गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढ्ने बताएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा उनले नागरिकतासम्बन्धी विधेयक ढिलाइ हुँदा साढे ६ लाख नेपाली नागरिकताविहीन भएको हुँदा छिटो सहमति जुटाएर विधेयक अघि बढाउनुपर्ने बताए।
‘नयाँ विधेयकमा संविधानको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक प्रयोग गर्न पाउने गरी नागरिकता दिने प्रावधान थप्ने काम गरियो,’ गृहमन्त्री खाणले भने, ‘गैरआवासीय नेपालीलाई राजनीतिक र प्रशासनिक अधिकार दिइएको छैन। यो विषय पनि सबै राजनीतिक दलको सहमतिले नै राखिएको हो।’
उनले सबै नेपाली नागरिक समान भएको हुँदा सबैले नागरिकता पाउनुपर्ने भएकाले संविधानमा भएको व्यवस्थाअनुसार नै उक्त विधेयक संसदमा ल्याइएको बताए। वैवाहिक अंगीकृत नागरिकताको विषयमा राज्य व्यवस्था समितिमा हुन नसकेको उल्लेख गर्दै उनले नागरिकता नपाउँदा पढ्न, उद्योगधन्दा सञ्चालन गर्न, व्यवसाय दर्ता गरेर सञ्चालन गर्न समस्या भएको हुँदा विधेयक तत्काल ल्याउनुपरेको जिकिर गरे।
उक्त विधेयकका विषयमा बोल्ने सांसदहरूले नागरिकताजस्तो विषयमा राष्ट्रिय सहमति जुटाएर अगाडि बढाउनुपर्ने र बिहे गर्नेबित्तिकै तत्काल नागरिकता दिने व्यवस्थालाई संशोधन गर्नुपर्ने सुझाव दिएका थिए।