मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ श्रावण ९ सोमबार ०९:१२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन प्रर्वद्धनका लागि नेपाल भ्रमण दशक मनाइने

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ श्रावण ९ सोमबार ०९:१२:००

कोभिडले थलिएको पर्यटन पुनरुत्थानका लागि पर्यटन मन्त्रालयद्वारा ७४ बुँदे कार्ययोजना सार्वजनिक, सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक मनाइने योजना

कोभिड महामारीले थलिएको पर्यटन पुनरुत्थानका लागि सरकारले सन् २०२३ देखि २०३३ सम्मको दशकलाई ‘नेपाल भ्रमण दशक’का रूपमा मनाउने भएको छ । आइतबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले ‘नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजन २०७९’ सार्वजनिक गर्दै आगामी दशकलाई पर्यटन प्रवद्र्धनको अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि ७४ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । ‘पर्यटन प्रवद्र्धनका लागि दिन र वर्षका रूपमा भन्दा पनि भ्रमण दशककै रूपमा मनाउने अवधारणा ल्याएका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘आगामी दशकलाई भ्रमण दशकका रूपमा घोषणा गरी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछौँ ।’ सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत थप १० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । यस्तै, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याएर पर्यटक भित्र्याउने पनि बजेटमा उल्लेख छ ।

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै १३ असारमा कोभिडले थलिएको पर्यटन पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तुर्जमा गर्न समिति गठन गरेका थिए । सो समितिले आफ्नो प्रवितेदन बुझाएपछि पर्यटन क्षेत्रसम्बद्ध संघ–संस्था र विज्ञहरूसँग विस्तृत छलफल गरी सुझावहरू समेटेर पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तयार पारिएको हो । मन्त्रालयले पर्यटन प्रवद्र्धनमा अवरोध हुने नीति, ऐन, कानुनहरू समसामयिक संशोधन गर्ने पनि तयारी गरेको छ ।

रात्रिकालीन सम्पदा यात्रा सुरु गरिने
काठमाडौं उपत्यकाका ऐतिहासिक तथा पुरातात्विक  सम्पदा जोड्ने गरी सम्पदामार्ग निर्माण कार्यलाई निरन्तरता दिइने भएको छ । यस्तै, काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्ने अवधारणाअनुरूप काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने पनि गुरुयोजनामा समेटिएको छ । तीनै तहको सरकारको सहभागिता हुने गरी नमुनाका रूपमा उपयुक्त पर्यटकीय क्षेत्रमा हिल स्टेसन विकास गर्न सम्भाव्यता अध्ययन गर्ने पनि घोषणा गरिएको छ ।

डेस्टिनेसन वेडिङ 
सरकारले भारतीय र बंगलादेशी नागरिकमा लोकप्रिय गन्तव्यका रूपमा रहेका चितवन, पोखरालगायत गन्तव्यहरूलाई वेडिङ र अन्य कमर्सियल डेस्टिनेसनका रूपमा विकास गर्ने घोषणा गरेको छ । त्यसका लागि सम्बन्धित हवाई तथा स्थल यातायात सेवाको अन्तरआबद्धता र सञ्जालीकरणको अभिवृद्धि गरिने गुरुयोजनामा उल्लेख छ । अन्तरप्रादेशिक हवाई सेवा विस्तार गर्ने, पदयात्रा र पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन जिपिएस ट्र्याकिङ सिस्टम कार्यान्वयनमा ल्याउने, प्रमुख पर्यटन स्रोत बजारबाट हवाई उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग समन्वय गरिनेछ ।

पाइलट उत्पादन गर्न  स्कुल खोलिने
नेपालको उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने पाइलट, एयरहोस्टेसलगायत जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रियस्तरको फ्लाइङ स्कुल सञ्चालन प्रक्रिया अगाडि बढाउने मन्त्रालयको तयारी छ । आगामी ६ महिनाभित्र फ्लाइङ स्कुल सञ्चालनको प्रक्रिया अगाडि बढाइसक्ने गुरुयोजनाको लक्ष्य छ । अहिले पाइलटलगायत आवश्यक जनशक्ति उत्पादनका लागि विदेशकै स्कुलको भर पर्नुपर्ने बाध्यता छ ।

भैरहवा र पोखरामा उडान गर्नेलाई छुटै–छुट
मन्त्री श्रेष्ठले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा दिइएको शतप्रतिशत छुटलाई निरन्तरता दिने र ग्राउन्ड ह्यान्डलिङ चार्जमा निश्चित प्रतिशतसम्म छुट दिइने घोषणा गरेका छन् । चार्टर्ड फ्लाइटलाई प्रोत्साहन गर्ने ट्रान्जिट कार्गोका लागि आवश्यक कानुनी व्यवस्था गर्न पहल गर्ने पनि गुरुयोजनामा उल्लेख छ । 

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय जगत्मा प्रचार–प्रसार गर्न पर्यटनसम्बद्ध संघ–संस्था, राष्ट्रिय वायुसेवा सञ्चालक र विदेशस्थित कूटनीतिक नियोगहरूसँग मिलेर संयुक्त रूपमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । यस्तै, सबैभन्दा बढी विदेशी यात्रु भित्र्याउने वायुसेवा कम्पनी, ट्राभल एजेन्सी, पर्यटन सम्बद्ध संघ–संस्थालाई मापदण्ड बनाई छुट–राहत तथा सम्मान गर्ने कार्यक्रम छ ।

पहिला देश अनि विदेश
सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनको कामलाई निरन्तरता दिने भएको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न ‘पहिले देश अनि विदेश’ अभियान सञ्चालन गर्ने गुरुयोजनामा उल्लेख छ ।एक महिनाभित्र नेसनल टुरिजम डिजिट म्याप तयार गरी कार्यान्वयन गरिने भएको छ । प्रमुख पर्यटकीय राजमार्ग र पर्यटक आगमन बिन्दुहरूमा आधुनिक शौचालय र विश्राम कक्ष निर्माण गरी सञ्चालन गरिनेछ । सरकारले कार्यविधिका आधारमा पर्यटकीय सवारीसाधन आयातमा भन्सार महसुल छुट दिने व्यवस्था गर्ने भएको छ । 

भारत, बंगलादेश, चीन तथा वान स्टप डेस्टिनेसन लक्षित पर्यटन स्रोत बजारमा प्रभावकारी बजारीकरण गर्ने घोषणा गरिएको छ । पर्यटनसम्बन्धी तथ्यांक प्रणाली सुदृढीकरण गर्ने, विमानस्थलभित्र सञ्चालन हुने बस सेवालाई सुदृढ गर्ने, साहसिक एवं खेल पर्यटन गन्तव्यको पहिचान गरी पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्ने, नेपालमा विदेशी चलचित्र छायांकनका लागि विदेशी चलचित्र निर्माता एवं कलाकारलाई आकर्षित गर्न विभिन्न सहुलियतहरूको व्यवस्था गर्ने गुरुयोजनामा उल्लेख छ ।

‘एक नेपाली, एक विदेशी साथी’ अभियान
गैरआवासीय नेपाल संघ (एनआरएनए)को नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ सञ्चालन गरिने भएको छ । पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम सञ्चालन गर्न मन्त्रालय र एनआरएनएबीच समझदारी गर्ने पनि गुरुयोजनामा उल्लेख छ । यस्तै, हिमाल आरोहणका लागि पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमचुलीहरूको आरोहण खुला गर्ने पनि तयारी थालिने भएको छ ।