चार वर्षमै थपिए १२० बाघ

१२१ बाट १२ वर्षमा २५० संख्या पुर्‍याउने लक्ष्य लिएको नेपालमा ३५५ बाघ

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण

विश्वमै बाघको संख्या तीन हजार दुई सयमा झरेपछि नेपालसहित १३ मुलुकले ०६७ मा संरक्षण र चोरी–सिकार नियन्त्रण गरेर संख्या दोब्बर पुर्याउने वाचा गरेका थिए । बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, रुस, लाओस, थाइल्यान्ड र भियतनामसहितले जनाएको यस्तो प्रतिबद्धता पूरा गर्ने नेपाल पहिलो मुलुक बनेको हो । यी १३ मुलुकमा बाघको संख्या ६ हजार पुर्याउने लक्ष्य लिइए पनि चार हजार पाँच सय मात्र पुगेको छ । 

१२ वर्षमा बाघको संख्या दोब्बर पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता नेपालले पूरा गरेको छ । सन् २०१० (०६७) मा रुसको सेन्ट पिटर्सबर्गमा गरिएको सम्मेलनमा एक सय २१ बाट दुई सय ५० बाघको संख्या पुर्याउने लक्ष्य लिएको नेपालले तीन सय ५५ कायम गरेको छ । पछिल्लोपटक गत १९ मंसिरदेखि २८ फागुनसम्म बाघको गणना भएको थियो । 

पछिल्लो चार वर्षमै नेपालमा एक सय २० बाघ थपिएका छन् । जसअनुसार बाघको संख्या दुई सय ३५ बाट बढेर तीन सय ५५ पुगेको हो । क्यामेरा ट्रयापिङ र कुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिन्छ । नेपालमा पाटेबाघ पाइन्छ । 

नेपालमा पाँचवटा राष्ट्रिय निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रमा बाघ पाइन्छन् । नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार एक सय ६१ वर्गकिलोमिटर क्षेत्रमध्ये ११ हजार ५७ वर्गकिलोमिटर (६८ प्रतिशत)मा बाघको उपस्थिति रहेको देखिएको छ ।

१२ वर्षमा भने दुई सय ३४ बाघ थपिएका छन् । २०६७ (यद्यपि, बाघ गणना भने ०६६) मा नेपालमा बाघको संख्या एक सय २१ थियो । ०७० मा एक सय ९८ पुगेकामा ०७५ मा दुई सय ३५ कायम भए । ०७९ मा आइपुग्दा संख्या बढेर तीन सय ५५ पुगेको हो ।

विश्व संरक्षणमा खतरामा रहेको बाघ संकटापन्न प्रजातिमा सूचीकृत छ । २ जेठ ०६७ को मन्त्रिपरिषद् बैठकले बाघ संरक्षणका लागि प्रधानमन्त्रीको नेतृत्वमा ‘राष्ट्रिय बाघ संरक्षण समिति’ गठन गरेको थियो ।

विश्वमै बाघको संख्या तीन हजार दुई सयमा झरेपछि नेपालसहित १३ मुलुकले ०६७ मा संरक्षण र चोरी–सिकार नियन्त्रण गरेर संख्या दोब्बर पुर्याउने वाचा गरेका थिए । बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, मलेसिया, म्यानमार, रुस, लाओस, थाइल्यान्ड र भियतनामसहितले जनाएको यस्तो प्रतिबद्धता पूरा गर्ने नेपाल पहिलो मुलुक बनेको हो । यी १३ मुलुकमा बाघको संख्या ६ हजार पुर्याउने लक्ष्य लिइए पनि चार हजार पाँच सय मात्र पुगेको छ । 

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सेन्ट पिटर्सबर्ग सम्मेलनको महत्वाकांक्षी लक्ष्य पूरा गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए । तर, बाघ मानवबस्तीमा बसेर दुःख दिने विषयमा सचेत हुनुपर्ने वेला आएको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानवबस्तीमा पसेर दुःखद घटना हुने गरेकाले यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ,’ उनले भने । 

वनमन्त्री प्रदीप यादवले बाघ पर्यटकमैत्री पर्यटनको मुख्य आधार रहेको बताए । ‘स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि बाघ जोगाउन आवश्यक छ । बाघको संख्या घट्दा साना प्रजातिका वन्यजन्तुको संख्या पनि घट्छ,’ उनले भने, ‘बाघ ठूलो कि मान्छे ठूलो भन्ने छ । हामीलाई दुवै चाहिन्छ, दुवै जोगाउनुपर्छ । बाघलाई वनमा र मान्छेलाई घरमा राख्ने लक्ष्य छ ।

बाघ हब बन्दै बर्दिया
पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि हब बन्न थालेको छ । संख्यात्मक रूपमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा भए पनि बर्दियामा वृद्धिदर उच्च छ । चार वर्षमा चितवनमा ३५ बाघ बढ्दा बर्दियामा भने ३८ वटा थपिएका छन् ।

चार वर्षअघि चितवनमा ९३ बाघ रहेकामा एक सय २८ पुगेका छन् भने बर्दियामा ८७ बाट संख्या बढेर एक सय २५ पुगेको छ । सन् ०७० मा चितवनमा एक सय २० बाघ थिए भने बर्दियामा ५० वटा थिए । गणनाअनुसार पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ बाघ रहेको पाइएको छ । सन् ०७५ मा पर्सामा १८, बाँकेमा २१ र शुक्लाफाँटामा १६ बाघ थिए । ०७० मा पर्सामा सात, बाँकेमा चार र शुक्लाफाँटामा १७ बाघ थिए । 

‘बर्दिया बाघका लागि नयाँ वासस्थानका रूपमा विकास भएको छ, यो उपलब्धि हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले भने, ‘त्यहाँ पहिले कर्णाली तटतिर बाघ थिए । अहिले बबईदेखि बाँकेसम्म वासस्थान बनेको छ ।’

पछिल्ला दिनमा बाघबाट मान्छेमाथि आक्रमणका घटना पनि बर्दियामा बढी हुने गरेका छन् । त्यसका लागि बाघलाई आहारा कम हुन नदिन कार्यक्रम सञ्चालन गरिने र स्थानीय बासिन्दालाई वनमाथिको निर्भर कम गर्न जीविकोपार्जनका कार्यक्रममा सघाइने उनले बताए । 

See More On

सुझावित समाचार