![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/see-result2022-07-28-06-34-15.jpeg)
गत वर्ष भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा देशभरबाट ४२ जनाले मात्रै जिपिए ४.० ल्याएका छन् । कोभिड– १९ महामारीका वेला ०७६ र ०७७ मा विद्यालयले नै आन्तरिक मूल्यांकन गर्दा क्रमशः नौ हजार ३१९ र आठ हजार चार सय ४४ ले ४.० जिपिए ल्याएका थिए । राष्ट्रिय परीक्षा बोर्डले लिएको ०७८ को परीक्षामा मात्रै होइन, कोभिडअघिका वर्ष ०७५ र ०७४ मा पनि जिपिए ४.० ल्याउने परीक्षार्थी कम थिए । ती वर्ष क्रमशः एक सय ६ र ७४ ले मात्रै जिपिए ४.० ल्याएका थिए ।
कोभिड कालका दुई वर्ष विद्यालयले आन्तरिक मूल्यांकन गर्दा विद्यार्थीलाई मनपरी नम्बर दिएको आरोप लागेकोमा अहिलेको नतिजाले पुष्टि गरेको विज्ञहरू बताउँछन् ।
तर, बोर्ड अध्यक्ष महाश्रम शर्मा नतिजा सन्तोषजनक रहेको दाबी गर्छन् । ‘०७८ को नतिजासँग ०७६ र ०७७ को नतिजा तुलना गर्न मिल्दैन, ०७५ र ०७८ लाई हेर्दा सन्तोषजनक छ,’ उनले तर्क गरे । शिक्षासचिव तथा बोर्डका उपाध्यक्ष रामकृष्ण सुवेदी पनि कोभिडको समस्या पूरै नहटेको र सबै परिस्थिति ठीक नभएको अवस्थामा अहिलेको नतिजा राम्रो भएको दाबी गर्छन् ।
०७८ को एसइईमा कुल चार लाख ९५ हजार सात सय ५१ विद्यार्थीले फारम भरेका थिए । तीमध्ये २२ हजार ६ सय ४० अनुपस्थित भएको बोर्डले जनाएको छ । परीक्षा दिएकामध्ये जिपिए ३.६ देखि ४.० ल्याउने नौ हजार ६ सय ३३ छन् । यसमा छात्र पाँच हजार दुई सय ८१ र छात्रा चार हजार तीन सय ५२ छन् ।
शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल अहिलेको नतिजालाई सबै परिस्थितिको परावर्तनका रूपमा लिन्छन् । ‘एसइईलाई गुणस्तरको कडी मान्नु नै समस्याग्रस्त विषय हो । परीक्षामा प्रक्रिया, विधि र साधन ठीक हुनुपर्यो । अहिले कोभिडको असरले सिकाइ उपलब्धि उत्साहजनक छैन । सिकाइ कम भएपछि रिजल्ट पनि कमजोर आउँछ । अहिलेको अवस्थामा एसइईमा अलिकति कमजोर देखिनु स्वाभाविक हो,’ उनले भने, ‘सबै पक्षलाई हेर्दा सिकाइमा समस्या छ । विद्यालयमा गुणस्तरयुक्त सिकाइ प्रणाली हुन सकेको छैन । यो नतिजा सबैको रिफ्लेक्सन हो ।’
राष्ट्रिय परीक्षा बोर्डले ०७८ को एसइईको नतिजा पुरानै ग्रेडिङ प्रणालीका आधारमा गरेको छ । शिक्षा मन्त्रालयले गत पुसमा जारी गरेको लेटर ग्रेडिङ निर्देशिकामा न्यूनतम ३५ अंक ल्याउनेको डी ग्रेड हुने र त्योभन्दा कमको ग्रेडिङ नहुने व्यवस्था गरेको थियो । तर, केही दिनअघि निर्देशिका संशोधन गरी राष्ट्रिय परीक्षा बोर्डले एकरूपता कायम गर्न पुरानै प्रणालीअनुसार लागू गर्न सक्ने व्यवस्था गरिएको थियो । मंगलबार बसेको बोर्ड बैठकले त्यहीअनुसार निर्णय गरेर बुधबार नतिजा सार्वजनिक गरिएको हो ।
एसइईको नतिजा आएका र कक्षा १० मा पढिरहेका विद्यार्थीका लागि पुरानो पाठ्यक्रमअनुसार पठनपाठन हुने भएकाले एकरूपता कायम गर्न निर्देशिका नै संशोधन गरिएको हो । अहिले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थी नै पुरानो पाठ्यक्रमअनुसारको अन्तिम ब्याच हो । नयाँ लेटर ग्रेडिङअनुसार ३५ अंकभन्दा कम ल्याउनेलाई नन–ग्रेडमा राख्ने व्यवस्था छ । ३५ अंकभन्दा कम ल्याउनेलाई मूल प्रमाणपत्र नदिने निर्देशिकामा उल्लेख छ । कक्षा १ देखि १२ सम्म एकरूपता कायम गर्न भन्दै नयाँ लेटर ग्रेडिङ निर्धारण गरेको थियो ।
शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल भन्छन्– यो नतिजा सबै परिस्थितिको परावर्तन हो
एसइईलाई गुणस्तरको कडी मान्नु समस्याग्रस्त विषय हो । परीक्षामा प्रक्रिया, विधि र साधन ठीक हुनुप¥यो । सिकाइ उपलब्धि उत्साहजनक छैन । सिकाइ कम भएपछि रिजल्ट कमजोर आउनु स्वाभाविक हो । गुणस्तरीय सिकाइ हुन सकेको छैन ।
भवन छ, शिक्षक छन्, तर उनीहरू कति समय सिकाइमा बिताउँछन् भन्ने रहस्यमै छ । गुणस्तरका लागि कसले के गर्ने भन्ने महत्वपूर्ण हुन्छ । नेपालमा भवन निर्माणका विषयमा धेरै छलफल हुन्छ, तर सिकाइ सुधारका लागि छलफल कम छ ।
सिकाइ कमजोर हुनुमा शिक्षक उत्पादन गर्ने थलोमै समस्या छ । एसइईको नतिजा यी सबैको रिफ्लेक्सन हो ।
सबैभन्दा कमजोर नतिजा गणितमा, ई ग्रेड आउने झन्डै दुई लाख
कुल चार लाख ९५ हजार ७५१ परीक्षार्थीमध्ये एक लाख ८८ हजार ९४ को गणितमा ई ग्रेड आएको छ । डी ग्रेड ल्याउने ५९ हजार १४७ छन् । डी र ई ग्रेड ल्याउने दुई लाख ४७ हजार २४१ छन् । यी विद्यार्थीलाई कक्षा ११ मा भर्ना पाउन कठिन हुन्छ । २० देखि माथि र ३० भन्दा कम अंक ल्याउनेले डी र २० भन्दा कम ल्याउनेले ई ग्रेड पाउँछन् ।
कम्प्युटर साइन्समा सबैभन्दा धेरै २६ हजारले ल्याए ए प्लस
ऐच्छिक विषय कम्प्युटर साइन्समा सबैभन्दा धेरै २५ हजार ८४० परीक्षार्थीले ए प्लस ल्याएका छन् । अनिवार्य अंग्रेजीमा १५ हजार ३९९ र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा १३ हजार ९८९ विद्यार्थीले ए प्लस ल्याएका छन् । त्यसैगरी ऐच्छिक विषय अफिस म्यानेजमेन्ट र एकाउन्टमा ११ हजार ६३१, ऐच्छिक गणितमा १० हजार ९४४, साइन्समा आठ हजार ६५८ ले ए प्लस ल्याएका छन् । साधारणतर्फका अनिवार्य विषयमध्ये नेपालीमा सबैभन्दा कम एक हजार आठ सय चारजनाले मात्र ए प्लस ल्याएका छन् ।
संस्कृततर्फको नतिजा कमजोर, ए प्लस ल्याउनै मुस्किल
अनिवार्य संस्कृत भाषा र फलित ज्योतिषमा कुनै पनि विद्यार्थीले ए प्लस ल्याउन सकेनन् । संस्कृत भाषामा सातजनाले ए ग्रेड ल्याएका छन् । तर, फलित ज्योतिषमा बी प्लससम्म पनि कसैले ल्याएनन् । संस्कृततर्फका परीक्षार्थीको संख्या नै कम थियो ।
उच्च जिपिए ल्याउने बागमतीमा धेरै, कर्णालीमा कम
उच्च जिपिए ल्याउनेमा संख्यात्मक रूपमा सबैभन्दा धेरै बागमती प्रदेशमा छन् । ३.६ देखि ४.० जिपिएलाई उच्च मानिन्छ । बागमतीमा चार हजार ६०२ र कर्णालीमा ११४ को यो नतिजा आएको छ । प्रदेश १ मा उच्च जिपिए ल्याउने एक हजार १८७, गण्डकीमा १८४, लुम्बिनीमा एक हजार २२०, सुदूरपश्चिममा १९५ गरी नौ हजार ६३३ छन् ।