१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ श्रावण १२ बिहीबार ११:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लाखौँको लगानीमाथि नीलगाई र बँदेलकाे आतंक, चिन्तामा किसान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार ११:३५:oo

महोत्तरीमा नीलगाई र बँदेलआतंक बढेपछि त्यहाँका किसान चिन्तित बनेका छन् । चर्काे लगानी र कडा मिहिनेत गरी लगाएका बालीनाली नीलगाई र बँदेलले खाइदिएपछि कृषक चिन्तित बनेका हुन् । मिहिनेत र  लगानी दुवै डुब्ने खतराले उनीहरूको भोक–निद्रा हराएको छ । सम्सी गाउँपालिका– ५ स्थित माँ वैष्णोदेवी कृषि फर्मको एक सय बोट निस्किएको केरा नीलगाईले खाइदिएपछि फर्म सञ्चालक थप चिन्तामा छन् । तीन बिघा जग्गामा गरिएको केराखेतीमा प्रायः सबै बोट केरा निस्किने तयारीमा छन् ।  धेरैमा फलसमेत निस्किसकेको छ ।  

झन्डै २५ बिघा जग्गामा खेती गरिरहेका फर्मका सञ्चालक रामध्यान मण्डलले करिब १७ बिघा जग्गामा माछापालन गरिरहे पनि अन्य जग्गामा केरा, मेवा, तरकारी, कागतीलगायतका खेती गरिरहेकोमा केरा, मेवा र तरकारी खेतीमा नीलगाई र बँदेलको कारण जोखिम बढेको बताए । 

उनले तत्कालै आफूले त्यत्रो जग्गामा तारबार गर्ने क्षमता नभएकाले नोक्सानी हुन नदिन निीगाई र बँदेल धपाउन रातभर जाग्राम बस्नुपरेको बताए । उनले अन्य विकल्प तत्काल आफूसँग नरहेकोले केरा र मेवा तथा तरकारी खेतीमा लाखौँको पुँजी फसिकेकाले त्यही पुँजीसमेत बचाउन धौधौ परिरहेको दुःखेसो गरे । उनले सरकारसँग क्षतिपूर्तिका साथै नीलगाई र बँदेलको आतंकबाट छुटकाराका लागि समेत गुहार मागेका छन् ।  

सात लाखको पुँजीबाट कृषि फर्म सञ्चालन गरेका मण्डलले अहिले करोडभन्दा बढीको पुँजी विस्तार गरिसकेका छन् ।  उनले विगत दुई वर्षमा खेतमा बगाएको पसिना अहिले नीलगाई र बँदेलको कारण डुब्ने अवस्थामा पुग्न लागेकाले बचेको केरा र मेवा तथा तरकारीको बोटहरूको संरक्षण गरिदिन सरकारी कार्यालयसँग गुहार माग्नुपरेको छ 

दुई वर्षअघि कृषि फर्म सुरु गरेका मण्डल एक वर्ष वैदेशिक रोजगारीमा बिताएर विदेश जाँदाको लगानीसमेत उठाउन नसकी फर्किएका थिए । लकडाउनको समयमा आफ्नै दाजुको मित्रले कृषि फर्म गर्न सुझाएपछि यसै पेसामा होमिएका उनी कृषि पेसा असाध्यै राम्रो रहेको र वैदेशिक रोजगारीभन्दा कैयौँ गुणा बढी फाइदाजनक रहेको बताउँदै जंगली जनावरको आतंकबाट आफ्नो खेत जोगाउन सके योभन्दा राम्रो कामको विकल्प नरहेको बताउँछन् ।