मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १४ शनिबार
  • Thursday, 19 December, 2024
यम बम काठमाडाै.
२o७९ श्रावण १४ शनिबार o६:१७:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार वर्षमै थपिए १२० बाघ

१२१ बाट १२ वर्षमा २५० संख्या पुर्‍याउने लक्ष्य लिएको नेपालमा ३५५ बाघ

Read Time : > 2 मिनेट
यम बम, काठमाडाै.
नयाँ पत्रिका
२o७९ श्रावण १४ शनिबार o६:१७:oo

विश्वमै बाघको संख्या तीन हजार दुई सयमा झरेपछि नेपालसहित १३ मुलुकले ०६७ मा संरक्षण र चोरी–सिकार नियन्त्रण गरेर संख्या दोब्बर पुर्‍याउने वाचा गरेका थिए । बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, रुस, लाओस, थाइल्यान्ड र भियतनामसहितले जनाएको यस्तो प्रतिबद्धता पूरा गर्ने नेपाल पहिलो मुलुक बनेको हो । यी १३ मुलुकमा बाघको संख्या ६ हजार पुर्‍याउने लक्ष्य लिइए पनि चार हजार पाँच सय मात्र पुगेको छ । 

१२ वर्षमा बाघको संख्या दोब्बर पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता नेपालले पूरा गरेको छ । सन् २०१० (०६७) मा रुसको सेन्ट पिटर्सबर्गमा गरिएको सम्मेलनमा एक सय २१ बाट दुई सय ५० बाघको संख्या पुर्‍याउने लक्ष्य लिएको नेपालले तीन सय ५५ कायम गरेको छ । पछिल्लोपटक गत १९ मंसिरदेखि २८ फागुनसम्म बाघको गणना भएको थियो । 

पछिल्लो चार वर्षमै नेपालमा एक सय २० बाघ थपिएका छन् । जसअनुसार बाघको संख्या दुई सय ३५ बाट बढेर तीन सय ५५ पुगेको हो । क्यामेरा ट्रयापिङ र कुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिन्छ । नेपालमा पाटेबाघ पाइन्छ । 

नेपालमा पाँचवटा राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा बाघ पाइन्छन् । नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार एक सय ६१ वर्गकिलोमिटर क्षेत्रमध्ये ११ हजार ५७ वर्गकिलोमिटर (६८ प्रतिशत)मा बाघको उपस्थिति रहेको देखिएको छ ।

१२ वर्षमा भने दुई सय ३४ बाघ थपिएका छन् । २०६७ (यद्यपि, बाघ गणना भने ०६६) मा नेपालमा बाघको संख्या एक सय २१ थियो । ०७० मा एक सय ९८ पुगेकामा ०७५ मा दुई सय ३५ कायम भए । ०७९ मा आइपुग्दा संख्या बढेर तीन सय ५५ पुगेको हो ।

विश्व संरक्षणमा खतरामा रहेको बाघ संकटापन्न प्रजातिमा सूचीकृत छ । २ जेठ ०६७ को मन्त्रिपरिषद् बैठकले बाघ संरक्षणका लागि प्रधानमन्त्रीको नेतृत्वमा ‘राष्ट्रिय बाघ संरक्षण समिति’ गठन गरेको थियो ।

विश्वमै बाघको संख्या तीन हजार दुई सयमा झरेपछि नेपालसहित १३ मुलुकले ०६७ मा संरक्षण र चोरी–सिकार नियन्त्रण गरेर संख्या दोब्बर पुर्‍याउने वाचा गरेका थिए । बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, रुस, लाओस, थाइल्यान्ड र भियतनामसहितले जनाएको यस्तो प्रतिबद्धता पूरा गर्ने नेपाल पहिलो मुलुक बनेको हो । यी १३ मुलुकमा बाघको संख्या ६ हजार पुर्‍याउने लक्ष्य लिइए पनि चार हजार पाँच सय मात्र पुगेको छ । 

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सेन्ट पिटर्सबर्ग सम्मेलनको महत्वाकांक्षी लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए । तर, बाघ मानवबस्तीमा बसेर दुःख दिने विषयमा सचेत हुनुपर्ने वेला आएको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ,’ उनले भने । 

वनमन्त्री प्रदीप यादवले बाघ पर्यटकमैत्री पर्यटनको मुख्य आधार रहेको बताए । ‘स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि बाघ जोगाउन आवश्यक छ । बाघको संख्या घट्दा साना प्रजातिका वन्यजन्तुको संख्या पनि घट्छ,’ उनले भने, ‘बाघ ठूलो कि मान्छे ठूलो भन्ने छ । हामीलाई दुवै चाहिन्छ, दुवै जोगाउनुपर्छ । बाघलाई वनमा र मान्छेलाई घरमा राख्ने लक्ष्य छ ।

बाघ हब बन्दै बर्दिया
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि हब बन्न थालेको छ । संख्यात्मक रूपमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा भए पनि बर्दियामा वृद्धिदर उच्च छ । चार वर्षमा चितवनमा ३५ बाघ बढ्दा बर्दियामा भने ३८ वटा थपिएका छन् ।

चार वर्षअघि चितवनमा ९३ बाघ रहेकामा एक सय २८ पुगेका छन् भने बर्दियामा ८७ बाट संख्या बढेर एक सय २५ पुगेको छ । सन् ०७० मा चितवनमा एक सय २० बाघ थिए भने बर्दियामा ५० वटा थिए । गणनाअनुसार पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ बाघ रहेको पाइएको छ । सन् ०७५ मा पर्सामा १८, बाँकेमा २१ र शुक्लाफाँटामा १६ बाघ थिए । ०७० मा पर्सामा सात, बाँकेमा चार र शुक्लाफाँटामा १७ बाघ थिए । 

‘बर्दिया बाघका लागि नयाँ वासस्थानका रूपमा विकास भएको छ, यो उपलब्धि हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले भने, ‘त्यहाँ पहिले कर्णाली तटतिर बाघ थिए । अहिले बबईदेखि बाँकेसम्म वासस्थान बनेको छ ।’

पछिल्ला दिनमा बाघबाट मान्छेमाथि आक्रमणका घटना पनि बर्दियामा बढी हुने गरेका छन् । त्यसका लागि बाघलाई आहारा कम हुन नदिन कार्यक्रम सञ्चालन गरिने र स्थानीय बासिन्दालाई वनमाथिको निर्भर कम गर्न जीविकोपार्जनका कार्यक्रममा सघाइने उनले बताए ।