![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/balkrishna-khand2022-08-15-05-14-15.jpeg)
गृहमन्त्री बालकृष्ण खाणले विधिको शासन र मानवअधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन्। सोमबार कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाणले विधिको शासन र मानवअधिकारलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले सरकार मानवअधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको बताए । ‘विधिको शासन र मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधारशीला हो । यसलाई सबल र सुदृढ गराउने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल गराउनु हामी सबैको साझा दायित्व हो,’ उनले भने ।
नेपालले मानवअधिकारको पक्षमा अन्तर्राष्ट्रिय प्रोटोकलहरूमा दस्तखत गरेको र नेपालको संसदबाट अनुमोदन पनि गरेकाले मानवअधिकारको क्षेत्रमा सरकार पारदर्शी र उत्तरदायी रहँदै आएको उनको भनाइ थियो । मन्त्री खाणले मानवअधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरूले खबरदारी गरिरहेको भन्दै मानवअधिकारकर्मीहरूको प्रशंसासमेत गरे ।