सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको एसआर–६ जलविद्युत्को परियोजना विकास अध्ययन गर्न भारतीय सरकारी स्वामित्वको कम्पनी एनएचपिसीसँग एक महिनाभित्रै समझदारी (एमओयू) गरिने भएको छ । लगानी बोर्ड नेपालको ५२औँ बैठकले सोमबार उक्त समझदारीपत्र स्वीकृत गरेको छ । बैठकले सेप्टेम्बर दोस्रो साता काठमाडौंमा सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरम कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनभन्दा अगावै एनएचपिसीसँग एमओयू गरिने बोर्डका उपसचिव तथा सहायक प्रवक्ता रमेश अधिकारीले बताए । उनका अनुसार अब बोर्डले पत्रचार गरेर एनएचपिसीलाई एमओयूका लागि बोलाउनेछ ।
उक्त आयोजनाहरू बनाउने ढाँचामा केन्द्र्रित रहेर एमओयूको मस्यौदा बनाइएको छ । समझदारीको मस्यौदा भने सार्वजनिक गरिएको छैन । एमओयू गरेको ४५ दिनभित्र पश्चिम सेती र ६ महिनाभित्र एसआर–६ को सर्वेक्षण लाइसेन्स एनएचपिसीलाई दिने मस्यौदामा उल्लेख छ । यसका अलावा एनएचपिसीले लाइसेन्स पाएको दुई वर्षभित्र सर्भे सक्नुपर्ने सर्त पनि मस्यौदामा राखिएको बोर्डका एक अधिकारीले बताए । कुल दुई अर्ब ४० करोड ७० लाख डलर लागत अनुमान गरिएको सुदूरपश्चिमका उक्त दुई आयोजना एनएचपिसीलाई दिने प्रक्रिया अगाडि बढाउने निर्णय २३ जेठको बोर्डले गरेको थियो ।
बोर्डका थप निर्णय
बैठकले एसजेभिएनलाई दिइएको तल्लो अरुण जलविद्युत्को लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको काम अगाडि बढाउन निर्देशन दिएको छ । साथै, तीन सय २७ मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत्को अध्ययन गर्न हिमताल हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण अनुमति दिने निर्णय गरेको छ । नौ सय मेवाको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यस्थापनको सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय पनि बोर्डले गरेको छ ।
आगामी सेप्टेम्बरमा लगानी फोरम
बोर्डले नेपालको दिगो पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी सेप्टेम्बर दोस्रो साता लगानी फोरम गर्ने भएको छ । सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरम–२०२२ नामबाट उक्त कार्यक्रम गर्ने गरी बोर्डको बैठकले निर्णय गरेको हो । संघीय निर्वाचनपछि गठन हुने नयाँ सरकारले लगानी सम्मेलन गर्ने बोर्डको तयारी छ । सोही लगानी सम्मेलनको पूर्वतयारीअनुरूप उक्त कार्यक्रम गर्न लागिएको बोर्डका सहायक प्रवक्ता रमेश अधिकारीले बताए । ‘कार्यक्रममा विदेशी लगानीकर्ता तथा पार्टनरहरू आउनेछन् । उनीहरूसँगको छलफलबाट सम्मेलनमा पेस गर्ने आयोजनाहरू तयार गर्छाैँ,’ उनले बताए ।