Skip This
चितवन निकुञ्जमा एक वर्षमा २०५ वन्यजन्तु मरे 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार ११:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चितवन निकुञ्जमा एक वर्षमा २०५ वन्यजन्तु मरे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:३१:oo

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा दुई सय पाँच जनावर मरेका छन् । आर्थिक वर्ष ०७८–७९ मा प्राकृतिक, दुर्घटना, तारजालीमा परेर, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा संकटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावर मरेको निकुञ्जले जनाएको छ ।

प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमण) कारणबाट एक सय चार, सडक दुर्घटनामा परेर ११, तारजालीमा परेर १६, कुकुरको आक्रमणबाट ५९, कारण नखुलेको १२ र अन्य कारणले एक जनावरको मृत्यु भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १ साउन ०७८ देखि ३२ असार ०७९ सम्म मरेका जनावरको यो तथ्यांकमा  चित्तलको संख्या सबैभन्दा बढी छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत वर्ष ८६ वटा चित्तल मरेका छन्। तीमध्ये कुकुरको आक्रमणबाट ५२, प्राकृतिक कारणबाट १५, तारजालीमा परेर १४, सडक दुर्घटनामा चार र एउटा चित्तलको मृत्युको कारण नखुलेको तिवारीले बताए।

यस्तै, ३७ वटा गैँडा मरेका छन्। तीमध्ये ३३ वटा प्राकृतिक, दुईवटा चोरी सिकारी, एउटा खाडलमा परेर तथा एउटा गैँडाको मृत्युको कारण खुलेको छैन। अर्ना, जरायो र बँदेल १०–१० वटा मरेका छन्। १० वटै अर्ना, सातवटा जरायो र आठवटा बँदेल प्राकृतिक कारणबाट मरेका थिए। एक–एकवटा जरायो र बँदेल तारजालीमा परेर, एउटा जरायो सडक दुर्घटना र एउटा जरायो कुकुरको टोकाइबाट मरेको थियो भने एउटा बँदेलको मृत्युको कारण खुलेको छैन।

सोही वर्ष ६ वटा बाघ, पाँचवटा रतुवा, पाँचवटा लगुना, चारवटा घडियाल गोही, तीनवटा भुँडीफोर गरुड, तीनवटा निर बिरालो र तीनवटा मगर गोही मरेका छन्। अधिकांश वन्यजन्तुको मृत्यु प्राकृतिक कारणबाट भएको भए पनि केहीको सडक दुर्घटना तथा केहीको मृत्युको कारण नखुलेको सूचना अधिकारी तिवारीले जानकारी दिए । यस्तै, हात्ती, सर्प, अजिँगर, नीलगाई, चखेवा तथा बाँदर दुई–दुईवटा मरेका छन्। दुईवटा नीलगाईमध्ये एक डिभिजन वन कार्यालय सिन्धुलीबाट ल्याइएको थियो । निकुञ्जमा गत आवमा भालु, चितुवा, गिद्ध, मयुर, दुम्सी, पानीहाँस, गोहोरो, मलाहा बिरालो, गौरीगाई, कछुवा तथा बकुल्ला एक–एकवटा मरेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष नै वन क्षेत्र र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानबाट दुई सय २२ वटा जनावरको उद्धार गरेको छ । सूचना अधिकारी तिवारीका अनुसार गत वर्ष एक सय ५४ वटा अजिँगर १४ वटा चित्तल, नौवटा मगर गोही, आठवटा कछुवा, सातवटा बाघ, तथा एउटा राज गोमन (किङ कोब्रा)सहित सातवटा सर्पको उद्धार गरिएको छ। यस्तै, चारवटा लगुना, तीनवटा गैँडा, तीनवटा निरबिरालो, दुईवटा नीलगाई, दुईवटा चिल र दुईवटा रतुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए ।
 

ad
ad