मिटरब्याज पीडितहरूले सिराहाको गोलबजारमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । गोलबजारस्थित भूमिजा अस्पताल नजिकबाट आइतबार अपराह्न ‘जफत गरिएको सम्पत्ति फिर्ता गर्’, ‘मिटरब्याजीको सम्पत्ति छानबिन गर्’, ‘मिटरब्याजी पीडितलाई न्याय दे’, ‘गरिबहरूलाई सहुलियत दरमा बैंक ऋणको व्यवस्था गर्’ लगायतको नारा लगाउँदै पीडितहरूले नगरको बजार क्षेत्र परिक्रमा गरी मुख्य चोकमा कोणसभा गरेका थिए । कोणसभामा वक्ताहरूले मधेसमा खराब संस्कृतिको रूपमा मौलाएको मिटरब्याजविरुद्ध कानुनसँगै राजनीतिक लडाइँ लड्नुपर्ने औँल्याए ।
सामाजिक अभियन्ता संघर्ष दाहालले मिटरब्याजबाट समाजका कथित तल्लो जातमा पारिएका र गरिब, निम्न मध्यम वर्गका मानिसहरू बढीपीडित रहेको चर्चा गर्दै सामान्य घरव्यवहारका लागि लिएको थोरै ऋणको तीन दोब्बरको तमसुक बनाउँदा कैयौँको उठिबास भएको बताए । प्रधानमन्त्रीले कारबाही गर्न निर्देशन दिँदासमेत स्थानीय प्रहरी प्रशासनले विद्यमान कानुनबमोजिम कारबाही गर्न नसकिने भन्दै मिटरब्याजीहरुलाई छोडिदिँदा उनीहरू अझ मैमत्त बन्दै गएको दाहालले बताए । ‘कानुनी लडाइँले मात्र हुँदैन, राजनीतिक दलहरूको सहयोगमा सशक्त लडाइँ लड्नुपर्छ,’ उनले भने, ‘मिटरब्याजीहरूलाई कानुनी कठघरामा नल्याएसम्म आन्दोलन जारी रहनेछ ।’
औरही गाउँपालिका–४ का अगुवा मनोजकुमार पासवानले दलित, विपन्न, निमुखाहरूको जीवनमाथि खेलबाड भइरहेको भन्दै मिटरब्याजीविरुद्ध सामाजिक आन्दोलन गर्नुपर्नेमा जोड दिए । गाउँघरमा विपन्न दलित बस्तीमा मिटरब्याजीले आतंक मच्चाइरहेको चर्चा गर्दै पासवानले भने, ‘घरव्यवहार चलाउन लिएको ऋणको तीन दोब्बर कपाली तमसुक बनाउनुका साथै जग्गासमेत आफ्नो नाममा पास गराएर सुद्खोरहरूले त्यही तमसुकको आधारमा लेनदेन मुद्दा चलाई गरिब बिपन्नको उठिबास गराउन थालेपछि गाउँघर आतंकित बनेको छ ।’
गोलबजारका सामाजिक अगुवा कर्मलाल महतोले एक लाख रुपैयाँ लिँदा तीन दोब्बरको हो भन्दै १२ लाख रुपैयाँसम्मको तमसुक बनाएर अप्ठ्यारोमा परेकाहरूमाथि ठूलो अन्याय भइरहेको बताए । राजनीतिक दलहरूले मिटरब्याजी पीडितहरूलाई सघाउन महतोले आग्रह गरे । कोणसभामा गोलबजार र औरहीका मिटरब्याजबाट पीडितहरूको सहभागिता थियो ।
छानबिनपछि प्रमाणीकरण गर्न आग्रह
जिल्ला प्रशासन कार्यालय सिराहाले आर्थिक लेनदेनसम्बन्धी कपाली तमसुकलाई वडा र स्थानीय तहले आवश्यक छानबिन गरेर मात्र प्रमाणीकरण गर्न अपिल गरेको छ । प्रजिअ लालबाबु कवारीेले सार्वजनिक सन्देश जारी गर्दै तीन दोब्बरको कागज बनाएर घरजग्गा पास गर्ने, सोझा जनताको अप्ठ्यारोको फाइदा उठाउँदै घरजग्गा फिर्ता नगर्ने, अदालतबाट कपाली तमसुकबराबर रकमको मुद्दा दायर गरी सम्पत्ति लिलाम गरी उठिबास गराएका घटनाहरू देखिएकाले प्रमाणीकरण गर्दा छानबिन गर्न आग्रह गरेका हुन् ।
मिटरब्याजजस्ता गैरकानुनी तथा सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सबै तह र तप्काका व्यक्ति, संस्थाहरू सचेत रहनुपर्ने जिप्रकाबाट जारी सन्देशमा उल्लेख छ । चर्को ब्याजमा रकम लनदेनले करोडौँ रकमको कर छली तथा कालोधन जम्मा गर्ने प्रवृत्तिसमेत बढेको जिप्रकाको ठहर छ । कैयौँ सोझा जनता बाध्यतावश मिटरब्याजमा फसेर आफ्नो घरखेत सर्वस्व गुमाएको अपिलमा उल्लेख छ ।
जिप्रकाका अनुसार पछिल्लो दिनमा गृह मन्त्रालयबाट मिटरब्याजीहरूविरुद्ध कारबाही अगाडि बढाइएको भए पनि स्पष्ट कानुनको अभावमा कानुनको दायरामा ल्याउन विभिन्न समस्या भएकोे छ । समस्या हुँदाहुँदै प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाइएकाले त्यसमा वडा कार्यालय र पालिकाहरूले पनि लेनदेनसम्बन्धी कागज प्रमाणीकरण गर्दा छानबिन गर्न प्रशासनको आग्रह छ ।