१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २५ मंगलबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वर्षासँगै खसेको पहिरोले घरसहित बगायो घामबहादुरको सिंगो परिवार

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:o१:oo

म्याग्दीको मालिका गाउँपालिका– २ रुम तामेङमा मंगलबार बिहान करिब ४ बजे गाउँमाथिको भिरबाट खसेको पहिरोमा परी एकै  परिवारका पाँचजनाको ज्यान गएको छ ।

स्थानीय घामबहादुर विक, उनकी ३४ वर्षीया पत्नी राममाया, छोराहरू १८ वर्षीय नवीन, १५ वर्षीय राजन र सात वर्षीया छोरी अस्मी पहिरोमा पुरिएका हुन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी तिलक भारतीका अनुसार पाँचैजनाको शव फेला परेको छ ।

नवीन र राजन स्थानीय राष्ट्रिय माविमा क्रमशः कक्षा १० र आठमा तथा अस्मी नमुना बोर्डिङ स्कुलमा पढ्दै थिइन् । परिवारका चार दाजुभाइमध्ये माइला घामबहादुरको ढुंगाले छाएको र पाली हालेको एकतले घर थियो । वृद्ध आमा र अन्य दाजुभाइको परिवार केही पर अर्को घरमा बस्दै आएकाले जोगिए ।

‘घामबहादुर परिवारसँग बसेर स्वदेशमै स्वरोजगार गरी आत्मनिर्भर बन्छु भनेर कतारबाट फर्किएका थिए, खच्चडबाट गाउँघरमा खाद्यान्न ढुवानी गरी घरपरिवार पाल्न थालेका थिए । पहिरोले उनीसहित सिंगो परिवार र सबै सपना बगाइदियो,’ वडासदस्य भक्तिबहादुर घर्तीमगरले भने, ‘गाउँ नै शोकमा छ ।’ पहिरोले स्थानीय गोठे विकको घरसमेत बगाएको छ । गोठे र उनकी श्रीमती गोरी घाइते भएका छन् । 

ad
ad