साढे दुई वर्षदेखि नेपालमा ट्रान्जिट भिसा बन्द, राजस्व गुम्यो, यात्रुलाई पनि सास्ती

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

 कोरोना महामारीले प्रभावित अन्तर्राष्ट्रिय उडान नियमित अवस्थामा फर्किए पनि नेपालमा ट्रान्जिट भिसा भने साढे दुई वर्षदेखि बन्द छ । ०७६ को चैतदेखि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोकिएको ट्रान्जिट भिसा खोल्नेबारे निर्णय भएको छैन । सरकारको बेवास्ताले ट्रान्जिट भिसा सुचारु हुन नसक्दा एकातर्फ भिसा राजस्व गुमेको छ भने अर्काेतर्फ पर्यटन क्षेत्रमा पनि त्यसको असर परेको छ । सरकारले हवाई उडानसम्बन्धी सबै प्रतिबन्ध हटाइसकेको छ । 

प्रतिबन्ध हटाउने निर्णयबारे प्रस्टता नभएपछि अध्यागमनले यससम्बन्धी निर्णय गर्न गृह मन्त्रालयलाई हालै आग्रह गरेको छ । ‘कोभिड महामारी भएयता ट्रान्जिट भिसा बन्द छ,’ अध्यागमन विभागका प्रवक्ता अञ्जन न्यौपानेले भने, ‘यसलाई नखुलाउँदा धेरै नोक्सान भइरहेको छ भन्ने आधारमा खुलाउन गृह मन्त्रालयलाई लेखिपठाएका छौँ ।’


अध्यागमन विभागका प्रवक्ता अञ्जन न्यौपाने भन्छन् ‘कोभिड महामारी भएयता ट्रान्जिट भिसा बन्द छ, यसलाई नखुलाउँदा धेरै नोक्सान भइरहेको छ भन्ने आधारमा खुलाउन गृह मन्त्रालयलाई लेखिपठाएका छौँ ।’

अध्यागमन नियमावलीमा ट्रान्जिट भिसासम्बन्धी प्रावधान छ । जसअनुसार २४ घन्टाका लागि अध्यागमनले पाँच डलरमा एकदिने ट्रान्जिट भिसा दिन्छ । नेपालको विमानस्थलमा ट्रान्जिट भएर घन्टौँ कुर्ने यात्रु यस्तो भिसामा घुम्न सक्छन् । यसले भिसा शुल्क संकलन हुनुका साथै पर्यटन उद्योगलाई पनि फाइदा हुने अवस्था छ । कतिपय देशका विमानस्थलले ट्रान्जिट यात्रुबाटै ठूलो लाभ उठाउँदै आएका छन् ।

हाल नेपाल ट्रान्जिट पर्ने यात्रु विमानस्थलमै बस्न बाध्य छन् । विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही बन्द रहेको ट्रान्जिट भिसा खुलाउन पहल भइरहेको बताउँछन् । यस्तो भिसा बन्द हुँदा भिसा शुल्कसमेत गुमेको छ । अर्कोतर्फ ट्रान्जिट यात्रुलाई विमानस्थलमा भौतिक पूर्वाधारसमेत नभएको उनी बताउँछन् । ट्रान्जिट यात्रु अन्य नियमित यात्रुजस्तै विमानस्थलबाट चेकजाँच गरेर छिर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर नेपालको विमानस्थल ट्रान्जिट विमानस्थल नभएकाले उनीहरूका लागि छुट्टै व्यवस्थापन नगरिएको बताउँछन् ।
 

सुझावित समाचार