मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ०८:२३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन : चुनौतीका चाङसँगै शक्ति बचाइराख्ने दबाब

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ०८:२३:००

एमालेबाट विद्रोह गरेर गठन भएको एकीकृत समाजवादी पहिलोपटक प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जाँदै छ, जहाँ उसलाई चुनौतीका चाङ र अहिलेकै शक्ति बचाइराख्ने दबाबैदबाब छ । राष्ट्रिय सभा र स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम नआएको विश्लेषण गरेको एकीकृत समाजवादीका लागि आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि चुनौतीपूर्ण छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि एमालेबाट विद्रोह गरी माधव नेपालले आफ्नो नेतृत्वमा गत भदौमा एकीकृत समाजवादी गठन गरेका थिए । एक वर्षअघि गठन भएको एकीकृत समाजवादीलाई पाँचदलीय गठबन्धनमा सम्मानजनक सिट लिनु र समानुपातिकमा ‘थ्रेस होल्ड’ कटाउनु मुख्य चुनौती हो ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत कटाउनुपर्छ । गठबन्धनमा तालमेलपछि सीमित पालिका र वडामा लडेको एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा तीन प्रतिशतभन्दा बढी मत पाएको छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । ‘गठबन्धन भनेर मात्रै नबस्नुस्, समानुपातिकतर्फ मत बढाउनुपर्ने चुनौती हामीसँग छ । कलम चुनावचिह्नको व्यापार प्रचार गर्नुस्,’ नेपालको भनाइ छ ।राष्ट्रिय दल बन्न कठिन नभएको, तर समानुपातिकमा मत बढाउनुपर्ने चुनौती रहेको एकीकृत समाजवादीका नेताहरूको विश्लेषण छ । उपमहासचिव प्रकाश ज्वालाले चुनौती रहे पनि आगामी संसद्मा बलियो शक्तिका साथ पार्टी उपस्थित हुने आधार रहेको दाबी गरे । ‘गठबन्धन गरेर जाँदा प्रत्यक्षमा सम्मानजक सिट सुरक्षित हुने छ । देशव्यापी उम्मेदवार खडा हुँदा समानुपातिकमा पनि राम्रो मत आउनेछ,’ उनले भने । 

गत स्थानीय तह निर्वाचनमा २७ प्रतिशत उम्मेदवार हुँदा कलम चुनावचिह्नमा ९ लाख मत आएको र त्यसमा आधा गठबन्धन माने पनि एकीकृत समाजवादीको साढे चार लाख देखिएको ज्वालाको दाबी छ । देशव्यापी संगठन भएकाले आगामी निर्वाचनमा देशभर कलम चुनावचिह्नमा मत जुट्ने र त्यो स्थानीय तहको भन्दा धेरै हुने उनको बुझाइ छ । 

एकीकृत समाजवादीलाई राष्ट्रिय दल बनेर विद्रोह गर्नुको औचित्य जनमतमार्फत पुष्टि गर्नुपर्ने दबाब छ । प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा आठ सिटसहित एकीकृत समाजवादी संसद्को चौथौ ठूलो शक्ति छ । आसन्न निर्वाचनमा यो शक्ति बचाइराख्नु उसको चुनौती हो । पाँचदलीय गठबन्धनका कारण प्रत्यक्षतर्फका उम्मेदवारले जित्ने अवस्था हुन्छ । कम्युनिस्ट आन्दोलनमा खरिएका, स्वच्छ छविका लोकप्रिय नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा रहेको र त्यसको सकारात्मक असर निर्वाचनमा पर्ने ज्वालाको दाबी छ । पाँचदलीय गठबन्धन हुँदा प्रत्यक्षतर्फ सिट थोरै प्राप्त हुँदा नेता–कार्यकर्ताको व्यवस्थापन एकीकृत समाजवादीका लागि जटिल बन्न सक्छ । 

समानुपातिकमा १० लाख कट्ने आकलन
एसका नेताहरू समानुपातिकतर्फ सबै सिटमा उम्मेदवारी हुने भएकाले कम्तीमा १० लाख मत कट्ने आकलन गरेका छन् । उपमहासचिवसमेत रहेका केन्द्रीय कार्यालयसचिव डा. गंगालाल तुलाधरका अनुसार ७७ वटै जिल्ला र ७५३ पालिकामध्ये अधिकांशमा एकीकृत समाजवादीको संगठन छ । वडास्तरमा समेत कमिटी गठन भइरहेका छन् । एक महानगरपालिकासहित २० स्थानीय तहका प्रमुख र २२ स्थानीय तहका उपप्रमुख एकीकृत समाजवादीले जितेको छ । देशभरका ६७४३ मध्ये दुई हजार ४१ वडामा मात्रै उम्मेदवारी दिएको थियो । तीमध्ये एक सय ९० वडामा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।