडामा पुर्‍याइएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको कमान्डमा खटिएको टोली बुधबार सिसडोल र बन्चरेडाँडामा परिचालन गरिएको थियो । सुरक्षार्थ खटिएको प्रहरी दिउँसो मात्रै पुगेकाले १ बजेदेखि फोहोरका गाडी बन्चरेडाँडातर्फ गएका थिए । फोहोरका गाडी सहजै बन्चरेडाँडा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एसपी मैनालीले बताए । उनले प्रहरीकै भरमा फोहोर फाल्नुपर्ने व्यवस्था आउनु निकै दुःखद भएको समेत बताए । ‘हामीले सुरक्षा त दिन्छौँ,’ उनले भने, ‘तर यसरी सधैँ चल्दैन ।’ फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान जनप्रतिनिधिले खोज्नुपर्ने उनको भनाइ छ ।

महानगरले तत्काल पूरा गर्नुपर्ने माग  

  • लिच्चड नचुहिने गरी फोहोर लैजानुपर्ने । 
  • सडकबत्ती बाल्नुपर्ने ।
  • ३० जनाभन्दा बढीलाई रोजगार दिने ।
  • घर, टहरा र खेतीयोग्य जमिनकोे नापजाँच गरेर क्षतिपूर्ति दिने, 
  • फोहोर क्यापिङ गर्नुपर्ने ।
  • फोहोर र सडकमा औषधि छर्कनुपर्ने । 

काठमाडौं, धादिङ र नुवाकोटका सिडिओेको बैठक 
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्नेबारे बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र स्थानीयसहितको बैठक बसेको छ । बैठकले स्थानीयलाई समस्या नहुने गरी फोहोर व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

स्थानीयको माग काठमाडौंले सुन्नुपर्छ : गोविन्दप्रसाद रिजाल प्रजिअ काठमाडौं 
समस्या समाधानका लागि स्थानीयको माग पनि काठमाडौंले सुन्नुपर्छ । उनीहरूका माग सम्बोधन गरेर सहज बाटोबाट फोहोर व्यवस्थापनको समस्या समाधान गर्नेबारे छलफल भएको छ । 

काठमाडौंका सिडिओ गोविन्दप्रसाद रिजालले फोहोर व्यवस्थापन गर्दा स्थानीयलाई समस्या नपर्ने गरी व्यवस्थापन गनुपर्ने बैठकले निर्णय गरेको बताए । उनका अनुसार बैठकमा बन्चरेडाँडातर्फको बाटो बनाउने, फोहोर बोकेका कन्टेनर हिँड्ने सडकमा दिनहुँ विषादी छर्कनुपर्ने, फोहोर क्यापिङ गर्नुपर्र्ने, सडकबत्ती बाल्नुपर्ने, स्थानीयलाई जग्गाको क्षतिपूर्ति तथा राहत दिने, छोपेर र लिच्चड नचुहिने गरी फोहोरका गाडी लैजानेलगायत निर्णय भएको छ । बैठकमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका प्रमुख, सुमन तामाङ, धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, सिसडोल र बन्चरेडाँडाका स्थानीयलगायतको सहभागिता थियो । 

फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न महानगरका मेयर बालेन्द्र शाहले पनि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा प्रधानमन्त्री देउवाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

बिहीबार बिहानैदेखि फोहोर लैजान्छौँ : प्रवक्ता मानन्धर
महानगरका अनुसार सामान्य अवस्थामा दैनिक दुई सयदेखि २५० कन्टेनर फोहोर बन्चरेडाँडामा जान्थे । तर, स्थानीयको अवरोधले केही समयदेखि निकै थोरै कन्टेनर फोहोर त्यहाँ पुगिरहेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार प्रहरी ढिलो पुग्दा बुधबार पनि केही कन्टेनर फोहोर मात्रै फाल्न सकियो । ‘स्थानीयले ढुंगा हान्ने हुन् कि भन्ने डरले प्रहरीविना गाडी पठाउन नसकिने अवस्था छ,’ उनले भने, ‘बिहीबार बिहानैदेखि प्रहरीले सुरक्षा दिने निर्णय भएकाले धेरै फोहोर उठ्ने अनुमान गरेका छौँ ।’ उनका अनुसार हाल काठमाडौंमा करिब आठ हजार मेट्रिकटन फोहोर ‘होल्ड’ भएको छ । यो फोहोर व्यवस्थापन गर्न कम्तीमा पाँच दिन लाग्नेछ ।

गगन थापा भन्छन्–महानगरलाई साथ दिऔँ, स्थानीयसँगका सम्झौता पूरा गरौँ 
कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीयवासीसँगको सम्झौता पूरा गरेर फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सिसडोल र बन्चरेडाँडावासीसँग मिलेर समाधान निकाल्नुपर्ने बताएका हुन् । ‘हामीसँग भएको सम्झौता कार्यान्वयन कहिले हुन्छ ? भन्ने प्रभावित क्षेत्रका बासिन्दाको मनमा प्रश्न र आक्रोश हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘केही सम्झौता कामनपाले गरेको छ, महानगर प्रमुख लागिरहनु भएको छ, सिंगोे टिम लागेको छ । सबैले साथ दिऊँ ।’

उनले स्थानीयसँग भएका सम्झौता पूरा गर्न कांग्रेस पार्टी पनि लागि परेको र छिट्टै समाधान हुनेसमेत बताए । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई यो समस्याको समाधान खोज्न मद्दत गर्न आग्रह गरेका छन् । सम्झौता कार्यान्वयनमा कहाँ–कहाँ समस्या भए, कहाँ कमजोरी भए, त्यसबारे समीक्षा गरेर सबै मिलेर समाधान निकाल्न सकिने उनको धारणा छ ।

स्थानीयवासीको चेतावनी– माग पूरा नभए अवरोध गर्छौँ 
सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न प्रहरी परिचालन गरेकोप्रति स्थानीय बासिन्दालाई चित्त बुझेको छैन । प्रहरीको आडमा जबर्जस्ती फोहोर फाल्दा अन्याय भएको उनीहरूले बताएका छन् ।

दुई–चार दिन जबर्जस्ती फोहोर फालेर दीर्घकालीन रूपमा समस्या समाधान नहुने उनीहरूको भनाइ छ । स्थानीय नवराज ढुंगानाले महानगरले यहाँको समस्या नजरअन्दाज गरेको आरोप लगाए । ‘प्रशासनको आडमा स्थानीयलाई लखेटेर साध्य लाग्दैन, यहाँको खास समस्यामा महानगर पसेकै छैन,’ ढुंगानाले भने, ‘काठमाडौंमा बसेर गरेको छलफल हामी सुन्दैनौँ ।’ उनले स्थानीयस्तरमै आएर महानगरले समास्या समाधानको बाटो खोज्नुपर्ने बताए । 

बन्चरेडाँडाकी भावना कार्कीले पनि वास्तविक समस्या समाधान नभएसम्म फोहोरको अवरोध नहट्ने बताइन् । ‘हामीहरू समस्यामा छौं, फोहोरको गन्ध र लिच्चडले खेतीपाती हुन छाड्यो, सबैतिरबाट दुर्गन्ध मात्रै आउँछ,’ उनले भनिन्, ‘हामीले सधैँ काठमाडौंवासीको फोहोर सुँघेर बस्नुपर्ने ?’ उनले महानगरसँग यसअघि भएको १८ बुँदे सहमतिपत्र कार्यान्वयन भए स्थानीयले बिहीबारदेखि नै अवरोध नगर्ने बताइन् ।

 

ad
ad
ad
ad