आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा सोमबार बिहान पोखरामा एक जनाको मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार पोखरा ६ डिहिगोपाटन स्थित पधेंरो बस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडिबाट आएको पहिरोको कारण घरको कोठा भत्किँदा कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं. १ भुर्जुङखोला, तातो पानी घर भएका वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको हो । पहिरोले पुरिएको अवस्थामा उद्धार गरी सुनारलाई अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको तिवारीले जानकारी दिए ।
पहिरोले घर भत्केको सूचना प्राप्त हुनसाथ तत्काल वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरिक्षक हरी पौडेलको कमाण्ड १० जना र थप मद्दतको लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तिवारीको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल कालिका गणबाट स.प्र.नि.उमेश ढकालको कमाण्डमा १५ जनाको टोलीले खटिएको थियो ।
खटिएको टोलीले उक्त कोठामा डेरा गरि बस्ने माछापुच्छ्रे १ भुर्जुङखोला, तातो पानी घर भएकी वर्ष २७ की सुनिता सुनार र छोरी वर्ष १० की सिम्रन सुनारको शकुशल उद्धार गरेको तिवारीले जानकारी दिए । घाइते अवस्थामा उद्धार गरी आमा छोरीलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको र उनीहरुको अवस्था मध्यम रहेको तिवारीले जानकारी दिए। मृतक सुनार सुनिताका भाइ हुन् ।
बाटो अबरुद्ध
यसै गरि अविरल वर्षाको कारणले पोखरा २५ एक्वार भिर स्थितमा माथिबाट पहिरो आउँदा हेम्जाबाट लाचोक, घाचोक जाने पक्की सडक अवरोध भएको र अ.प्र.पो. हेम्जाबाट प्र.स.नि. प्रेम थापाको कमाण्डमा प्रहरी टोली खटिई गई बाटो खुलाउने प्रयास भई प्रहरीले जनाएको छ।