मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०६:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इजरायलले एक हजार नेपाली कृषि कामदार लैजाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०६:३०:००

इजरायल सरकारले कृषि क्षेत्रका लागि पनि एक हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार पहिलोपटक कृषि क्षेत्रमा कामदार लैजान इजरायल तयार भएको हो । इजरायलले हाल दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार  (केयर गिभर)का लागि नेपाली कामदार लगिरहेको छ । 

नेपाली कामदारका लागि सुरक्षित गन्तव्यमध्ये इजरायल पनि एक हो । तर, ९० प्रतिशत नेपाली कामदार खाडी तथा मलेसियामा जोखिमपूर्ण काम गर्न बाध्य छन् । यसअघि म्यानपावर कम्पनीले नै नेपाली कामदार इजरायल पठाउँदै आएका थिए । महिला कामदारलाई केयर गिभरमा र पुरुषलाई कृषि क्षेत्रमा पठाउँदै आएको थियो । तर, दलालहरूले आफूखुसी रकम असुल्न थालेपछि सरकारले म्यानपावर कम्पनीबाट कामदार पठाउन बन्द गरेको हो । अहिले जिटुजीमार्फत नेपाली कामदार पठाउन थालेको हो । 

इजरायल नेपालबाट निर्माण क्षेत्रका लागि पनि कामदार लैजान इच्छुक भएको छ । निर्माण क्षेत्रका लागि छुट्टै सम्झौता गर्न पनि इजरायल सरकार सकारात्मक भएको छ । इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्न सम्झौता पनि भइसकेको छ । यसबाट इजरायली प्रविधिक भित्र्याएर मुलुकको कृषि क्षेत्रको विकासमा टेवा पुग्नेमा सरकार विश्वस्त रहेको छ ।

 श्रममन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय पुगेका थिए । उनीहरूबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको कुरा बताएका थिए । 

भेटमा मन्त्री कुँवरले गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिए । साथै, आगामी दिनमा पनि इजरायल सरकारले नेपालका कृषि, पर्यटन, उद्योगलगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे । मन्त्री कुँवरले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारका लागि पुनः एकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गरे ।