आमाबाबुको प्रश्न– नक्कली बाबु र मृत्युदर्ता प्रमाणपत्र बनाएर धर्मपुत्रका नाममा हाम्रो छोरा विदेशीलाई बेच्नेमाथि कारबाही हुन्छ कि हुँदैन ?
बाबु नक्कली । बाबुको मृत्युदर्ता प्रमाणपत्र पनि नक्कली । सोही कागजात प्रयोग गरी ससुरालीले नै छोरा विदेशीलाई धर्मपुत्रका रूपमा बेचिदिएपछि सक्कली बाबु यतिवेला बेचैन भएका छन् । झापा मेची नगरपालिका–८ पाथीभराका ४९ वर्षीय चन्द्रकुमार विष्टका एक्ला छोरा हुन्, गौरव । उनलाई उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित मामाघरकी हजुरआमा टंककुमारी रेग्मी र सहोदर मामाहरूले १६ वर्षअघि नै धर्मपुत्रका रूपमा स्पेनिस नागरिकलाई बेचिदिएका थिए । जब उनले त्यसबारे खबर पाए, अहिले उनी बेचैन बनेका छन् ।
एक साताअघिसम्म छोरा गौरव मामाघरमा छ र एक दिन बाबु खोज्दै घरमा आउने उनमा विश्वास थियो । ‘छोरा मामाघरमै छ र बुबा खोज्दै एक दिन मकहाँ आउँछ भन्ने आसमा थिएँ । तर, मेरो छोरालाई १६ वर्षअघि नै बेचिदिएछन् । यो समाचार आएपछि म छाँगाबाट खसेझैँ भएको छु । अब मैले छोराको मुख हेर्न कहिल्यै पाउँदिनँ होला,’ नयाँ पत्रिका कार्यालय आइपुगेका उनले भने ।
यसबीचमा छोरा प्राप्तिका लागि उनले अनेक लडाइँ लडे । छोरा लिन जाँदा उनलाई जेठान र सालाले धेरैपटक मुख थुके । गरिब भनेर हेप्नु हेपे । लाख कोसिस गर्दा पनि छोरो ल्याउन नसकेपछि उनी निराश भएर झापा फर्के । ससुरालीबाट धेरैपटक अपमान भएपछि उनले आउजाउ गर्न चटक्कै छाडे । तर, छोरा पछ्याउन भने छाडेनन् । छोरा नेपाल बाल संगठनको संरक्षणमा पुगेको थाहा पाएपछि उनी काठमाडौं आए । फिर्ता लैजान हारगुहार गरे । जेठान वसन्तराज रेग्मीसँग अनेक बिन्ती गरे । अर्कैसँग विवाह गरेर गएकी श्रीमती कमला सुवेदीसँग बिलौना गरे । सबै प्रयास असफल भएपछि उनी निराश भएर झापा फर्किए ।
छोरा बाल मन्दिरमै रहेकाले सकुशल नै होला भन्नेमा उनी ढुक्क थिए । तर, बाल मन्दिरकै मिलेमतोमा छोरा बेचिएको खबरले चन्द्र पीडामा परेका छन् । ‘कमला मेरी श्रीमती हो । हाम्रो सम्बन्ध राम्रो थिएन । पछि उनले अर्कैसँग विवाह गरिन् । मेरो पनि विवाह भयो । तर, छोरा मामाघरमै थियो । सँगै लैजान म कैयौँपटक ससुराली गएँ । हारगुहार गरेँ । तर, सकिनँ । अहिले छोरा बेचिएको खबरले निदाउनसमेत सकेको छैन,’ उनले गुनासो गरे ।
दुई वर्षको प्रेमपछि उदयपुर त्रियुगाकी कमला रेग्मीसँग चन्द्रले विवाह गरेका थिए । मायाको निसानीस्वरूप मामाघरमै गौरवको ९ पुस ०५५ मा जन्म भएको थियो । चन्द्र उदयपुर–काठमाडौं चल्ने बसको सहचालक थिए । उनको साथी थिए, कमलाका भाइ सरोज रेग्मी । सरोजसँगै उनी कमलाको घर आउजाउ गर्थे । यहीक्रममा दुईबीच प्रेम बसेको थियो । चन्द्र आर्थिक रूपमा कमजोर थिए । त्यसैले ससुरालीसँग उनको सम्बन्ध सुमधुर हुन सकेन । पछि श्रीमतीसँग पनि सम्बन्ध बिग्रियो । यहीबीचमा उनले अर्कैसँग विवाह गरे । कमलाले पनि अर्कैसँग विवाह गरिन् । तर, छोरालाई भने उनले बिर्सन सकेका थिएन् । अहिले चन्द्र झापामा बस्छन्, कमला हेटौँडामा । १६ वर्षपछि दुवैलाई बेचिएको छोरा गौरवको मायाले एउटै बिन्दुमा ल्याएर उभ्याइदिएको छ । दुवै भन्छन्, ‘गौरवका हामी बाउआमा हौँ । तर, हामीलाई झुक्याएर माइतीले गौरवलाई धर्मपुत्रका रूपमा बेचिदिएछन् । यसका लागि बाबु नक्कली खडा गरेछन् । बाबुको मृत्युदर्ता प्रमाणपत्र पनि नक्कली बनाएछन् । सोही कागजातका आधारमा गौरवलाई अनाथ प्रमाणित गरेर १० लाख युरोमा बेचिदिएछन् । न्याय माग्न हामी कहाँ जाऊँ ?’
नक्कली कागजातका आधारमा अनाथ प्रमाणित गरेर गौरवलाई बाल संगठनले धर्मपुत्रका रूपमा बेच्न ग्राहक खोज्यो । स्पेनिस नागरिक कारमेन लौरा रोजो गौरवलाई ‘एडप्ट’ गर्न तयार भइन् । रकममा सहमति जुटेपछि कानुनी प्रक्रिया पु¥याउन संगठनले हकदाबी गर्न आउन भन्दै दैनिक पत्रिकामा गौरवको फोटो विवरणसहित विज्ञापन छाप्यो । जसको खबर झापा बस्ने गौरवका बाबु चन्द्र र हेटौँडामा रहेकी आमा कमलाले पत्तै पाएनन् । गौरवलाई स्पेनिस नागरिक रोजोले लिएर स्वदेश फर्किन् ।
गौरव अहिले २४ वर्षका भइसकेका छन् । स्पेनस्थित नेपाली दूतावासले उपलब्ध गराएको विवरणअनुसार स्पेनी नागरिक रोजोले ‘आमा नभएको भनेर’ गौरवलाई ‘एडप्ट’ गरेकी थिइन् । गौरवको निकटता कमलासँग भन्दा पनि धर्मआमासँग छ । यता, नेपालमा बिलखबन्दमा परेकी आमा कमला र बुबा चन्द्रसँग अहिले संगठनले उपलब्ध गराएको नक्कली कागज र छोराप्रतिको अगाध स्नेहबाहेक बाँकी केही छैन । १६ वर्षको संघर्षमा उनीहरूले थोरै भएको सम्पत्ति र शरीरको ऊर्जा दुवै सकेका छन् । उनीहरू एकपटक छोराको मुख हेर्ने चाहना रहेको बताउँछन् ।
अनाथ प्रमाणित गर्न नक्कली कागजात
राष्ट्रिय सूचना आयोगको सहयोगमा प्राप्त कागजातका आधारमा गौरवलाई अनाथ प्रमाणित गर्न सबै कागजात नक्कली बनाइएका छन् । यतिसम्म कि गौरवकी आमा कमलाको हस्ताक्षरसमेत नक्कली खडा गरिएको छ । प्राप्त कागजातअनुसार गौरवको जन्म ९ पुस ०५५ मा भएको हो । हेटौँडास्थित सनसाइन इंग्लिस बोर्डिङ स्कुलमा भर्ना हुँदा पनि उनको जन्ममिति ९ पुस ०५५ नै उल्लेख छ । तर, अनाथ प्रमाणित गर्दा उनको जन्ममिति ९ असार ०५७ कायम गरियो । बाबुको नाम घनश्याम सुवेदी भनियो । बाजेको नाम भीमबहादुर सुवेदी लेखियो । जब कि जन्मदर्ता प्रमाणपत्रमा बाजे भनिएका भीमबहादुर गौरवका सौतेला बुबा हुन् । गौरवका जैविक बाबु चन्द्रबहादुर विष्टसँग सम्बन्ध बिग्रिएपछि आमा कमलाले भीमबहादुरसँग दोस्रो विवाह गरेकी थिइन् । कमला अहिले भीमबहादुरसँगै बस्छिन् ।
गौरवका बाबु घनश्याम भनिएका व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र पनि बनेको छ । प्रमाणपत्रमा उनको स्थायी ठेगाना उदयपुर त्रियुगा नगरपालिका–१२ भनिएको छ । तर, उनको नागरिकता प्रमाणपत्र कतै फेला परेको छैन । न प्रमाणपत्रमा नागरिकता प्रमाणपत्र नम्बर नै उल्लेख छ । गौरवको जन्मदर्ता प्रमाणपत्र दर्ता मिति १४ वैशाख ०६२ मा भएको छ । उनको बाबु भनिएका घनश्यामको मृत्युदर्ता पनि सोही मितिमा भएको छ । दुवै प्रमाण लिनुअघि त्रियुगा नगरपालिकास्थित पञ्जीकरण महाशाखाको ढड्डामा कमलाको ल्याप्चेसहितको हस्तक्षर भएको छ । जुन सरासर किर्ते भएको कमलाले बताइन् । ‘छोरालाई अनाथ बनाउनुअघि उसको जन्मदर्ता नक्कली बनाएछन् । मेरो श्रीमान्को नाम घनश्याम सुवेदी राखेछन् । उनको पनि मृत्युदर्ता प्रमाणपत्र बनाएछन् । दुवैमा मेरो नाम लेखेर ल्याप्चे लगाएछन्, जुन मेरो होइन । मृत्युदर्ता प्रमाणपत्रमा मेरो श्रीमान् भनिएको व्यक्ति को हुन्, म चिन्दिनँ, न अहिलेसम्म देखेकै छु,’ उनले भनिन् ।
महालेखा प्रतिवेदन भन्छ– नौ वर्षमा एक सय ४९ बालबालिका बेचिए
महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार सन् २०१० मा तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री व्यवस्थापन समिति गठन गरेको थियो । समितिको सिफारिसमा अमेरिका, फ्रान्स, नर्वे, डेनमार्क, क्यानडा, स्विट्जरल्यान्ड, बेल्जियमलगायतका १८ मुलुकमा धर्मपुत्र, धर्मपुत्रीका रूपमा बालबालिका लैजान सकिने व्यवस्था थियो । समितिको सिफारिसमा ती मुलुकमा २४ बालबालिका मात्रै धर्मसन्तानका रूपमा गएको सरकारी तथ्यांक छ । तर, अमेरिकी स्टेट डिपार्टमेन्ट र नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फरेन्स अन प्राइभेट इन्टरनेसनल ल’मा नेपालबाट एक सय ७३ बालबालिका धर्मसन्तानका रूपमा लगिएको उल्लेख छ ।