मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १७ मंगलबार
  • Wednesday, 18 December, 2024
टाफी एमहाका
२o७९ श्रावण १७ मंगलबार o९:o४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुस पनि अफ्रिकाको साँचो मित्र होइन

Read Time : > 2 मिनेट
टाफी एमहाका
नयाँ पत्रिका
२o७९ श्रावण १७ मंगलबार o९:o४:oo

रुसी विदेशमन्त्री सर्गेई ल्याभरोभ २४ जुलाईमा पाँचदिने अफ्रिका भ्रमणमा निस्किए । अफ्रिकासँगको रुसी सम्बन्धलाई थप सबल बनाउने उद्देश्य लिइएको भ्रमण इजिप्टको राजधानी कायरोबाट सुरु भएको थियो र उनको भ्रमण सूचीमा इथियोपिया, युगान्डा र गणतन्त्र कंगो पनि समावेश थिए । तर, अफ्रिका यात्रामा निस्किनुअघि ल्याभरोभले आफूले प्रतिनिधित्व गर्ने सरकार सत्यप्रति प्रतिबद्ध नभएको खुलाए । यो कुरा कायरोका लागि निस्किनुअघि अफ्रिकाका पत्रिकाहरूमा छाप्ने उद्देश्यले ल्याभरोभले लेखेको एक आलेखमा उदांगिएको थियो । 

ल्याभरोभले आलेखमा रुसको पश्चिमी मुलुकको जस्तो रक्तपातपूर्ण औपनिवेशिक इतिहास नभएको लेखेका छन् । यो लेख २२ जुलाईमा छापिएको थियो । त्यसको दुई दिनअघि ल्याभरोभ आफैँले युक्रेन युद्धको लक्ष्य अब ‘दोनबास क्षेत्र मात्र कब्जा गर्नेमा सीमित नहुने, थप क्षेत्र कब्जा गर्ने’ घोषणा गरेका थिए । तर, लेखमा भने ल्याभरोभ थप दाबी गर्दै भन्छन्– रुसले कसैमाथि पनि केही थोपरेको छैन वा कसैलाई कसरी जिउने भनेर सिकाउँदैन । जब कि रुस आफैँले एक सार्वभौम मुलुक युक्रेनमा सरकार परिवर्तनको उद्देश्य राखेर नै आक्रमण गरिरहेको छ । 

रुसी विदेशमन्त्री आफ्नो आलेखमा ‘पश्चिमी आशंका र युक्रेनको प्रोपगान्डा’ विपरीत रुसले ‘भोक निर्यात’ नगरेको पनि भन्छन् । तर, विडम्बना, सो लेख छापिएर पत्रिका स्टलमा पुग्दा रुसले अन्न निर्यातको मुख्य नाका ओडेसा बन्दरगाहमा क्रुज मिसाइल प्रहार गरेको थियो । अझ दुःखद कुरा, रुसले युक्रेनी बन्दरगाह खुलाउने सहमति गरेको भोलिपल्ट यो आक्रमण भएको थियो । अफ्रिकाको भ्रमण अवधिभर कुनै पनि अफ्रिकी नेता तथा निजामती कर्मचारीले ल्याभरोभका झुटलाई चुनौती दिने प्रयाससमेत गरेनन् । अफ्रिकाबाट रुसको ‘वैकल्पिक यथार्थ’को निर्बाध स्वीकारोक्ति आफैँमा आश्चर्यजनक भने थिएन । मस्कोले धेरै पहिलेदेखि पश्चिमसँग जारी उसको भू–आर्थिक लडाइँमा मिथ्या सूचना र प्रोपगान्डालाई कुशलतापूर्वक प्रयोग गर्ने गरेको छ । 

रणनीतिक लगानी, व्यापार अनुदान र ठूला ऊर्जा सम्झौताका अतिरिक्त रुसले प्रोपगान्डालाई बलियो औजारका रूपमा प्रयोग गर्छ । यी औजारमार्फत उसले क्रेमलिन (रुसी कार्यकारी निकाय) लाई पश्चिमी औपनिवेशिक महत्वाकांक्षाको रक्षकका रूपमा प्रस्तुत गरी कैयौँ मित्र तथा समर्थक आर्जन गर्न सफल भएको छ । युक्रेन आक्रमणपछि समेत रुसले अफ्रिकी मुलुकको समर्थन हासिल गर्नुका पछाडि यिनै औजार उपयोगी बनेको छ । जस्तो मार्चमा अफ्रिकी सामाजिक सञ्जालमा  पुटिनजस्तो देखिने एक युवाले सन् १९७३ तिर मोजाम्बिकका स्वतन्त्रता सेनानीलाई तालिम दिइरहेको एक फोटो भाइरल भयो । फोटोले अफ्रिकी नागरिकमा व्यापक प्रशंसा र उत्साह उत्पन्न गरायो र त्यसलाई युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीका छोराले समेत पोस्ट गरे । तर, दाबी गरिएजस्तो न त फोटो सन् १९७० को दशकको थियो, न फोटोमा भएका व्यक्ति पुटिन नै थिए । तैपनि, झुटो सूचनाले काम गरिरहेको थियो । 

अफ्रिकाले अब आफ्नो हितका लागि पश्चिम र रुसको प्रयोगबाट कसरी बच्ने भनेर सिक्न ढिलो भइसकेको छ 
 

हार्वर्ड विश्वविद्यालय डेभिस सेन्टर फर रसियन एन्ड युरेसियन स्टडिजका सह–प्राध्यापक दिमित्री गोरेनवर्गका अनुसार विश्वमा सकारात्मक छवि निर्माणका लागि १० मुख्य भाष्य प्रयोग गरिन्छ । तीमध्ये एकमा रुसलाई ‘पतित’ पश्चिमविरुद्ध उभिएको ‘परम्परागत मूल्यको रक्षक’ देखाइन्छ । पश्चिमी राष्ट्रले अभ्यास तथा प्रवद्र्धन गर्ने यौन स्वतन्त्रतालाई ‘अनैतिक’ मान्ने पुरातनवादी अफ्रिकी समाजमा यस भाष्यले काम गरेको छ । रुसले मित्र आकर्षित गर्ने अर्को हतियार हो ः उसको खराबीमाथि बहस उठ्दा पश्चिमले चाहिँ के गरेको थियो नि भनेर बहस नै बदल्ने । अफ्रिकामा हिजोका दिनमा औपनिवेशक शासकहरू सबै पश्चिमी मुलुक भएकाले यस महादेशमा भएको युद्ध, द्वन्द्व र अस्थिरतामा पश्चिमको हात रहेको मानिने भएकाले यो तर्कप्रति सजिलै सबैले विश्वास गर्छन् । 

रुसको मित्रशक्ति तान्ने अर्को तर्क हुन्छ– रुसले अमेरिकाले जस्तो कुनै पनि सार्वभौम राज्यका घरेलु मामिलामा हस्तक्षेप गर्दैन । अमेरिकी समर्थनमा कैयौँ कु भोगेका र अमेरिकाको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतामा कैयौँ स्वतन्त्रता सेनानी (जसमध्ये सबैभन्दा चर्चितमध्ये एक डेमोक्रेटिक रिपब्लिक कंगोका प्रधानमन्त्री प्याट्रिस लुमुम्बा हुन्) गुमाएका अफ्रिकामा यो भाष्यप्रति पनि ठूलो समर्थन छ । तर, कुनै पनि तर्कले रुसले उसका छिमेकी मुलुकमा गरेको दमनलाई जायज ठह¥याउन सक्दैन । अफ्रिकी मुलुकले रुसलाई एक नरम शक्तिका रूपमा स्विकार्नु उनीहरूकै लागि हानिकारक हुनेछ । 

अफ्रिकामा प्रवेश गरिसकेपछि रुसले उसको स्वार्थ रक्षाका लागि युक्रेन, जर्जिया वा वरिपरिका अन्य मुलुकमा जसरी आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्ने बलियो कारण छैन । अहिले नै रुस सुडान, सेन्ट्रल डमोक्रेटिक रिपब्लिक, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र मालीको घरेलु राजनीतिमा हाबी भइरहेको छ । अफ्रिकामा जारी विभिन्न द्वन्द्वमा रुसको कुख्यात ‘वाग्नर ग्रुप’का भाडाको सेना संलग्न छन् । रुसलाई अहिले उसको युद्धलाई सघाउने नयाँ ‘साथी चाहिरेका वेला अफ्रिकी मुलुक ऊसँग नजिकिनु राम्रो हुँदैन । 

यति लेखिसकेपछि यो कुरामा पनि जोड दिनैपर्छ कि अफ्रिकामाथि रुसी प्रोपगान्डाबाट मात्र खतरा छैन । पश्चिमी प्रोपगान्डा र छलछाम अझै पनि धेरै अफ्रिकी राष्ट्रको दुःखको मुख्य कारण हुन् । र, पश्चिमले आफ्नो स्वार्थ पूरा गर्न अझै पनि अफ्रिका र सत्यलाई हानि गर्ने खालको झुट र आंशिक भाष्य फैलाउन भरमग्दुर प्रयास गरिरहेको छ । तर, यसो भन्दैमा रुसी कथ्यलाई आँखा चिम्लेर विश्वास गर्नुपर्छ भन्ने होइन । अफ्रिकाले अब आफ्नो हितका लागि पश्चिम र रुसको प्रयोगबाट कसरी बच्ने भनेर सिक्न ढिलो भइसकेको छ । 
अलजजिराबाट (युनिभर्सिटी अफ केपटाउनमा अध्ययन गरेका एमहाका सञ्चार उद्योगमा कार्यरत छन्)