बुटवलमा भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नम्बर १७ बाट नापजाँचको काम शुभारम्भ गर्दै प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिने बताए ।
बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि काम सुरु भएको उनको भनाइ छ । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरे ।
उनले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको पनि बताए । कार्यक्रममा बोल्दै वडा नम्बर १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मीले नापजाँचमा वडाको तर्फबाट समन्वय र सहकार्य हुने बताए ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गरे । नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीव्र गतिमा अघि बढ्ने बताए ।